NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत ६ गते

अमेरिकी राजदूतलाई बालेनले भने–तपाईंको सहयोग चाहिँदैन, बरू अमेरिकामा हामी मन्दिर बनाइदिन्छौं

काठमाडौं । आर्थिक सहयोग गर्ने अमेरिकाको प्रस्तावलाई काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले अस्वीकार गरेका छन् । साथै उनले एमसिसीअन्तर्गत उत्पादन हुने विद्युत् विदेशी मुलुकलाई बिक्री नगरी स्वदेशमै उपयोग गर्नु उपयुक्त हुने धारणासमेत अमेरिकी अधिकारीसमक्ष राखेका छन् ।

बिहीबार नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले परराष्ट्र मन्त्रालयको अनुमति लिएर मेयर शाहसँग भेट गरेका थिए । त्यसक्रममा अमेरिकी राजदूतले महानगरपालिकालाई आर्थिक सहयोग गर्ने प्रस्ताव मेयर बालेनसमक्ष राखेका थिए । जसलाई बालेनले इन्कार गरेका छन् ।

अमेरिकी राजदूतले महानगरलाई आर्थिक सहयोग गर्ने इच्छा जाहेर गरेकोमा आफूले त्यसलाई अस्वीकार गरेको बालेनले बताएका छन् । शाहका अनुसार, अमेरिकी राजदूतको यस्तो प्रस्ताव अस्वीकार गर्दै बरु उनले चाहिँ अमेरिकामा नेपाली संस्कृति र सभ्यता झल्काउने मठमन्दिर, पाटी बनाइदिने प्रस्ताव गरेका छन् ।

‘… उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो । तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

एमसिसीमार्फत विदेशीलाई बिजुली बिक्री गर्नुभन्दा नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्ने धारणा पनि शाहले अमेरिकी राजदूतसमक्ष राखेका छन् ।

अमेरिकी राजदूत थम्सनले बिहीबार मेयर शाहलाई भेटेका थिए । यो भेटघाटपछि परराष्ट्रबाट अनुमति लिएर वा नलिई कसरी भेट गरिएको भनेर एमाले नेता भीम रावलललगायतले चासो राखेका छन् । बालेनले यसको जवाफ दिँदै पटक पटक बिना अनुमति भेट्न चाहेका अमेरिकी राजदूतलाई आफूले नै परराष्ट्रबाट अनुमति लिएर आउन भनेको र सोही अनुरूप गरेपछि भेट गरेको बताएका छन् ।

‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं,’ शाहले फेसबुकमा लेखेका छन् ।