NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

एमालेको गढ दोलखामा माओवादीलाई अग्रता दिलाउने गंगा को हुन् ?

काठमाडौं । विवादकाबीच निर्वाचन भएको ११ दिनपछि मतगणना सुरू भएको दोलखामा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ४ हजार १११ मतसहित अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले २ हजार ६७५ मतसहित पछ्याइरहेका छन् ।

पछिल्लो मतगणना अनुसार कार्की एमालेका उम्मेदवारभन्दा एक हजार ४३६ मतान्तरले अगाडि रहेका छन् । अहिले कालिन्चोक गाउँपालिका अन्तर्गत १ नम्बर वडाको मतगणना भइरहेको छ । आयोगको तथ्यांक अनुसार दोलखा जिल्लामा १ लाख ६० हजार ४ सय मतदाता छन् । तीमध्ये ५८ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले ४६ सिटमध्ये १७ सिट जित हात पारेको पारेको थियो । सुरुवाती अग्रता लिइरहेको माओवादीले दोलखाबाट एक सिट थपिने विश्वास लिएको छ । सत्ता पक्षले बुथ कब्जा गरी धाँधली गरेको आरोप लगाउँदै एमालेले पुनः मतदान गर्न निर्वाचन आयोगमा उजुरी दिएपछि बिहीबार मात्र यहाँका १० वटा केन्द्रमा पुनः मतदान भएको हो । आयोगको स्थलगत रिर्पोटिङपछि मतगणना स्थगित भएको तीन जिल्लामध्ये स्याङ्जा र बाजुरामा पुनः मतदान गर्ननपर्ने आयोगले निर्णय गरेको थियो ।

गतवर्ष एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यो क्षेत्रमा एमालेका उम्मेदवार पार्वत गुरुङ भारी मतका साथ विजयी भएका थिए । वामगठबन्धनले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका तीन वटै सिटमा ‘क्लीन स्वीप’ गरेको थियो । प्रदेश सभाको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र) विशाल खड्का, क्षेत्र नंं २ मा एमालेका पशुपति चौलागाई निर्वाचित भएका थिए ।

योपटक एमालेबाट गुरुङसहित आनन्द पोखरेलले आकांक्षा देखाएका थिए । तर अन्तिम समयमा गुरुङले शिवाकोटीको नाम प्रस्ताव गरेपछि ओलीले उनको प्रस्ताव सदर गरेका हुन् । शिवाकोटी राजनीति पृष्ठभूमिका भन्दापनि व्यापारी पृष्ठभूमि भएको उम्मेदवार हुन् ।
गतवर्ष स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा एकालेका कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको थियो ।

२०४८ देखि एमालेको दबदबा

यहाँ २०४८ सालदेखि नै धेरैजसो निर्वाचनमा एमालेले जित्दै आएको क्षेत्र हो । ०४८ मा दुई क्षेत्र रहेको दोलखामा एमालेले ‘क्लीन स्वप’ गरेको थियो । २०५१ को मध्यावधि निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेस र २ बाट एमालेका उम्मेदवार विजयी भएका थिए । २०५६ को निर्वाचनमा दुवै क्षेत्रमा एमाले विजयी भएको थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा दुवै क्षेत्र माओवादी विजयी भयो । २०७० को निर्वाचनमा एमालेका आनन्द पोखरेल र पार्वत गुरुङ विजयी भए । २०७४ मा एक क्षेत्र भएको यहाँ गुरुङले बाजी मारेका थिए । योपटक गठबन्धनका साझा उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएको एमालेले विरासत जोगाउनुपर्ने बाध्यता छ ।

को हुन् कार्की ?

वामपन्थी आन्दोलनमा इमान्दार र स्वच्छ छवि बनाएका ५७ वर्षीय कार्की पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका हुन् । माओवादी युद्धमा होमिएका कार्की शान्ति प्रकृयामा आएको १७ वर्षमा उनले कुनै लाभको पद पाएका छैनन् ।

दोलखाको जुँगु गाविस–७ मा २०२२ सालमा पहिलो सन्तानको रुपमा जन्मिएका कार्की पार्टीभित्र उनी ‘विश्व’ उपनामले चिनिन्छन् । मध्यम परिवारबाट राजनीतिमा आएका उनले दोलखाकै जिरी मावि बाट विद्यालय शिक्षा पुरा गरेका हुन् । २०३८ सालमा कार्कीले राष्ट्रिय पञ्चायत विरुद्ध विद्रोह गरेका थिए । १६ वर्षकै उमेरमा राज्यविरुद्ध होमिएका उनीमाथि तत्कालीन शासकले चारवटा मुद्दा लगाएका थिए ।
२०४१ देखि कालिन्चोकस्थित क्याम्पोल प्राविमा अध्यापन गरेका थिए । २०४२ देखि उनी वामपन्थी राजनीतिमा होमिएका थिए । २०४७ सालमा पार्टी सदस्यता लिएका उनी २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सेक्रेटरी भएका थिए । २०५१ सालमा एकता केन्द्र विभाजन भएपछि उनी माओवादीमा लागेका हुन् । २०५२ सालमा उनी भूमिगत सशस्त्र विद्रोहमा होमिएका थिए । कार्कीको ‘दुसाध्य जनयुद्ध’ नामको पुस्तक चर्चित रहेको छ ।

माओवादी दोलखामा शीर्ष तहका नेताहरूबीच गहिरो अन्तर्विरोध छ । माओवादी केन्द्रका उम्मेदवार रहेका गंगा कार्की पोलिटब्युरो सदस्य हुन् । प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री तथा दोलखाका इन्चार्ज देवी खड्काले आकांक्षा देखाएकी थिइन् । अन्त्यमा कार्कीले टिकट पाएपछि स्वास्थ्यको कारण देखाउँदै खड्काले पदीय जिम्मेवारीबाट राजीनामा दिइन् । कार्कीलाई पार्टी भित्रैबाट नै असहयोग भइरहेको माओवादीका वृत्तमा चर्चा चलेको थियो ।

कार्की र खड्काबीच अन्तर्विरोध

दोलखा माओवादीका नेताहरू देवी खड्का र विशाल खड्काका कार्की नातेदार पर्छन् । पछिल्लो समतय खड्का र कार्कीबीचको सम्बन्धमा खटपट भएको छ । माओवादी युद्धकालदेखि नै कार्की र खड्का परिवारबीच मनमुटाब रहँदै आएको स्थानीय माओवादी नेता बताउँछन् । माओवादीभित्र कार्की अध्यक्ष प्रचण्ड नजिकका नेता हुन् । खड्का पूर्वनेता बाबुराम भट्टराई निकटका नेता हुन् । कार्कीलाई जिताउँन पार्टीले दोलखामा विशाल खड्कालाई चुनावी कमाण्डर बनाएको थियो ।

सत्ता गठबन्धनमाओवादी–कांग्रेसको मत ट्रान्सफर गराउन चुनौती ठानिएको यो क्षेत्रमा कार्कीको शुरुवाती अग्रतालाई लिएर स्थानीय माओवादी नेता तथा कार्यकर्ता उत्साहित छन् । सत्ताररुढ माओवादी र कांग्रेसबीचको आन्तरिक अन्तर्विरोधबीच कार्कीले जिल्लामा बलियो संगठन भएको एमालेविरुद्ध जित निकाल्नु चुनौतीपूर्ण बाध्यता छ ।