NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

धनगढीमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा

धनगढी । सडक निर्माणमा संलग्न ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन स्थानीय प्रशासनले अहिले साँझ ७ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पूर्वमा धनगढी उपमहानगरपालिका–१ को फूलबारी बस बिसौनी, पश्चिममा वडा नं ४ को रातोपुल, दक्षिणमा वडा नं १ र २ को हुलाकी राजमार्ग र उत्तरको वडा नं ५ को सामुदायिक प्रहरी सेवा केन्द्रभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको  हाे ।

पञ्चोदय मावि धनगढीमा कक्षा ८ मा अध्ययनरत चेतना साउदको ग्रेडरको ठक्करबाट बिहान मृत्यु भएको थियो ।

घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी हुनसक्ने अराजक गतिविधिलाई नियन्त्रण गर्न र सर्वसाधारणको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गरी शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐनबमोजिम आवतजावत गर्न, भेला, प्रदर्शन गर्न, घुमफिर गर्न सवारीसाधन चलाउन निषेध गरिएको जिल्ला प्रशासनद्वारा साँझ जारी सूचनामा उल्लेख गरिएको छ ।

निषेधाज्ञाको आदेश उल्लङ्घन गर्नेलाई कानूनबमोजिम कारबाही हुने व्यहोरा पनि सूचनामा उल्लेख गरिएको छ ।

साइकलमा पञ्चोदय माध्यमिक विद्यालयतर्फ गइरहेकी १५ वर्षीया चेतना साउदको कालिका कन्स्ट्रक्शनको ना१ख ८७५ नंको ग्रेडरले ठक्कर दिएको थियो ।

घटनापछि आक्रोशित विद्यार्थीले दिनभरि धनगढी बजारको मुख्य सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनसँगै बजार क्षेत्रको आवामगन प्रभावित भएको थियो । प्रहरीले ग्रेडरसहित चालकलाई नियन्त्रणमा लिएको छ । मृतकको शव साँझ सेती प्रादेशिक अस्पतालमा पु¥याइएको छ ।