NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु 

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।

मङ्गलबार एक औपचारिक कार्यक्रमकाबीच गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले सेवाको उद्घाटन गरेका हुन् । जिल्ला अस्पतालबाट अब मिर्गौैला रोगीहरूले निःशुल्क रुपमा सो सेवा प्राप्त गर्नेछन् । जिल्ला अस्पतालमा सो सेवा प्रदान गर्न चार वटा उपकरण जडान गरिएको छ ।

एक दिनमा अस्पतालमा १२ जनासम्मलाई यो सेवा प्रदान गर्न सकिने उनले बताए । हाल तीनवटा मात्रै उपकरण सञ्चालन गरिएको सूचना अधिकारी सुवेदीले बताए । अहिले प्रारम्भिक चरणमा रहेकाले दैनिक तीन जना सम्मलाई सेवा प्रदान गरिने उनले बताए । ‘अहिले एक सिफ्ट मात्रै चलाएका छौँ, यसैले तीन जनालाई डायलासिस सेवा प्रदान गर्न सक्छौँ, आवश्यकता अनुसार सिफ्ट बढाउँदै जाँदा थप सेवा प्रदान गर्न सकिन्छ’, सूचना अधिकारी सुवेदीले भने ।

एउटा उपकरणलाई भने जगेडामा राखेर तीन वटाबाट सेवा दिइने उनले बताए । यसअघि उपकरण आए पनि लामो समयसम्म सेवा सुरु हुनसकेको थिएन । बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गराउन भन्दै अस्पतालमा उपकरण जडान र परीक्षणको काम सकेर पनि सेवा सुरु हुनसकेको थिएन ।

अहिले बीमा बोर्डबाट अनुगमन नभए पनि अस्पतालको सामाजिक सेवा युनिटबाट लाग्ने खर्च बेहोर्ने गरी सेवा सुरु गरिएको हो । ‘सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गर्न हाल सामाजिक सेवा युनिटबाट खर्च बेहोर्ने गरी काम सुरु गरेका छौंँ’, अस्पतालका सूचना अधिकारी सुवेदीले भने, ‘बीमा बोर्डबाट अनुगमन गरी निःशुल्कमा सूचीकृत गर्ने काम बाँकी छ ।’ असार महिनाको अन्तिमतिर आवश्यक सबै तयारी पूरा गरी जिल्ला अस्पतालबाट सेवा दिने तयारी गरिएको थियो । तर निःशुल्कमा सूचीकृत नगरी सेवा दिँदा शःशुल्क गर्नुपर्ने भएकाले सेवा सुरु गर्न समस्या परेको थियो ।