NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एमालेका पूर्वमाओवादी : तीन जना पराजित, टोपबहादुर ‘ग्रीन जोन’मा

काठमाडौं । एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका पूर्वमाओवादीका ९ जनामध्ये तीन जना पराजित भएका छन् । अहिलेसम्म अर्घाखाँचीमा टोपबहादुर रायमाझीले बाहेक अन्य उम्मेदवार सत्ता गठबन्धनका उम्मेदवारभन्दा पछि परेका छन् । एमालेबाट पूर्वमाओवादीका ११ जनाले टिकट पाएकोमा प्रभु साह र कुन्दन कुशवहले निर्वाचनको मुखमा विद्रोह गरेका थिए ।

गौरीशंकर चौधरी, ५ हजार ३७१ मतान्तरले पराजित

कैलाली–३ बाट एमाले उम्मेदवार रहेका गौरीशंधर चौधरी योपटक दोस्रो स्थानपनि उक्लिन सकेनन् । यहाँ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले पहिलो खाता खोलेका छन् । गंगाले २३ हजार १२० मतसहित गठबन्धनबाट उम्मेदवार रहेका कृष्णकुमार चौधरीलाई पराजित गरे । माओवादीका उम्मेदवार कृष्णले १७ हजार ७४९ मत पाए । गंगाको मतान्तर ५ हजार ३७१ रहेको छ ।
अघिल्लो निर्वाचनमा माओवादीबाट उनी निर्वाचित भएका थिए । २४ हजार ८७९ मत ल्याइ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए ।

झपटबहादुर बोहरा, ४ हजार ४८९ मतान्तरले पराजित

त्यस्तै जिल्लाले सर्वसम्मत सिफारिस गरेपनि अन्तिममा टिकट नपाएका भीम रावलको क्षेत्र अछाम–१ मा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुदर कुँवरले खाता खोलेका छन् । उनले ४ हजार ४८९ को मतान्तरले एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई हराएका हुन् । श्रममन्त्रीसमेत रहेका कुँवरले १९ हजार ५३४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी बोहराले १५ हजार ४५ मत प्राप्त गरे ।
२०७४ को निर्वाचनमा डा. भीम रावल २४ हजार ८९३ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ६८९ मत पाएका थिए ।

जालिममियाँ मन्सुरी, ५ हजार ५३० मतान्तरले पराजित

पर्सा–४ बाट उम्मेदवार रहेका जालिममियाँ मन्सुरी कांग्रेसका उम्मदेवार रमेश रिजालसँग पराजित भएका छन् । रिजाल ३१ हजार १४२ मतले विजयी हुँदा मन्सुरीले २५ हजार ६१२ मत पाए । रिजालको मतान्तर ५ हजार ५३० रहेको छ ।
माओवादीबाट विद्रोह गरी गाउँपालिका अध्यक्ष त्यागेका मन्सुरीलाई एमालेले पर्सा–४ मा उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका रिजालले योपटक हारको बदला लिएका छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट लोसपाका नेता लक्ष्मणलाल कर्ण विजयी भएका थिए । कर्णले २० हजार ७३८ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिजालले १४ हजार ७०२ मत पाएका थिए ।

लेखराज भट्ट, तीन सय ७३ मतले पछि

यसैगरी कैलाली–४ बाट एमालेका उम्मेदवार रहेका सचिव लेखराज भट्ट गठबन्धनका उम्मेदवार वीरबहादुर बलायर भन्दा ३७३ मतले पछि परेका छन् । बलायर १२ हजार ९४८ मतसहित अग्रता लिइरहेका छन् । भट्ट १२ हजार ५७३ मतले पछ्याइरहेका छन् ।
अघिल्लोपटक गठबन्धनतर्फ माओवादीका उम्मेदवार रहेका भट्ट ३१ हजार ३५९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत पाएका थिए । २०६४, २०७० र २०७४ मा लगातार निर्वाचन जितेका भट्टले गठबन्धनका उम्मेदवारसँग कडा प्रतिस्पर्धा भइरहेको छ ।

टोपबहादुर रायमाझी, एक हजार ८९१ मतको अग्रता

अर्घाखाँचीका एमालेका उम्मेदवार टोपबहादुर रायमाझी २० हजार २०२ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई गठबन्धनका उम्मेदवार भुष्पा भुसालले १८ हजार ३११ मतसहित पछ्याइरहेका छन् । रायमाझी २०६४ देखि सोही निर्वाचन क्षेत्रबाट लगातार जित्दै आएका थिए ।

केन्द्रीय सचिवसमेत रहेका रायमाझी अघिल्लो निर्वाचनमा माओवादीबाट ५० हजार ८३७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर बिसीले ३२ हजार ५४४ मत प्राप्त गरेका थिए । उनी २०६४, २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ज्वालाकुमारी साह, चार सय ६० मतले पछि

बारा–३ का एमाले उम्मेदवार रहेकी ज्वालाकुमारी साह ५ हजार ८२२ मतसहित जसपाका उम्मेदवारलाई पछ्याइरहेकी छिन् । निर्वाचनको मुखमा जसपासँग सहकार्य गरेको भएपनि यो क्षेत्र एमालेले जसपालाई छोडेन । साहविरुद्ध मित्रवत प्रतिस्पर्धामा उत्रिएका रामबाबु कुमार यादव ६ हजार २८२ मतसहित अग्रता लिइरहेका छन् । सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार रहेका लालबाबु सिंह भुइँहार ३ हजार ४९५ मत पाएका छन् ।

नेकपा विघटनसँगै एमाले प्रवेश गरेकी साह पहिलोपटक प्रतिनिधिसभा सदस्य उममेदवार बनेकी हुन् । माओवादीमा रहँदा उनी प्रभु साह निकट नेता हुन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा संघीय समाजवादीका उम्मेदवार रामकुमार यादव २१ हजार ३३६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अदयानन्द पाण्डेयले १६ हजार ३६२ मत पाएका थिए ।

पूर्णबहादुर बुढामगर, १० हजार ५०० मतले पछि

एमाले रोल्पाका उम्मेदवार रहेका पूर्णबहादुर बुढामगर गठबन्धनका उम्मेदवारभन्दा निकै फराकिलो मतान्तरले पछि परेका छन् । यहाँ सत्ता गठबन्धनबाट उम्मेदवार रहेका वर्षमान पुन १८ हजार २०६ मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी मगरले ७ हजार ७०६ मत पाएका छन् । पुनको मतान्तर १० हजार ५०० रहेको छ ।

माओवादी युद्धका फौजी कमाण्डर रहेका बुढामगर आफ्नै पूर्वनेता तथा युद्धकालका डेपुटी कमाण्डरसँग चुनावी प्रतिस्पर्धा निकै भारी भएको छ । अघिल्लो निर्वाचनमा पुन ४२ हजार ८४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी अमरसिंह पुनले २० हजार ३३७ मत पाएका थिए ।

कैलाशकुमार मल्ल, ५ हजार ५६९ मतले पछि

यसैगरी पूर्वी रुकुममा एमालेका उम्मेदवार रहेका कैलाशकुमार मल्ल माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तीमगरभन्दा ५ हजार ५६९ मतले पछि परेका छन् । घर्तीमगरले ८ हजार ४१७ सहित अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी मल्लले २ हजार ८४८ मत पाएका छन् ।
अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट माओवादीका उम्मेदवार रहेका कमला रोक्का निर्वाचित भएकी थिइन् । योपटक लुम्बिनीका सभामुखसमेत रहेका पूर्णबहादुर घर्तीमगर लाई माओवादीले उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा रोक्का १० हजार ४३४ मत ल्याइ विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिशंकर घर्तीमगरले ४ हजार ४०६ मत पाएका थिए ।

मनोजजंग थापा, ३ हजार ४७९ मतले पछि

सिन्धुली–२ बाट उम्मेदवार बनेका एमालेका मनोजजंग थापा १४ हजार ५९८ मतसहित पछि परेका छन् । माओवादीका उम्मेदवार लेखनाथ दाहाल १८ हजार ७७ मतसहित अग्रस्थानमा रहेका छन् । माओवादीका उपमहासचिव हरिबोल गजुरेलको क्षेत्र हो । विगत तीनवटा निर्वाचान गजुरेलले जितेका थिए ।

अघिल्लो निर्वाचनमा माओवादीका उम्मेदवार गजुरेलले ३० हजार १७९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत पाएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष