NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ओली र प्रचण्डले मत दिएका उम्मेदवार नै पराजित

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री द्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मत दिएका उम्मेदवार नै पराजित भएका छन् । निर्वाचनको पूर्वासन्ध्यामा प्रचण्ड चितवन–३ छाडेर गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उठेका थिए । गोरखा–२ बाट उनले २६ हजार १०९ मत ल्याइ प्रतिनिधिसभा सदस्यमा विजयी भए ।

मतदानको दिन चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर प्रचण्डले आफ्ना उम्मेदवारलाई मतदान गरेका थिए । तर उनले मत दिएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. भोजराज अधिकारी पराजित भए । अधिकारीलाई हराउँदै राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भए । पाण्डेले ३५ हजार ६० मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अधिकारीले २५ हजार ८२४ मत पाएका थिए ।

प्रचण्डले सो क्षेत्र छाडेपछि गठबन्धनले अधिकारीलाई उम्मेदवार बनाएका थिए । एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । अघिल्लो निर्वाचनमा पाण्डे प्रचण्डसँग पराजित भएका थिए ।

यसैगरी प्रदेशसा– १ मा प्रचण्डले मत दिएका कांग्रेसका उम्मेदवार सूर्यकान्त घिमिरे पराजित भएका छन् । घिमिरेलाई हराउँदै यहाँ राप्रपाका उम्मेदवार गिरबहादुर तामाङ विजयी भएका छन् । तामाङ १७ हजार ८१९ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १४ हजार ९५९ मत पाए । प्रदेश–२ मा माओवादीका ठाकुरप्रसाद ढकाल विजयी भएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मत दिएका उम्मेदवार महेश बस्नेतसमेत पराजित भएका छन् । मंसिर ४ गते ओलीले भक्तपुर–२ सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट बस्नेतलाई मत दिएका थिए । ओलीका विश्वासिला नेतासमेत रहेका बस्नेतको लज्जास्पद हारले एमाले वृत्तमा तरङ्ग ल्याएको छ । बस्नेतलाई २४ हजार २३९ मतले बस्नेतलाई हराउँदै कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भए । उनका प्रतिस्पर्धी बस्नेतले २३ हजार २८२ मत पाए । बस्नेतलाई थापाले ९८७ मतान्तरले पराजित गरेका हुन् ।

अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट बस्नेत विजयी भएका थिए । ओली सरकारको पालामा उनले आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार विकासमा राम्रो काम गरेका थिए । भौतिक विकासका साथै सामाजिक क्षेत्रमा बस्नेतले गरेको कामले उनी पराजय हुनेमा कांग्रेसलेसमेत कल्पना गरेका थिएन । दुर्लभको दुलर्भ जितसँगै ओलीको मत खेर गएको छ ।

प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार पराजित भएपनि प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार किरण थापामगर वियजी भएका छन् । थापामगर १५ हजार २४२ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्णुराज कार्की ११ हजार ९३५ मत पाए । ओलीले निर्वाचन क्षेत्र २ (१) उम्मेदवार थापामगरलाई मत दिएका थिए । प्रदेशसभा–२ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।

अघिल्लो चुनावमा जस्तै योपटक पनि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी चार ठाउँमा मत दिन पाउने व्यवस्था मिलाएको थियो ।