NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

माओवादीको ओरालो यात्रा : तेस्रो दल बन्न रविको पार्टीसँग संघर्ष गर्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कांग्रेससँगको गठबन्धन सत्तारुढ दल माओवादी केन्द्रलाई योपटक भारी पर्ने देखिएको छ । पाँचदलीय गठबन्धनको भागबण्डामा ४४ सिट पाएको माओवादीले अहिलेसम्म जम्मा १२ स्थानमा मात्र अग्रता लिइरहेको छ । एउटा पनि खाता खोल्न सकेको छैन । मतगणनाको दोस्रो दिनको पछिल्लो परिणाम अनुसार कांग्रेस ४ स्थानमा विजयी भएको छ । ५० स्थानमा अग्रता कायमै राखेको छ ।

कतै उत्साह कतै निराश माओवादी

४६ जना उम्मेदवारमध्ये पूर्णबहादुर घर्तीमगर रूकुम पूर्व, महेन्द्र राय यादव सर्लाही–२, देवेन्द्र पौडेल बाग्लुङ–२, लेखनाथ दाहाल–२ सिन्धुलीमा अग्रता कायम राखेका छन् । यस्तै रामकुमार राई खोटाङ–१, सुदन किँराती भोजपुर, गिरिराजमणि पोखरेल महोत्तरी–१, अमनलाल मोदी मोरङ–४, वर्षमान पुन रोल्पामा अग्रता लिएका छन् । यसैगरी रेखा शर्मा दाङ–२, प्रचण्ड गोरखा–२, शक्तिबहादुर बस्नेत जाजरकोटमा अग्रता लिएका छन् ।

एमाले २ स्थानमा विजयी भएको छ । ३९ स्थानमा अग्रता लिइरहेको छ । झिनो मतसहित तेस्रो स्थानमा रहेको माओवादी केन्द्रलाई रवि नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले कडा टक्कर दिइरहेको छ । प्रतिनिधिसभा सदस्यमा मात्र उम्मेदवार उठाएको रविको पार्टीले एक स्थानमा विजयी भएको छ । १२ स्थानमा अग्रता लिइरहेको छ । समानुपातिकतर्फको मतपरिणाम हेर्दा माओवादी केन्द्र २६ हजार ६३३ मतसहित चौंथो स्थानमा रहेको छ । तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २९ हजार ६३५ मत पाएको छ । पहिलो स्थानमा रहेको एमालेले ७१ हजार ७९५ मत पाएको छ । कांग्रेस ६२ हजार २४३ मतसहित दोस्रो स्थानमा छ ।

संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकामा ५ सिटमध्ये सबै सिट घुमाउने प्रायः निश्चित देखिन्छ । काठमाडौं–२ बाट ओनसरी घर्तीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शोभिता गौतमले उछेनिकी छिन् । काठमाडौं–७ मा मानुषी यमी तेस्रो स्थानमा रहेकी छिन् । काठमाडौं–९ र १० मा निकै कमजोर मत पाएका छन् । ललितपुर–३ मा उर्जामन्त्रीसमेत रहेका पम्फा भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीसँग पराजित भएकी छिन् ।

यस्तै महासचिवसमेत रहेका देव गुरुङलाई गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले पछि पारेका छन् । जुम्लामा गोमा गौतमलाई राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले भारी मतले पछि पारेका छन् । यस्तै प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा कांग्रेसका विद्रोही उम्मेदवारभन्दा पछि परेका छन् । नुवाकोट–१ मा पनि एमालेका उम्मेदवार बद्री मैनालीले पछि पारेका छन् । कञ्चनपुर–४ प्रचण्डका बुहारी बीना मगरले पनि अग्रता लिन सकेकी छैनन् । रुपन्देही–१ मा एमालेका विद्रोही उम्मेदवार घनश्याम भुसाल एमालेका उम्मेदवार छविलाल विश्वकर्माभन्दा पछि परेका छन् ।

तेस्रो स्थानका लागि रविको पार्टीसँग प्रतिस्पर्धा

यसरी प्रारम्भिक मतपरिणामको अनुपात अन्तिमसम्म कायमै रहेमा योपटक माओवादी केन्द्र चौथौं स्थानमा पुग्ने देखिन्छ । यद्यपि माओवादी प्रभावित क्षेत्रको मत गन्न बाँकी नै रहेकाले अहिले नै माओवादीको अवस्थाबारे विश्लेषण गर्न हातार हुन्छ । संसदीय निर्वाचनमा भाग लिएको १५ वर्षमा माओवादीले जितेको सिट संख्या र पार्टीले प्राप्त गरेको मतको आधारमा लोकप्रियता निरन्तर खस्किँदै गएको सत्य हो ।
१० वर्ष सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएको साढे दुई दशकमा माओवादीले लोकप्रियता प्राप्त हासिल गर्न असफल भएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी सहभागिता माओवादीकै एजेण्डामा अहिले देशको व्यवस्था घुमिरहेको छ । तर आफूलाई व्यवस्था परिवर्तनको बाहक शक्ति मानिएको माओवादीलाई जनादेशले रूचाएको देखिएन । यो माओवादी नेतृत्वको लागि खतराको घण्टी हो ।

यस्तो १५ वर्षमा माओवादीको अवस्था

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले १३.०३ प्रतिशत अर्थात् १५ लाख ३ हजार २४७ मत पाएको थियो । यो मत माओवादीका वडाध्यक्षका उम्मेदवारले पाएका जम्मा संख्या हो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा २९.२८ प्रतिशत मत ल्याइ पहिलो दल बनेको थियो । तर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा १५.२१ प्रतिशतमा खुम्चियो । २०७४ मा एमालेसँग चुनावी तालमेल गरी निर्वाचमा होमिएको माओवादीले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ३७ सिट जित्यो । समानुपातिकतर्फ १५.६३ प्रतिशत मत प्राप्त गरेको थियो । नेकपा विघटनसँगै पुरानै लयमा फर्किएको उसले स्थानीय तह निर्वाचनमा २ प्रतिशत मत घटेको देखिन्छ । योपटक नयाँ र स्वतन्त्र पार्टीलेसमेत राम्रो मत पाएकाले कांग्रेस, एमाले र माओवादी केन्द्रको मत खुम्चिने निश्चित छ । अघिल्लो निर्वाचनमा एमालेले ४०.३४ प्रतिशत मत पाएर पहिलो दल बन्न सफल भएको थियो । ३२.४२ प्रतिशत मतसहित दोस्रो स्थानमा थियो । स्थानीय तह निर्वाचनमा कांग्रेसले ३४.२८ प्रतिशत मत प्राप्त गरी पहिलो दल भयो । एमाले ३३.०३ प्रतिशत मतसहित दोस्रो भयो ।

प्रचण्डका लागि खतराको घन्टी

अघिल्लो निर्वाचनको भन्दा मतपरिणाम खस्किएपछि प्रचण्ड झस्किएका थिए । यो निर्वाचनबाट दोस्रो हुने दाउमा रहेका प्रचण्ड तेस्रो स्थान सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । आगामी राजनीतिमा प्रचण्डको लागि खतराको घण्टी बजेको मान्न सकिन्छ । देशभर निर्वाचनको अन्तिम परिणाम आएपछि उत्त पार्टीले समीक्षा गर्ला । तर वामपन्थीलाई छाडेर कांग्रेससँगको सहकार्य प्रचण्डका लागि निकै पीडादायी हुने देखिन्छ । अहिलेसम्मको मतपरिणाम हेर्दा माओवादीका मतदाताले कांग्रेसका उम्मेदवारलाई भोट हालेपनि कांग्रेसका मतदाताले एमालेलाई मत नदिएको प्रष्ट देखिन्छ । निर्वाचन अघि माओवादीलाई दोस्रो दल बन्न कांग्रेसले सहयोग नगरे गठबन्धन भत्किने चेतावनी दिएका प्रचण्डले निर्वाचनपछि के गर्छन् भन्नेमा सबैले चासो साथ हेरेका छन् ।

‘कम्तीमा पनि वामपन्थी दल पहिलो हुने पुरै सम्भावना छ’ निर्वाचनअघि प्रचण्डले काठमाडौंमा भनेका थिए, ‘कांग्रेसका नेतासँग कुरा गर्दा मैंले भनेको छु, सायद पहिलो अहिले तपाईंहरू नै हुनुहुन्छ । त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चीज सहज भएर जान्छ, नभए सहज हुँदैन ।’

आगामी निर्वाचनमा माओवादी दोस्रो दल हुन नसके राष्ट्रिय राजनीतिको कोर्स अन्तै मोडिन सक्ने उनको भनाइबाट प्रष्टै बुझ्न सकिन्छ । त्यही रणनीति अनुसार सत्तागठबन्धनमै रहेका वामपन्थी समूहसँग उपसमूह बनाउने कसरत प्रचण्डले गरेका थिए । त्यसमा पनि उनी सफल भएनन् । स्थानीय तहको परिणामबाट हौसिएका प्रचण्डका लागि प्रतिनिधिभामा निकै ठूलो झड्का लाग्ने देखिन्छ ।

तर माओवादीविना सत्ता गठबन्धन र एमाले गठबन्धनतिर पनि सरकार बन्ने अवस्था नआउँदा भने २५ सिट हाराहारी जित्दा मात्रै पनि माओवादीले आफूलाई निर्णायक शक्ति बनाएर खेल्न सक्ने देखिएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष