NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

हिम्मतिली तोसिमा : पहिले माफिया ठेगान लगाइन्, अहिले दल

काठमाडौं । ललितपुर क्षेत्र नंबर ३ मा बलिया प्रतिस्पर्धी अमृत खड्का(एमाले) र पम्फा भुसाल (माओवादी) लाई पछि पर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्की ३१ हजार एक सय ६ मतका साथ विजयी भएकी छन् ।

केही महिनाअघि मात्रै गठन भएको दलबाट उम्मेदवार बनेकी उनले पुराना र स्थापित राजनीतिक दललाई स्तब्ध पार्दै पहिलो प्रयासमा नै संसदको यात्रा तय गरेकी छन् ।
यसअघि डा. तोसिमा पटक–पटक निर्वाचन आयोगको तारो बनेकी थिइन्, जुन उनको जितका लागि सहयोगी बन्न पुग्यो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । आयोगको निर्णयविरूद्ध सवोच्च अदालत पुगेकी उनलाई अदालतले चुनाव लड्ने ढोका खोलिदियो । अदालतको सोही निर्णयविरूद्ध आयोगले पुनः रिट दायर गरेको थियो ।

तर पनि तोसिमाको उम्मेदवारी खारेज गर्ने अनुमति आयोगले नपाएपछि उनको चर्चा झनै बढ्दै गयो । त्यसपछि घण्टी बजाउँदै उम्मेदवारको घरदैलोमा पुगेकी तोसिमालाई ‘घण्टी नबजाऊ, ध्वनि प्रदूषण भयो’ भनियो । जसले उनको प्रचारमा झनै इँट्टा थपिदियो ।

डा. तोसिमाले गोविन्द केसीले गर्दै आएका आन्दोलनमा अगुवाइ गर्दै आइरहेकी छन् । यही कारण उनी मेडिकल कलेज सञ्चालकको तारो बन्ने गरेकी छन् । मेडिकल सञ्चालक दुर्गा प्रसाईंले केही समयअघि तोसिमाबारे निकै आक्रोसपूर्ण अभिव्यक्ति दिएका थिए । उनै तोसिमाले राजनीतिक मैदान प्रवेशको पहिलो प्रयासमै पुराना राजनीतिक दलका उम्मेदवारलाई हायलकायल पारेकी छन्

आयोगका क्रियाकलापले आफ्नो प्रचारमा झनै मद्दत मिलेको कार्की स्वयंले बताउने गरेकी छन् ।

उनको मूल नारा ‘स्वस्थ्य नेपाली, सुखी नेपाली’ छ । उनको दलले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति, संवैधानिक परिषद् खारेजलगायत मुद्दा महत्त्वका साथ उठाउँदै आएको छ ।

यी र हरेक नेपालीको स्वास्थ्य सँग जोडिएका नीतिगत विषयलाई कार्कींले संसदमा कसरी लैजान्छिन्, त्यो भने अब प्रतीक्षाको विषय बनेको छ ।

त्यसो त, उक्त क्षेत्रमा जलवायु विज्ञ अरनिको पाँडेले स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका थिए । विज्ञ र सल्लाहकार भएर विभिन्न मुलुकमा बसेर काम गरिसकेका पाँडे राजनीतिमा आउने चर्चाले धेरैलाई सकारात्मक ऊर्जा थपेको थियो । पछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन मात्रै गरेनन्, डा.कार्कीलाई सहयोग गर्ने घोषणा गरे ।

पेसाले कार्की शल्य चिकित्सिक हुन् । राजनीतिमा आउनुअघि उनी पाटन अस्पतालमा जनरल सर्जनका रूपमा कार्यरत थिइन् । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएपछि त्यहाँबाट राजीनामा दिएर उनी मैदानमा उत्रिएकी थिइन् । मानिसको शल्यक्रिया गरेर इलाज गर्दै आएकी डा. कार्कीको काँधमा अब राजनीतिभित्रको विकृति चिरफार गर्ने अभिभारा आइलागेको छ ।

ललितपुरको आदिनाथ गाउँमा जन्मिएकी कार्की उमेरले ३२ वर्ष पुगिन् । सानैदेखि नेतृत्वदायी क्षमताकी कार्कीले डा.गोविन्द केसीका हरेकजसो संघर्ष र अभियानलाई साथ दिँदै आएकी छन् । केसीका आन्दोलनदेखि अनसनका हरेक कार्यमा उनैको नेतृत्व रहने गरेको छ ।

उनले स्वास्थ्यकर्मीमाथि हुने हमला न्यूनीकरणका लागि विगत सात वर्षदेखि मेडिकल भातृत्व बचाऊ अभियान पनि चलाउँदै आएकी छन् ।

जाडोमा न्यायो अभियानमार्फत लुगा वितरण कार्यमा पनि उनी सक्रिय रहँदै आएकी थिइन् । भूकम्पको समयमा भएका स्वास्थ्य शिविरहरूमा पनि उनी उत्तिकै सक्रिय रहिन् ।

ताजा अपडेट

नेपालवाच विशेष