NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

रविले विजय र्‍याली नगर्ने, दुईवटा बाकस राखेर मतदाताका गुनासा टिप्ने

काठमाडौं । प्रतिनिधिसभा सांसदमा भारी मतसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् ।

आफ्नो जितलाई उनले परीक्षा दिनका लागि सक्षम हुने तयारीको रूपमा अथ्र्याएका छन् । त्यो जाँच दिनका लागि आजबाटै मैदानमा उत्रिने र परिक्षाको नतिजा पाँच वर्षपछि आउने उनको भनाई छ ।

विजयी भएपछि समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । विजय र्याली गर्नुको साटो आज ३ बजे भरतपुर १० स्थित गेस्ट हाउस चौरमा उनले धन्यवाद सभा राखेका छन् ।

त्यस्तै, भोलि ११ बजे इच्छाकामना गाउँपालिकाको कार्यालय अगाडि रहेको फुटबल ग्राउण्डमा र ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा पनि धन्यवाद सभा गर्दै छन् ।

उक्त धन्यवाद सभामा जाँदा रविले कसैलाई पनि फूल माला, अबिर र खादा नल्याउन आग्रह गरेका छन् । त्यसको साटो सभामा जानेले आफ्ना समस्या लेखेर त्यहाँ राखिएको बाकसमा खसाल्न पाउनेछन् ।

‘म आजबाटै काम थाल्दैछु । मेरो सभा हुने ठाउँहरूमा दुईवटा बाकस हुनेछन्,’ उनले लेखेका छन्, ‘एउटा बाकसमा सास्या पेटिका लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला ।’

त्यस्तै, अर्को बाकसमा ‘उजुरी, समस्या, सुझाव पेटिका’ लेखिएको हुने र त्यसमा भ्रस्टाचारीका सूचना, उनले गर्नुपर्ने काम र खबरदारी लेखेर खसाल्न उनको आग्रह छ ।

शुभेच्छुकले ल्याएका खादा, माला र अबिरमा खर्च हुने पैसा विदेशिने हुँदा केही ल्याउनै मन भएमा आफ्नै आँगन वा बाटोको एक थुङ्गो फूल भए पुग्ने उनले बताएका छन् ।

त्यस्तै, आफू भोट माग्न र र्याली गर्न आउन नभ्याएका ठाउँमा काम गर्न आउने उनको प्रतिबद्धता छ ।

लामिछानेले ३४ हजार १६२को अझ फराकिलो मतान्तरले आफ्ना प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई उक्त मतान्तरले पछि पारेका हुन् । रविले कुल ४९ हजार २३१ मत प्राप्त गरेका छन्।