NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अनर्गल प्रचार गरिएपछि कांग्रेस र माओवादीका केन्द्रीय कार्यालयका मुख्य सचिवको आपत्ति

काठमाडौं । कांग्रेस र माओवादीबीच फोटा ल्याउने उद्देश्यले केही अनलाइन मिडियामा आएको भन्दै मिथ्या समाचार (तोडमोड गरेर) आएपछि विराेधमा कांग्रेस र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिवहरूले विज्ञप्ति जारी गरेका छन् ।

अनलाइन मिडियामा आउँदै नआएको समाचार पनि यस्ता मिडियामा आएको भन्दै फोटोसप गरेर भ्रमपूर्ण र भ्रामक समाचार आएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरुमा प्रेषित सूचनाप्रति दुबै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो’ दुई दलको संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठवन्धनकाप्रति पूर्ण प्रतिवद्ध छन् र गठवन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा बिश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौं ।’

यस्ता भ्रामक समाचार केही दलका जिम्मेवारी नेताले सेयर गरेकोप्रति पनि उनीहरूले आपत्ति जनाएका छन् ।

‘यो दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत हो । यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रुपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कार्वाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउछौं । साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कार्वाहीका लागि समेत सरकारसँग माग गर्दछौं ।’ उनीहरूले भनेका छन् ।