NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

सम्भावित परिणामबाट अत्तालिएकाले गठबन्धन भत्काउन नक्कली समाचार बनाए : प्रचण्ड सचिवालय

काठमाडौं । निर्वाचन आचारसंहिता विपरित फोटोसपमार्फत केही स्थापित अनलाइन न्यूज पोर्टलका ‘मास्टहेड’ दुरुपयोग गरी नक्कली समाचार सामाग्री प्रचारप्रसार भएको भन्दै प्रचण्डका सचिवालयले आपत्ति जनाएको छ ।

‘प्रचण्डबाहेक माओवादीका अन्य उम्मेदवारलाई भोट नहाल्न कांग्रेसको गोप्य सर्कुलर’ नामको फेक समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि  सचिवालयले आपत्ति जनाएको हो । शनिबार सचिवालयले विज्ञप्ति जारी गर्दै गठबन्धन दलहरूबीचको आपसी सम्बन्धनमाथि अविश्वास खडा गरी जनस्तरमा भ्रम सिर्जना गर्न षड्यन्त्र गरिएको उल्लेख छ ।

‘लोकतान्त्रिक मुल्य, मान्यता, विधिको शासन र स्वतन्त्र निर्वाचन प्रणालीमाथि चुनौती दिदै, निर्वाचनको सम्भावित परिणामबाट अत्तालिएका, घोर षड्यन्त्रकारी, अलोकतान्त्रिक र अपराधी गिरोहद्वारा निर्वाचन आचारसंहिता समेत कुल्च्दै नेपालका केहि स्थापित अनलाइन न्युज पोर्टलहरुको नक्कली फोटोसप तयार गरि गठबन्धन सम्बद्ध दलहरूबीच आपसी अविश्वास र जनस्तरमा भ्रम सिर्जना गर्ने उद्देश्यले खडा गरिएको कुप्रचारको घोर निन्दा र भत्सर्ना गर्दै त्यसप्रकारको कुकृत्यलाई खारेज गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

सचिवालयले आफू गठबन्धनको उद्देश्यमा प्रतिबद्ध भएको भन्दै दुस्प्रचारमा संलग्न दोषी माथि तत्काल कार्बाही गर्न निर्वाचन आयोग र सरोकारवालासँग आग्रह गरेको छ । साथै न्यूज पोर्टल दुरुपयोग गरिएका संचार माध्यमलाई फेक समाचारको खण्डन गर्न र अपराधमा संलग्नलाई कठघरामा उभ्याउन समुचित पहलको लागी सचिवालयले अनुरोध गरेको छ ।