NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एमालेका पूर्वमाओवादी : रायमाझी र साहको सानदार जित, को–को भए पराजित ?

काठमाडौं । एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका पूर्वमाओवादीका ९ जनामध्ये टोपबहादुर रायमाझी र ज्वालाकुमारी साहमात्र विजयी भएका छन् । अन्य ७ जना उम्मेदवार पराजित भए । रायमाझी अर्घाखाँची–१ बाट विजयी भएका हुन् । साह बारा–३ बाट विजयी भइन् ।

पराजित हुनेमा कैलाली–४ बाट लेखराज भट्ट, कैलाली–३ बाट गौरीशंकर चौधरी, अछाम–१ बाट झपटबहादुर बोहरा पराजित भएका हुन् । त्यस्तै, पर्सा– ४ बाट जालिममियाँ मन्सुरी, रोल्पा–१ बाट पूर्णबहादुर बुढामगर, रुकुम पूर्वबाट कैलाशकुमार मल्ल र सिन्धुली–२ बाट मनोजजंग थापा पराजित भएका हुन् ।

एमालेबाट पूर्वमाओवादीका ११ जनाले टिकट पाएकोमा प्रभु साह र कुन्दन कुशवहले निर्वाचनको मुखमा विद्रोह गरेका थिए । प्रतिनिधिसभातर्फ पूर्वमाओवादीबाट एमालेमा विरासत जोगाउने रायमाझी एक्ला उम्मेदवार हुन् ।

अर्घाखाँची–१, टोपबहादुर रायमाझी (१७३० मतान्तरले विजयी)

रायमाझी ४२ हजार ६७५ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले गठबन्धनबाट कांग्रेसका उम्मेदवार रहेकी पुष्पा भुसाललाई १७३० को मतान्तरले पराजित गरे । निवर्तमान उपसभामुखसमेत रहेकी भुसाल ४० हजार ९४५ मत ल्याएर पराजित भइन् । यसअघि रायमाझीले २०६४, २०७०, २०७४ को निर्वाचन माओवादीबाट जितेका थिए । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरेपछि उनले ओलीलाई साथ दिएका थिए । एमाले रोजेपछि रायमाझीको सांसद पद गुमेको थियो ।
एमाले केन्द्रीय सचिवसमेत रहेका रायमाझी अघिल्लो निर्वाचनमा ५० हजार ८३७ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर बिसीले ३२ हजार ५४४ मत प्राप्त गरेका थिए ।

कैलाली–४, लेखराज भट्ट (३६१४ मतान्तरले पराजित)

अघिल्लो निर्वाचनमा कैलाली–४ बाट निर्वाचित भएका एमालेका सचिव लेखराज भट्ट पराजित भएका छन् । उनी गठबन्धनबाट कांग्रेसका उममेदवार वीरबहादुर बलायरसँग ३ हजार ३ हजार ६१४ को मतान्तरले पराजित भएका हुन् । बलायरले २६ हजार १७१ मत ल्याइ विजयी हुँदा भट्टले २२ हजार ५८७ मत पाए ।

अघिल्लोपटक वाम गठबन्धनबाट माओवादीका उम्मेदवार रहेका भट्ट ३१ हजार ३५९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत पाएका थिए । २०६४, २०७० र २०७४ को निर्वाचन जितेका भट्टले प्रवेशले ठूलो धक्का लागेको छ ।

कैलाली–३, गौरीशंकर चौधरी (५३७१ मतान्तरले पराजित)

कैलाली–३ बाट एमाले उम्मेदवार रहेका गौरीशंधर चौधरी योपटक दोस्रो स्थानपनि उक्लिन सकेनन् । यहाँ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले पहिलो खाता खोलेका छन् । गंगाले २३ हजार १२० मतसहित गठबन्धनबाट उम्मेदवार रहेका कृष्णकुमार चौधरीलाई पराजित गरे । माओवादीका उम्मेदवार कृष्णले १७ हजार ७४९ मत पाए । गंगाको मतान्तर ५ हजार ३७१ रहेको छ ।
अघिल्लो निर्वाचनमा माओवादीबाट उनी निर्वाचित भएका थिए । २४ हजार ८७९ मत ल्याइ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस रामजनम चौधरीले २० हजार ४९४ मत पाएका थिए ।

अछाम–१, झपटबहादुर बोहरा (४४८९ मतान्तरले पराजित)

त्यस्तै जिल्लाले सर्वसम्मत सिफारिस गरेपनि अन्तिममा टिकट नपाएका भीम रावलको क्षेत्र अछाम–१ मा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुदर कुँवरले खाता खोलेका छन् । उनले ४ हजार ४८९ को मतान्तरले एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई हराएका हुन् । श्रममन्त्रीसमेत रहेका कुँवरले १९ हजार ५३४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी बोहराले १५ हजार ४५ मत प्राप्त गरे ।
२०७४ को निर्वाचनमा डा. भीम रावल २४ हजार ८९३ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ६८९ मत पाएका थिए ।

पर्सा–४, जालिममियाँ मन्सुरी (५ हजार ५३० मतान्तरले पराजित

पर्सा–४ बाट उम्मेदवार रहेका जालिममियाँ मन्सुरी कांग्रेसका उम्मदेवार रमेश रिजालसँग पराजित भएका छन् । रिजाल ३१ हजार १४२ मतले विजयी हुँदा मन्सुरीले २५ हजार ६१२ मत पाए । रिजालको मतान्तर ५ हजार ५३० रहेको छ ।
माओवादीबाट विद्रोह गरी गाउँपालिका अध्यक्ष त्यागेका मन्सुरीलाई एमालेले पर्सा–४ मा उम्मेदवार बनाएको थियो । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका रिजालले योपटक हारको बदला लिएका छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट लोसपाका नेता लक्ष्मणलाल कर्ण विजयी भएका थिए । कर्णले २० हजार ७३८ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिजालले १४ हजार ७०२ मत पाएका थिए ।

बार–३, ज्वालाकुमारी (२९७२ मतान्तरले विजयी)

बारा–३ का एमाले उम्मेदवार रहेकी ज्वालाकुमारी साह २० हजार २५१ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार रामबाबु कुमार यादवले १७ हजार २७९ मत पाए । निर्वाचनको मुखमा जसपासँग सहकार्य गरेको भएपनि यो क्षेत्र एमालेले आफैले राखेको थियो । सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंह भुइहरले ११ हजार ९६४ मत ल्याएर तेस्रो स्थानमा रहे ।
नेकपा विघटनसँगै एमाले प्रवेश गरेकी साह पहिलोपटक प्रतिनिधिसभा सदस्य उममेदवार बनेकी हुन् । माओवादीमा रहँदा उनी प्रभु साह निकट नेता हुन् ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रमा संघीय समाजवादीका उम्मेदवार रामकुमार यादव २१ हजार ३३६ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अदयानन्द पाण्डेयले १६ हजार ३६२ मत पाएका थिए ।

रोल्पा–१, पूर्णबहादुर बुढामगर (२५२२९ मतान्तरले पराजित)

पूर्णबहादुर बुढामगर गठबन्धनबाट माओवादीका उम्मेदवार रहेका वर्षमान पुनसँग फराकिलो मतान्तरसहित पराजित भएका छन् । पुन ४१ हजार ७१४ मतसहित विजय भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार घर्तीमगरले १६ हजार ४८५ मत पाएका छन् । पुनको मतान्तर २५ हजार २२९ रहेको छ ।

माओवादी युद्धका फौजी कमाण्डर रहेका बुढामगर आफ्नै पूर्वनेता तथा युद्धकालका डेपुटी कमाण्डरसँग चुनावी प्रतिस्पर्धा निकै भारी भएको छ । अघिल्लो निर्वाचनमा पुन ४२ हजार ८४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी अमरसिंह पुनले २० हजार ३३७ मत पाएका थिए ।

पूर्वी रुकुम, कैलाशकुमार मल्ल (७०५१ मतान्तरले पराजित)

यसैगरी पूर्वी रुकुममा एमालेका उम्मेदवार रहेका कैलाशकुमार मल्ल माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्तीमगरसँग ७ हजार ५१ मतान्तरले पराजित भएका छन् । घर्तीमगरले १२ हजार २६२ मत ल्यायी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी मल्लले ५ हजार २११ मत पाए ।

अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट माओवादीका उम्मेदवार रहेका कमला रोक्का निर्वाचित भएकी थिइन् । योपटक लुम्बिनीका सभामुखसमेत रहेका पूर्णबहादुर घर्तीमगर लाई माओवादीले उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा रोक्का १० हजार ४३४ मत ल्याइ विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिशंकर घर्तीमगरले ४ हजार ४०६ मत पाएका थिए ।

सिन्धुली–२, मनोजजंग थापा (५८३० मतान्तरले पराजित)

सिन्धुली–२ बाट उम्मेदवार बनेका एमालेका मनोजजंग थापा २१ हजार ६८७ मतसहित पराजित भएका छन् । यहाँ माओवादीका उम्मेदवार लेखनाथ दाहाल २७ हजार ५१७ ल्याइ विजयी भए । माओवादीका उपमहासचिव हरिबोल गजुरेलकोसमेत क्षेत्र हो । विगतमा तीनवटा निर्वाचान गजुरेलले जितेका थिए ।

अघिल्लो निर्वाचनमा गजुरेलले ३० हजार १७९ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत पाएका थिए ।