NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

शीर्ष नेताहरूले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम तयारी पुरा भएको छ । मताधिकार प्रयोग गर्नका लागि विशिष्ट व्यक्तिदेखि सर्वसाधारसम्म व्यग्र प्रतिक्षामा छन् ।

संघ र प्रदेशतर्फ प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी ८२५ जना सदस्यका लागि निर्वाचन आयोगले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय निर्धाण गरेको छ । उम्मेदवारहरू यतिबेला  निर्वाचन क्षेत्रमा केन्द्रित रहेका छन् । मतदानका लागि सर्वसाधारण आ–आफ्ना घर फर्किका छन् । प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री, सांसदहरू, दलका शीर्ष नेताहरूले आइतबार आ–आफ्ना मतदान केन्द्रबाट मत खसाल्नेछन् ।

कसले कहाँ मतदान गर्दैछन् ?

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउपालिका– १, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्ने छन् । यसैगरी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनँहुको व्यास–२, सत्यवादी माध्यमिक विद्यालय केन्द्रवाट मतदान गर्नेछन् । उपसभापति धनराज गुरुङले स्याङ्जाको अर्जुनचौंपारीको खाल्टेस्थिति रानीचरी आधारभूत माध्यमिक विद्यालयमा मतदान गर्नेछन् ।

प्रकाशमान सिंहले काठमाडौं–१६, पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्नेछन् । महामन्त्री द्वय गगन थापाले काठमाडौं–३० मैतीदेवी मन्दिर र विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन् । शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नेछन् । गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन् । डा. शशांक कोइरालाले काठमाडौं–३ महाराजगन्ज चोकस्थित भ्याली स्कुल केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर सूर्यविनायक–२, बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्दै छन् । उनी झापा–५ बाट उम्मेदवार छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं टोखा– ६ स्थित स्काईलार्क स्कुल धापासी केन्द्रबाट मतदान गर्नेछन् । उपाध्यक्ष उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवल– ८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्नेछन् । उपाध्यक्ष सुवाचन्द्र नेम्बाङले इलामको सदरमुकामस्थित बालमन्दिर केन्द्रमा मतदान गर्नेछन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौं–८ बाट मतदान गर्नेछन् । उपाध्यक्ष रामबहादुर थापाले चितवन भरतपुर–१० नारायणी नमुना माविमा मतदान गर्नेछन् । महासचिव शंकर पोखरेलले तुलसीपुर– १९ जनता विद्यापीठ केन्द्रबाट मतदान गर्नेछन् । उपमहासचिव प्रदीपकुमार ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका– ४ बम्घा निमावि भवन चौताराबाट मतदान गर्नेछन् ।

यस्तै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर–४ स्थित लक्ष्मी मावि मतदान केन्द्रमा मतदान गर्नेछन् । तर योपटक उनी गोरखा–२ बाट उम्मेदवार रहेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित आदर्श उमाविमा मतदान केन्द्रमा मतदान गरेका छन् । उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिकाको तारा माविमा भोट हाल्नेछन् । यसैगरी सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी–४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रमा भोट हाल्नेछन् । अघिल्लो निर्वाचनमा सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका उनी योपटक टिकट पाएका छैनन् । महासचिव देव गुुरुङले मनाङको नासोङ गाउँपालिका केन्द्रबाट भोट हाल्नेछन् । त्यस्तै उपमहासचिव गिरिराजमणि पोखरेलले महोत्तरीको वर्दिवास नगरपालिका – ३ को गौरीडाँडाबाट मतदान गर्दैछन् । उर्जामन्त्री पम्फा भुसालले ललितपुर–२ राजतीर्थ मतदान केन्द्रबाट मतदान गर्नेछिन् ।
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका– २ स्थित रामजानकी कन्या प्राथमिक विद्यालयमा मतदान गर्दैछन् । नेपाल रौतहट–१ का उम्मेदवार हुन् । योपटक उनी आफैलाई मतदान गर्नेछन् । यसैगरी पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका– ९ को राष्ट्रिय निमावि फिक्कल मतदान केन्द्रबाट आफैलाई मत हाल्नेछन् । पूर्वप्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले पालुङटार नगरपालिकाको अन्नपूर्ण माविबाट मतदान गर्नेछन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित–९ स्थित चार नम्बरबाट मतदान गर्नेछन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका–१ को कार्यालय रहेको केन्द्रबाट मतदान गर्नेछन् । उनी झापा–३ का उम्मेदवार हुन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौँडा उपमहानगरपालिका–५ स्थित बालज्योति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । उनी योपटक मकवानपुर–१ बाट एमालेको सूर्य चिन्ह लिएर निर्वाचनमा उठेका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । एमालेका पूर्वउपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका– ८ को त्रिभुवन माविमा मतदान गर्दैछन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर–१४ स्थित डिग्री क्याम्पसबाट मतदान गर्नेछन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका –१ मा मतदान गर्नेछन् । राजेन्द्र महतोले सर्लाही चन्द्रनगर– २ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै छन् । नेसपा नेता महेन्द्रराय यादवले सर्लाहीको हरिपूर्वा नगरपालिका–९ स्थित रामजानकी मन्दिर मतदान केन्द्रमा मत खसाल्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष