NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

एकीकृत समाजवादीले पाउला त राष्ट्रिय दलको मान्यता ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत रहेको छ । निर्वाचन आयोगले बिहीबार बिहान ११ बजेसम्म प्रवृष्ट गरेको विवरण अनुसार एकीकृत समाजवादीले २ लाख ९२ हजार ६०३ मत पाएको छ । उसलाई राष्ट्रिय दल बन्नका लागि झण्डै ३० हजार मत आवश्यक पर्छ ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० मध्ये करिब ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७३ हजार १३७ मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

सुनसरी–४ को मतगणना सकिएकाे छ । स्थगित भएको तीन जिल्लामध्ये दोलखाको १० वटा केन्द्रमा पुनः मतदान भएको छ । स्याङ्जामा बुधबार रातिबाट मतगणना जारी छ । बाजुरामा पनि मतगणना अगाडि बढाउने आयोगको तयारी छ । नेकपा एसले राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि तीन जिल्लाबाट आवश्यक मत जोहो गर्नुपर्ने बाध्यता रहेको छ । यी जिल्लामा करिब साढे तीन लाख मत खसेको आयोगको अनुमान छ । यी जिल्लाले नै नेकपा एस काे भविष्य निर्धारण गर्नेछ ।

समानुपातिकतर्फ १ करोड २ लाख ४८ हजार १९७ मत गणना हुँदा अहिलेसम्म सातवटा पार्टीले राष्ट्रिय दलको मान्यता पाएको छ । राजनीतिक दल सम्बन्धी ऐन अनुसार राष्ट्रिय दलको मान्यता पाउन समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्नुपर्छ । प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।

जसअनुसार २७ लाख ३१ हजार २८२ मतसहित नेकपा एमाले पहिलो दल भएको छ । दोस्रोमा नेपाली कांग्रेसले २६ लाख ३ हजार ३८ मत पाएको छ । ११ लाख ५५ हजार ४५ मतसहित नेकपा माओवादी केन्द्र तेस्रो भएको छ । योपटक अप्रत्याशित नतिजा ल्याएको रवि नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ७ हजार ७४० मतसहित चौंथो स्थान बनाउन सफल भएको छ ।

त्यस्तै राप्रपा ५ लाख ८१ हजार १०३ मतसहित पाँचौं दल भएको छ । छैटौं स्थानमा रहेको जसपाले ४ खाल १६ हजार १८६ मत पाएको छ । सातौं स्थानमा सीके राउतको नवगठित जनमत पार्टी ३ लाख ८६ हजार ९६ मतसहित राष्ट्रिय दल बन्न सफल भएको छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनदेखि नै राष्ट्रिय दलको मान्यता पाउँदै आएको महन्थ नेतृत्वको लोसपा राष्ट्रिय दलको मान्यता नपाउने भएको छ । उसले अहिलेसम्म जम्मा १ लाख ६३ हजार ३५ मत प्राप्त गरेको छ ।