NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

को-को छन् मधेस प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी ?

जनकपुर । मधेस प्रदेशमा प्रदेशसभा सदस्यको मतगणना सकिएसँगै सरकार नेतृत्वको रस्साकस्सी सुरु भएको छ ।

प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनले सामान्य बहुमत प्राप्त गरेको छ । यद्यपि दलगत हिसाबमा नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेका छन् भने समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन् ।

मधेश प्रदेशमा सत्ता गठबन्धनका दलले प्रत्यक्ष र समानुपातिक गरी ४६ सिट जितेका छन् । जसमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १३ र समानुपातिकमा ९ गरी कूल २२ सिट जितेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी ९ सिट जितेको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट जितेको छ भने नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी कुल ८ सिट जितेको छ ।

त्यसैगरी एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी ३८ सिट जितेको छ । जसमा एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी २३ सिट र जसपाले प्रत्यक्षतर्फ ९ र समानुपातिकमा ६ गरी १५ जितेको छ ।

प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सिट संख्या छ । सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ । यसका लागि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारलाई समावेश गराउनुपर्ने बाध्यता दुवै गठबन्धनलाई छ ।

पहिलो पटक निर्वाचनमा सहभागी भएको जनमत पार्टीसँग प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिट संख्या छ भने प्रदेशमा ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

यस आधारमा सत्ता गठबन्धनलाई सरकार बनाउन ८ सांसद आवश्यक छ भने एमाले गठबन्धनलाई १६ सांसद आवश्यक पर्छ । तर हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच सत्ता गठबन्धनमा आउनका लागि सहमति भएसँगै सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बढेको छ ।

यसैबीच राजनीतिक दलहरुबीच को मुख्यमन्त्री हुने भन्नेमा पनि चर्चा सुरु भएको छ । नेकपा (एमाले) का मधेस प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेल पहिलो दलका हिसाबले आफ्नो पार्टीको सरकार बन्नुपर्ने बताउँछन् । एमालेभित्र मुख्यमन्त्रीका लागि डा सरोज यादव, रामचन्द्र मण्डल, राजकुमार लेखीको नाम चर्चामा छ ।

त्यस्तै, नेपाली कांग्रेस मधेस प्रदेशका सूचना तथा सञ्चार विभाग प्रमुख नितेशकुमार गुप्ताले मुख्यमन्त्रीका प्रबल दाबेदार प्रदेश सभापति एवं प्रदेशसभा सदस्य कृष्णप्रसाद यादव रहेको बताए । यादवकै नेतृत्वमा सरकार बन्नुपर्ने गुप्ताको दाबी छ । यद्यपि कांग्रेसभित्र पनि रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह मुख्यमन्त्रीका आकांक्षी छन् ।

यस्तै, जनता समाजवादी पार्टीबाट सरोजकुमार यादव, राजकुमार गुप्ता, रामअषिस यादवको नाम मुख्यमन्त्रीका रूपमा चर्चामा छ ।