NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रवि, राप्रपा र सिकेको जबर्जस्त उदयपछि यस्तो बन्न सक्नेछ अबको सम्भावित सत्ता समीकरण

काठमाडौं । परम्परागत राजनीतिक दलहरूले जनमत संग्रहको रूपमा लिएकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को प्रारम्भिक मतगणना जारी रहेको छ । आइतबार भएको निर्वाचनमा देशभर जम्ममा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानाएको छ ।

यो आयोगले अनुमान गरेको भन्दा ११ प्रतिशत कम मत हो । निर्वाचन अघि आयोगले ७१ प्रतिशतबढी मत खस्ने प्रक्षेपण गरेको थियो । कम मत खसे पनि यो निर्वाचनको मतगणनाको प्रारम्भिक संकेतले परम्परागत दलको बलियो विरासत र शक्तिको परिभाषालाई बदल्दै नयाँ सन्देश दिन खोजेको हो ।

प्रतिनिधिसभा अन्तर्गत १६५ निर्वाचन क्षेत्रको सोमबार साँझसम्मको प्रारम्भिक तथ्याङक नतिजा जस्तोसुकै पनि आउने देखिएको छ । ती मध्ये कांग्रेसले २६ अग्रता र एमालेले १८ अग्रता लिएको छ ।

मुस्ताङमा विजयी खाता खोलेको कांग्रेस सुरुमा अग्रतामा एमालेभन्दा पछाडि परे पनि अहिले एमालेलाई उछिनिसकेको छ । राप्रपा, माओवादी र एकीकृत समाजवादीले तीनतीन सिटमा अग्रता बनाएका छन् । तर अविश्वसनीय नतिजा ल्याउने पर्खाइमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ स्थानमा अग्रता बनाइरहेको छ ।

अघिल्लो निर्वाचनमा तेस्रो शक्ति रहेको सत्ता सहयात्री दल माओवादी केन्द्र र एकीकृत समाजवादी अग्रतामा पछाडि परेका छन् ।
प्रारम्भिक नतिजा अनुसार योपटक परम्परागत दललाई रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कडा टक्कर दिने देखिन्छ ।

रास्वपाले ८ स्थानमा अग्रता कायम राखी तेस्रो स्थानमा रहेको छ । लामोसमय मधेशमा पक्कड जमाएको उपेन्द्र नेतृत्वको जसपा र महन्थ नेतृत्वको लोसपाले सम्मानित अग्रता लिन सकेका छैनन् । यद्यपी अझै १ सय हाराहारी सिटको मतगणनाले धेरै फरक पार्न सक्छ । तर प्रारम्भिक रुझानको संकेत परम्परागत दल अनुकूल छैन ।

समग्र परिणाम सार्वजनिक हुँदासम्म अहिले देखिएको प्रारम्भिक नतिजा कायमै रहेमा योपटक सत्ता समीकरण र परम्परागत शक्ति मानिएका एमाले–कांग्रेसको सिन्डिकेट तोडिने संकेत देखिएको छ । निर्वाचनपछिको सत्ता समीकरणलाई मध्यनजर गर्दै वाम– लोकतान्त्रिक गठबन्धन र एमाले–राप्रपाबीच चुनावी प्रतिस्पर्धामा भिडेका थिए ।

तर प्रारम्भिक नतिजाले सत्ता समीकरणलाई चुनौती दिँदै निर्णायक शक्तिमा राप्रपा र रवि लामिछाने नेतृत्वको नयाँ दल आउने देखिन्छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस र एमाले बराबर शक्तिमा रहेको थियो । एमाले–माओवादीले गठबन्धन ९७ सिटमा विजयी हुँदा कांग्रेस २३ सिटमा खुम्चिएको थियो ।

योपटक बहुमत ल्याउने दाबीसहित एकअर्का विरुद्ध चुनावी मैदानमा होमिएका यी दललाई नयाँ शक्तिले निकै दबाबमा राखेको छ । योपटक रवि नेतृत्वको पार्टी रास्वपा र राप्रपाले समानुपातिक भोट निकै बढाउन सक्ने प्रारम्भिक नतिजाले देखाएको छ । तर पा्ररम्भिक नतिजालाई हेरेर अहिल्यै विश्लेषण र अनुमान गर्नु निकै हतार हुन सक्छ । यदि प्रारम्भिक अवस्था अनुसार नै मत आए आगामी दिनमा राजनीतिक समीकरण र ध्रुवीकरणसमेत निक्कै फरक हुन सक्नेछ ।

सम्भावित सत्ता समीकरण

निर्वाचनपछि एमालेले ओली नेतृत्वमा सरकार बनाउने दाबी गर्दै आएको छ । त्यही अनुसार राप्रपा र जसपासँग केही स्थानमा चुनावी तालमेल गरी निर्वाचनमा होमिएको थियो । १५० सिट जित्ने दाबी गरेका ओलीले मंसिर १५ मा एमाले नेतृत्वमा राप्रपा र जसपाको संयुक्त सरकार बनाउने घोषणा गरिसकेका छन् । प्रत्यक्षतर्फ एमालेले ९०–१०० सिट जित्ने र समानुपातिकतर्फ ५० जित्ने निर्वाचनअघि ओलीको अनुमानित अंकगणित थियो । ओलीको भविष्यवाणीमा धक्का लाग्न सक्ने प्रारम्भिक नतिजाले देखाएको छ ।

त्यस्तै ओलीविरुद्ध वाम–लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएको सत्ता गठबन्धनको प्रारम्भिक नतिजा हेर्दा बहुमत ल्याउने आधार देखिँदैन । सत्तासीन दलहरूबीच जित्ने आ–आफ्नो दाबी रहेपछि समग्रमा गठबन्धनले नै सरकार बनाउन आवश्यक बहुमत ल्याउने अनुमान गरेका थिए । निर्वाचनअघि त कांग्रेसले प्रत्यक्षतर्फ ६५–७० र समानुपातिकतर्फ ४० सिट ल्याउने अनुमान गरेको थियो । माओवादीले दुवैतर्फ गरी ५५–६० सिट, एकीकृत समाजवादीले २५–३० सिट ल्याउने अनुमान गरेको थियो ।

तर प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्यासित अग्रताले समानुपातिकमा योपटक उल्लेख्य नतिजा ल्याउने अनुमान गरिएको छ । रविको पार्टीले १५–२० सिट ल्याएको खण्डमा सत्ता समीकरणको स्ट्राइकर बन्न सक्छ । राप्रपाको पनि मत राम्रो देखिएकाले उसले १५–२० को हाराहारीमा सिट ल्याउने अनुमान छ । मधेश प्रदेशमा सिके राउत नेतृत्वको दल जनमत पार्टी योपटक निर्णायक शक्ति बन्ने देखिन्छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा राउतको पार्टीले १ प्रतिशत मत कटाएको थियो । यो निर्वाचनमा राउतको पार्टीले ३ प्रतिशत मत कटाउन सक्ने अनुमान छ ।

त्यस्तै हाम्रो नेपाली पार्टी, सुशासन पार्टीलगायत नयाँ दलहरूले पनि योपटक उल्लेख्य मत पाउने अनुमान छ । यी सबै तथ्यका आधारमा एमाले–कांग्रेस–माओवादीको अनुमान गरिएको मत नआउने देखिन्छ । यस्तो परिस्थितिमा निर्वाचनपछि सत्ता गठबन्धन र एमाले गठबन्धनले आ–आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत गर्न सक्छन् । निर्वाचनको अन्तिम नतिजा आउँदासम्म दुवै गठबन्धनले सरकार बनाउन आवश्यक बहुमत नआए दुवैतर्फको समीकरण भत्किन सक्छ । यो समीकरण भत्किन माओवादी, एकीकृत समाजवादी, जसपा र राप्रपाले कति सिट ल्याउँछन् त्यसमा भर पर्छ ।

एमाले–राप्रपा–जसपा–जनमत पार्टीको संयुक्त सरकार

२७५ सदस्य प्रतिनिधिसभामा सरकार बनाउन संसदमा १३८ मतको बहुमत आवश्यक पर्छ । त्यसका लागि एमाले नेतृत्वको सरकार बनाउन समग्रमा एमालेले कति सिट ल्याउँछ त्यसमा भर पर्छ । यदि एमालेले प्रत्यक्ष र समानुपातिक गरी ९०–११० सिट जितेको अवस्थामा बाँकी ४८–२८ सिट राप्रपा र जसपाले जित्नै पर्ने हुन्छ । अन्तिम नतिजा सार्वजनिकपछि पनि एमालेलाई यी दलले साथ दिए बहुमतको संयुक्त सरकार बन्न सक्छ ।

देउवा नेतृत्वमा गठबन्धन सरकार

सत्ता गठबन्धनले आवश्यक बहुमत ल्याए देउवा नेतृत्वमा नै सयुक्त सरकार बन्ने सम्भावन देखिन्छ । यसका लागि कांग्रेसले कति सिट जित्छ भन्नेमा महत्वपूर्ण हुनेछ । यदि कांग्रेसले १००–११० सिट जितेमा माओवादी र एकीकृत समाजवादीले पनि सम्मानजनक सिट जित्दा वर्तमान गठबन्धन कायमै रहने सम्भावना देखिन्छ । तर कांग्रेसले प्रत्यक्षमा ७० सिट जितेर समानुपातिकमा ३० सिट ल्याउनुपर्ने छ । अनि माओवादी र नेकपा एसले पनि सम्माजनक मत ल्याउनुपर्ने हुन्छ । तर माओवादी र एकीकृत समाजवादीले अनुमान गरेजस्तो सम्मानजनक सिट नआए गठबन्धन भत्किन सक्ने सम्भावना पनि उत्तिकै छ ।

एमाले–एकीकृत समाजवादीको संयुक्त सरकार

राजनीतिमा सबै कुरा जायज हुने कुराको पुष्टि नेपाली राजनीतिमा बारम्बार प्रयोग हुँदै आएको छ । पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल ओलीप्रति नरम देखिनुले गठबन्धनप्रति अविश्वास र सम्भावित सत्ता समीकरणलाई ध्यान दिएको हुने सक्ने अनुमान गरिएको छ । निर्वाचनपछि एमाले–नेकपा एसको संयुक्त सरकार बन्न सक्नेतर्फ दुर्वतर्फका नेताले अस्वीकार गरेका छैनन् । ओली सच्चिएको खण्डमा एमालेसँग सत्ता समीकरण मात्र नभई एकतासमेत हुनसक्ने वरिष्ठ नेता झलनाथ खनालले अभिव्यक्ति दिएका छन् । स्थानीय तह निर्वाचनपछि उनले सत्ता गठबन्धनभन्दा एमालेसँगको सहकार्यमा जोड दिँदै आएका छन् । विदेश विभागका सचिव डा. शंकर खतिवडाका अनुसार खनाल पछिल्लोसमय एमालेसहितको बलियो कम्युनिस्ट निर्माणमा सक्रिय रहेका छन् ।

माओवादी–एकीकृत समाजवादी–मधेशवादी गठबन्धन सरकार

एमाले र कांग्रेस दुवै नेतृत्वमा सरकार बन्ने अवस्था नआए विकल्पमा प्रचण्डको नेतृत्वमा सरकार बन्न सक्ने अवस्था आउन सक्छ । निर्वाचनपछि उनी आफैंले पनि प्रधानमन्त्रीमा आकांक्षा देखाएका छन् । तर पहिलो चरणमा प्रचण्ड नेतृत्वमा सरकार बन्ने सम्भावना निकै कम देखिन्छ । अन्तिम नतिजा सार्वजनिक हुँदासम्म प्रचण्ड नेतृत्वमा सरकार बन्छ वा बन्दैन भन्नेमा संसदमा माओवादीको उपस्थिति कस्तो हुन्छ भन्नेमा भर पर्छ । स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका प्रचण्डले निर्वाचनपछि माओवादीले ५५–६५ पाउने अनुमान गरेका थिए । यस्तो अवस्थामा कांग्रेस र एमालेको विकल्पमा आफूलाई दुवैपक्षले प्रधानमन्त्रीमा स्वीकार्ने उनको अनुमान रहेको छ ।

कांग्रेस—मधेशवादी गठबन्धन

निर्वाचनपछि माओवादी र एकीकृत समाजवादीले कांग्रेसको नेतृत्व अस्वीकार गर्ने अवस्था आए देउवाले मधेसवादी दलसहितको संयुक्त सरकार बनाउने सम्भावना पनि देखिन्छ । माधेशवादी दललाई साथ लिँदा बहुमतको सरकार बन्ने अवस्था आएमा विकल्पमा लोकतान्त्रिक गठबन्धनको सरकार बन्न सक्छ ।

यद्यपि मतपरिणामले सम्भावित यी सबै समीकरण भत्किएर कांग्रेस–एमाले ६५–६५ सिटमा सीमित हुने अवस्था आए संसदमा रविसहितका नयाँ दलहरू निर्णायक शक्ति बन्नेछन् । सोमबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अब आफूलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने बताइसकेका छन् । प्रारम्भिक नतिजाबाट हौसिएका उनले संसदमा निर्णायक शक्ति बन्ने दाबी गरेका छन् । यदि रविले दाबी गरेजस्तै चुनावी परिणाम आएको खण्डमा परम्परागत राजनीतिक शक्तिलाई ठूला धक्का लाग्ने देखिन्छ ।