NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

चार स्थानमा मतगणना जारी, दोलखा र स्याङ्जामा पुन : मतदान हुने

काठमाडौं । प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १५८ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार ५३ सिटसहित कांग्रेस पहिलो स्थानमा रहेको छ ।  कांग्रेस अहिले तीन स्थानमा अग्रता लिइरहेको छ ।

दोस्रोमा रहेको एमाले ४२ स्थानमा विजयी भएको छ । एक स्थानमा अग्रता लिइरहेको छ । माओवादी केन्द्र १७ सिट जित्दै तेस्रो स्थानमा छ । चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ । राप्र्रपा ७ सिटसहित पाचौं स्थानमा छ ।

त्यस्तै जसपा थप एक सिटसहित ७ स्थानमा विजयी भएको छ । यसैगरी लोसपा ४, नागरिक उन्मिुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १÷१ स्थानमा विजयी भएको छ । अन्यले ६ सिट जितेको छ ।

चारमध्ये ३ मा कांग्रेस १ मा एमालेको अग्रता

सुनसरी–१

निर्वाचन आयोगका अनुसार सुनसरी–४ मा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतदानमा धाँधली भएको आरोप लगाएपछि मतगणना हुन सकेको छैन । शनिबार मतगणना स्थगित भएको कार्कीको क्षेत्रमा सर्वदलीय सहमतिपछि आइतबार पुनः गणना सुरु भएको थियो । यो क्षेत्रमा कार्की र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कार्की २३ हजार ४३९ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतले पछ्याइरहेका छन् ।

उदयपुर–१

उदयपुरमा–१ मा परराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार नारायण खड्का २५ हजार ९१७ मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिस्पर्धी एमालेका मञ्जु चौधरीले २४ हजार १०९ मतका साथ पछ्याइरहेकी छिन् ।
सुनसरी–३ मा एमालेकी उम्मेदवार भगवती चौधरी १९ हजार ९८७ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पूर्वमन्त्री तथा कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले १५ हजार २२३ मतसहित पछ्याइरहेका छन् ।

धनुषा–४

मधेश प्रदेशको धनुषा–४ मा एमालेका सचिवसमेत रहेका रघुवीर महासेठ र कांग्रेसका उम्मेदवार महेन्द्र यादवबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । मतगणनाको पछिल्ला विवरण अनुसार यादवले छ सय ८६ मतले अग्रता लिएका छन् । उनले २७ हजार दुई सय छ मत प्राप्त गरेका छन् भने महासेठले २६ हजार ५२० मत प्राप्त गरेको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए ।

स्थगित भएको तीन स्थानमा पुनः मतगणना हुने

आयोगले एक सय ५८ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक गरिसक्दा दोलखा, स्याङ्जा र बाजुराको मतगणना अझै हुन सकेको छैन । आयोगले दोलखाका १० वटा केन्द्रको मतदान रद्द गरेको छ । त्यहाँ पुनः मतगणना गराउने आयोगको तयारी छ । स्थलगत अध्ययन प्रतिवेदनको सिफारिसका आधारमा आइतबार आयोगको पूर्ण बैठकले दुईवटा गाउँपालिकाका १० केन्द्रको मतदान रद्द गरेको हो । रद्द भएका केन्द्रमा मंसिर १४ मा मतदान हुने आयोगले जनाएको छ ।

त्यस्तै मतदानको दिन बुथ कब्जा गर्न लागेको आरोपमा प्रहरीले चलाएको गोली लागि एक जना कांग्रेसको कार्यकर्ताको मृत्युभएपछि यो क्षेत्रको मतदान स्थगित भएको छ । मंसिर ५ मा कांग्रेसका कार्यकर्ताले एमालेका कार्यकर्ताको हत्या गरेपछि बाजुरा अशान्त भएको थियो । यहाँ पुनः मतदान गर्ने कि नगर्ने विषयमा आयोगको टोलीले स्थलगत निरिक्षण गरी आइतबार काठमाडौं फर्किको छ । कांग्रेसले हार्ने देखिएपछि राज्यशक्तिको दुरुपयोग गरेको एमालेको आरोप छ । यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । एमालेबाट पूर्वमन्त्री कर्णबहादुर थापा उठेका छन् ।

त्यस्तै स्याङ्जा–२ मा बुथ कब्जा गरेर मरेको मानिसको नाममासमेत मतदान भएकोभन्दै एमालेले विरोध जनाएपछि मतगणना हुन सकेको छैन । यहाँ एमालेबाट पूर्वमन्त्री पद्मा अर्याल उठेकी छिन् । गठबन्धनबाट कांग्रेसका उपसभापति धनराज गुरुङ उठेका छन् । यहाँ पुनः निर्वाचन गराउने कि नगराउने भन्नेमा आयोगका पदाधिकारीबीच नै विवाद भएको छ ।