NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

माओवादीसँग पार्टी एकता गर्नेबारे नेकपा एसभित्रै तीव्र मतभेद

काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकता हुने विषय निराधार भएको बताएको छ । गत साउनमा बसेको नेकपा एसको केन्द्रीय कमिटी बैठकले निर्वाचनपछि माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।

निर्वाचन परिणाम अन्तिम चरणमा पुगेसँगै पार्टी एकताको विषयमा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच आइतबार छलफल भएको थियो । एमालेरहितको एउटै समाजवादी केन्द्र बनाउने विषयमा असहमति राख्दै नेता तथा कार्यकर्ताले चौतर्फी दबाब दिएपछि महासचिव डा. बेदुराम भुसाले बिहीबार सर्कुलर जारी गर्दै माओवादीसँग पार्टी एकता गर्ने विषय निराधार भएको उल्लेख गरेका छन् ।

‘विगत केही दिनदेखि विभिन्न विभिन्न सञ्चारमाध्यममा नेकपा(एकीकृत समाजवादी) र नेकपा(माओवादी केन्द्र)बीच तत्काल पार्टी एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रष्ट पार्न चाहन्छौं कि यो प्रचार पूर्णतः निराधार हो । यसमा कुनै सत्यता छैन ’, सर्कुलरमा उल्लेख गरेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा प्रष्ट भएको तर यस विषयमा निर्णयमात्र नभइ कुनै छलफलसमेत नभएको सर्कुलरमा उल्लेख गरिएको छ ।

यसैगरी माओवादीसँग पार्टी एकता गर्ने पार्टीको निर्णयप्रति शुरुदेखि असहमति जनाउँदै आएका वरिष्ठ नता मुकुन्द न्यौपानेले पार्टी कार्यकर्ताले चर्को दबाब दिएपछि हतारमा विज्ञेप्ति जारी गर्नु सर्मको विषय भएको टिप्पणी गरेका छन् । शुक्रबार न्यौपानेले सामाजिक सञ्जालमा एकता सम्बन्धमा भइरहेका सबै गतिविधिबारे विस्तृत जानकारी दिँदै शीर्ष नेताहरूको चर्को आलोचना गरेका छन् ।

‘श्रावणमा माओवादीसँग एकतागर्ने र एमाले बाहेकको समाजवादी केन्द्र बनाउने भनेर छलफल गरेर आएका अध्यक्षको सचिवालयका सदस्यसहितको वैठक वोलाएर चारदिनसम्म समाजवादीको कार्यालय तिनकुने बैठक बस्यो । तर वैठक लगातार छ बिषय केही छैन। चारदिन पछि चम्पादेवी सारियो। चम्पादेवी सारेपछी सचिव गंगा तुलाधरले अब माओवादीसँग एकता गरेर जानु पर्छ। एमालेसँग मिल्नसकिदैन त्यसैले एमाले बाहेकको वामपन्थी एकता गर्ने भनेर प्रस्ताव राखेपछि मैले यसको विरोध गरें’, उनले उल्लेख गरेका छन् ।

एमाले बाहेकको एकताभन्नु कम्युनिष्टआन्दोलन सिद्याउनु हो असहमति जनाएपछि झलनाथ खनाल र विजय पौडेलले राम्ररी छलफल नगरी एकता नगारौं भनेको उनले बताए । त्यसपछि वैठक बिना निष्कर्ष टुङ्गिको उनले खुलाशा गरेका छन् ।