NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ वामपन्थी खुम्चिए, कांग्रेसले बढाए

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको समिकरण लगभग पुरा भएको छ । आइतबार बिहान ११ बजेसम्म एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६४ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार ५७ सिटसहित कांग्रेस पहिलो दल भएको छ । ४४ सिट जितेको एमाले एक स्थानमा अग्रता लिइरहेको छ । माओवादी केन्द्र १७ सिटसहित तेस्रो स्थानमा छ । एमालेको विद्रोही शक्ति एकीकृत समाजवादी १० सिट जितेर चौंथो स्थानमा छ ।

रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ । यसैगरी राप्रपा ७, जसपा ७, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेपाल मजदुर किसान पार्टी १ र स्वतन्त्रले ५ सिट जितेको छ ।

अघिल्लो निर्वाचनको तुलनामा गठबन्धनबाट योपटक कांग्रेसलाई फाइदा पुगेको देखिन्छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो दल रहेका एमालेले ८० सिट जितेको थियो । नेकपा विघटन र पार्टी विभाजनका बाबजुद सत्ता गठबन्धनविरुद्ध भिडेको एमाले योपटक प्रत्यक्षतर्फ ४५ सिटमा सिमित भएको छ । केही स्थानमा जसपा, राप्रपासँग चुनावी तालमेल गरेको एमालेले १४३ निर्वाचन क्षेत्रमा आफ्नो एकल उम्मेदवार उठाएको थियो । वाम गठबन्धनका कारण अघिल्लोपटक २३ सिटमा खुम्चिएको कांग्रेसले यो निर्वाचनमा ३४ सिट थप्दै ५७ स्थानमा जित्न सफल भएको छ । उसले भागबण्डामा ९१ निर्वाचन क्षेत्रमा साझा उम्मेदवरा उठाएको थियो ।

एमालेको सहयोगमा अघिल्लो निर्वाचनमा ३६ सिट जितेको माओवादी केन्द्र योपटक १७ सिटमा खुम्चिएको छ । गठबन्धनको सहयोगमा ४६ स्थानमा उसले एकल उम्मेदवारी दिएको माओवादीले २९ सिट गुमाएको छ । अघिल्लो निर्वाचनको तुलनामा उसले १९ गुमायो ।
प्रतिनिधिसभातर्फ २३ सिटसहित एमाले विभाजन गरेको एकीकृत समाजवादीले १० सिट जितेको छ । १९ सिटमा उम्मेदवारी दिएको नेकपा एसले गठबन्धनबाट प्रत्यक्षमा सबैभन्दा फाइदा उठाएको देखिन्छ । तर समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सक्ने अवस्था नहुँदा राष्ट्रिय दल बन्ने सम्भावना निकै कम देखिन्छ ।

त्यस्तै अघिल्लो निर्वाचनमा १० सिट जितेको जसपाले योपटक ३ सिट गुमाउँदै ७ सिटमा चित्त बुझाएको छ । निर्वाचनको मुखमा एमालेसँग तालमेल गरेको उसले १७ सिटमा साझा उम्मेदवार उठाएको थियो । मधेश प्रदेशमा सीके राउत नेतृत्वको जनमत पार्टीको उदयले योपटक मधेश केन्द्रित दलहरूलाई ठूलो झड्का लागेको छ । अघिल्लो निर्वाचनमा ११ स्थानमा विजयी भएको लोसपा योपटक ४ सिटमा खुम्चिएको छ । उसले राष्ट्रिय दलको मान्यतासमेत गुमायो ।

२०७४ को निर्वाचनमा एक सिट जितेको राप्रपाले योपटक ७ स्थानमा विजयी भएको छ । राष्ट्रिय दलको मान्यतासमेत पाएको छ । राप्रपा नेतृत्वमा राजेन्द्र लिङ्देन आएसँगै प्रत्यक्षत र समानुपातिक दुवैतर्फ राम्रो परिणाम ल्याएको छ ।

अघिल्लो निर्वाचनमा एक सिट जितेको बाबुराम नेतृत्वको नयाँ शक्ति संघीय समाजवादी, जसपा हुँदै पुनः माओवादी केन्द्रमा आएर विलय भएको छ । अघिल्लो निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका भट्टराई योपटक चुनावी प्रतिस्पिर्धामा भागै लिएनन् । दुई सिट भट्टराईको पार्टीले माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएको थियो । सर्लाही–३ बाट महेन्द्र राय यादव विजयी भएका छन् । काठमाडौं–७ मा भट्टराईकी छोरीसमेत रहेकी मानषी यमी भट्टराई पराजित भइन् ।

२०७४ को निर्वाचनमा एक/एक सिट जितेको नेमकिपा र राजमोले योपटक पनि एक÷एक सिटमा चित्तबुझाएको छ । अघिल्लो निर्वाचनमा वामपन्थी गठबन्धनबाट जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल विजय भएकी थिइन् । योपटक उनले पराजय भोगिन् । बाग्लुङ–२ बाट निर्वाचन जितेर पार्टी अध्यक्ष चित्रबहादुर केसीले योपटक विरासत कायम राखेका छन् । अघिल्लो निर्वाचनमा एक सिट जितेको स्वतन्त्रले योपटक ५ सिट जितेको छ ।

परम्परागत राजनीतिक दललाई नयाँको चुनौती

वर्षैंदेखि राज्य सत्तामा वरपरी रहेका परम्परागत दल एमाले, कांग्रेसलगाय दललाई योपटक भर्खर खुलेका दल रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगात स्वतन्त्र उम्मेदवारले अप्रत्यासित रुपमा चुनौती दिएका छन् । असारमा खुलेको रविको पार्टी रास्वपाले काठमाडौं लगायत सहरी क्षेत्रमा परम्परागत दलहरूको गढ भत्काउँदै ७ सिट जितेको छ । वैशाखमा दर्ता गरेको सीके नेतृत्वको दल जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । पृथकतावादी आन्दोलन त्यागेर शान्तिपूर्ण राजनीतमा आएको राउतले मधेशमा बलिया ठानिएका जसपा र लोसपाको गढ भत्काएका छन् । सुदूरपश्चिमा नाउपाले एक स्वतन्त्रसहित ४ सिट जिनेको छ ।

वामपन्थीको सिट घट्यो, कांग्रेसको बढ्यो

अघिल्लो निर्वाचनमा ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा होमिएका थिए । त्यतिबेला एमालेले एक सय २ स्थानमा उम्मेदवारी दिएको थियो । माओवादी केन्द्रले ६३ स्थानमा उम्मेदवारी दिएको थियो । १०२ मध्ये एमालेले २२ सिट गुमाउँदै ८० सिट सुरक्षित गरेको थियो । माओवादीले पाएको सिटमध्ये २७ सिट गुमाउँदै ३६ स्थानमा विजयी भयो । समग्रमा प्रतिनिधिसभाभित्र वामपन्थी जनमत ७२.१२ प्रतिशत थियो ।

टुटफुट र विभाजनका कारण योपटक वामपन्थी दलले ठूलो धक्का खाएको छ । अघिल्लो निर्वाचनको तुलनामा वामपन्थीले २७.२८ प्रतिशत सिट संख्या गुमाएको छ । योपटक माओवादी, एकीकृत समाजवादी, राजमो कांग्रेससँग मिलेर एमालेविरुद्ध उम्मेदवारी दिएका थिए । तर गठबन्धनको सोझा फाइदा कांग्रेसलाई भयो । माओवादी र नेकपा एसले सोचेजस्तो परिणाम ल्याउन सकेनन् । सत्तारुढ वामपन्थी दलको भूमिका एमालेलाई हराउनमात्र देखियो ।

गठबन्धनविरुद्ध केही स्थानबाहेक एक्लै मैदानमा उत्रिएको एमालेले पनि सोचेको जस्तो परिणाम ल्याउन सकेन । समानुपातिकतर्फ लोकप्रिय मत ल्याएपनि प्रत्यक्षमा झण्डै आधा सिट संख्या गुमायो । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाइ र मधेश प्रदेशबाहेक ६ वटा प्रदेशमा दुईतिहाइ बढी जनमत पाएको वामपन्थी शक्ति एकअर्काविरुद्ध प्रयोग हुँदा यो निर्वाचनमा एमाले, माओवादी र एकीकृत समाजवादीको जनमत निकै खुम्चिएको देखिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष