NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बलिया प्रतिस्पर्धीविरूद्ध हावी देखिएका महिला उम्मेदवार

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । देशभर मतगणना रोचक भइरहँदा केही ठाउँमा बलिया पुरूष उम्मेदवारहरूसँग भिडिरहेका महिला उम्मेदवारहरूले उनीहरूलाई पछि पार्दै आफ्नो अग्रता कायम गरेका छन् ।

नेकपा एमाले महासचिव शंकर पोखरेलसँग दाङ २ मा चुनावी प्रतिस्पर्धामा रहेकी माओवादी उम्मेदवार रेखा शर्माले गणनाको सुरूवाती समयदेखि नै आफ्नो अग्रता कायम गरेकी छिन् । पछिल्लो मतगणना अनुसार २ हजार ७८० मत गणना हुँदा एमालेका महासचिव पोखरेल शर्मा भन्दा ६०४ मतले पछाडि परेका छन् । सत्ता गठबन्धन दलको समर्थन पाएकी रेखाले १ हजार ४५० ल्याउँदा पोखरेलले ८४६ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २८१ मत ल्याएका छन् ।

त्यस्तै, कमल थापाको पकड क्षेत्र मानिएको मकवानपुरमा कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय(डिना) ले आफ्नो बलियो उपस्थिती जनाएकी छिन्। सूर्य चिन्ह लिएर चुनावी मैदानमा होमिएका थापाको तुलनामा डिना झण्डै दोब्बर मतले अग्रपंक्तिमा छिन् । पछिल्लो मतपरिणामअनुसार डिनाले एक हजार एक सय ९१ मत प्राप्त गर्दा सूर्य चिन्ह लिएर चुनाव उठेका कमल थापाले ६ सय ६८ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नंबर २ मा सधैं एमालेको बलियो पकड रहँदै आएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमको उम्मेदवारीले यसपटक यो क्षेत्रको मतगणना पनि रोचक बन्न पुगेको छ । गणनाको सुरूदेखि अग्रता कायम गरेकी गौतम एमाले उम्मेदवार मणिराम फुयाँल भन्दा निकै अगाडि छिन् । पछिल्लो मतपरिणामअनुसार फुयाँलले दुई सय ४५ मत ल्याउँदा गौतमले ३ सय ८० मत प्राप्त गरेकी छिन् । माअ‍ोवादीकी उम्मेदवार ओनसरी घर्ती मगर एक सय ९५ मतसहित तेस्रो स्थानमा छिन् ।

त्यस्तै, ललितपुर क्षेत्र नंबर ३ मा पनि रास्वपाकी उम्मेदवार डा.तोसिमा कार्की अग्रस्थानमा छिन् । पछिल्लो मतगणना अनुसार उनी २१८५ मतले शिर्षस्थानमा छिन् । उनका प्रतिस्पर्धी एमालेका अमृत खड्का १८८५ मतसहित दोस्रो स्थानमा छन् भने माओवादीकी पम्फा भुसाल ११९९ मतसहित तेस्रो स्थानमा छिन् ।

यसपटकको चुनावमा दलहरूले अधिकांश ठाउँमा महिला उम्मेदवारलाई प्रत्यक्षपतर्फ टिक दिएका छैनन् । दुई हजार चार सय १२ पुरूषको उम्मेदवारी रहँदा दुई सय २५ जनामात्रै महिला यसपटक चुनावी मैदानमा छन् । यसअघिका निर्वाचनको तुलनामा महिला उपस्थिति बढाउँदै लानुपर्नेमा दलहरूले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा महिलालाई कम अवसर दिएका हुन् ।