NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जितका लागि दुई मन्त्रीको रोचक भिडन्त, गच्छदारविरुद्ध भगवतीले बनाइन फराकिलो अन्तर

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म १५९ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । सुनसरी–३, ४ र उदयपुर–१ को मतगणा जारी छ । दोलखा, स्याङ्जा र बाजुरामा पुनः मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो चुनावी परिणाम अनुसार ५३ स्थानमा विजयी हुँदै कांग्रेस पहिलो दल भएको छ । दुई स्थानमा अग्रता कायमै राखेको छ । एमाले ४३ स्थानमा विजयी भएको छ । एक स्थानमा अग्रता कायमै छ ।

यसैगरी माओवादी केन्द्र १७, नेकपा एस १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राप्रपा ७, जसपा ७, लोसपा ४, नागरिक उन्मिुक्ति पार्टी ३ स्थानमा विजयी भएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा एक, नेमकिपा एक र अन्य ६ स्थानमा विजयी भएको छ ।

तीनमध्ये दुईमा कांग्रेस र एकमा एमाले अगाडि

आयोगका अनुसार सुनसरी–४ मा सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले धाँधली भएको आरोप लगाएपछि तीन दिनदेखि मतगणना रोकिएको छ । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । सोही विषयलाई लिएर मन्त्री कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । उनको माग अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएर छलफल गरेपनि अहिलेसम्म मतगणना अघि बढ्न सकेको छैन ।

यहाँ कांग्रेसका उम्मेदवार कार्कीले २३ हजार ४३९ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मतसहित पछ्याएका छन् ।

यसैगरी सुनसरी–३ मा एमालेकी चर्चित उम्मेदवार भागवती चौधरी ३४ हजार ७५१मतसहित अग्रता कायमै राखेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार विजय गच्छदारले २९ हजार ५४३ मतसहित पछ्याएका छन् । यसअघि गच्छदारसँग झिनो मतले पराजित भएकी उनी योपटक हारको बदला लिनेगरी मैदानमा उत्रिएकी छिन् । पछिल्लो परिणाम अनुसार गच्छदारसँग उनले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । आयोगको पछिल्लो अपडेट अनुसार चौधरीको मतान्तर ५ हजार २०८ रहेको छ ।

त्यस्तै उदयपुर–१ परराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार डा. नारायण खड्काले अग्रता कायमै राखेका छन् । खड्का २५ हजार ९१७ मतले अगाडि छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार २४ हजार १०९ मतले पछ्याइरहेकी छिन् ।