NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

महिला हिंसा अन्त्यका लागि सबैको सहकार्य जरुरी : मन्त्री खापुङ

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले महिला हिंसा अन्त्यका लागि सरोकारवाला निकाय सबै सहकार्य गर्नुपर्ने बताए ।

आज महिला हिंसाविरुद्धसम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘चेतनास्तर सहर, गाउँ र समुदायपिच्छे फरक छ ।  महिला हिंसाको अन्त्यका लागि जनचेतना वृद्धि पहिलो आवश्यकता हो ।’

सीमित स्रोतसाधनका बाबजुत ओसिएमसिले ९४ अस्पतालमार्फत् पीडितलाई सहयता दिँदै आएको उनले बताए । यसलाई अझ धेरै ठाउँमा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट ११ हजार ४६ जनाले स्वास्थ्य उपचार सेवा लिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले देशभरका विभिन्न ६० अस्पतालमा रहेका ओसिएमसीबाट १० हजार चार सय ९१ महिला, पाँच सय २८ पुरुष र २७ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिइन् । गत आवमा शारीरिक अशक्तताका दुई हजार चार सय ९९ मुद्दामा ओसिएमसीले स्वास्थ्य सहायता उपलब्ध गराएको हो ।

कर्माचार्यका अनुसार केन्द्रमा सेवा लिन आउनेमा घरेलु हिंसाका पीडितको संख्या बढी छ । ‘गत आर्थिक वर्षमा सेवा लिने पीडितमा घरेलु हिंसाका पीडित धेरै हुनुहुन्छ ।  नाताभित्रबाट हिंसा बढी भएको देखिएको छ । त्यसमा पनि शारीरिक यातनाका घटना धेरै छन्,’  उनले भनिन् ।

ओसिएमसीबाट सहायता लिने पीडितमा सबैभन्दा धेरै छ सय ५१ वटा सामाजिक हिंसाका पीडित छन् । त्यसबाहेक बालविवाहसम्बन्धी तीन सय १८, बहुविवाहसम्बन्धी एक सय ३९, बालश्रमसम्बन्धी एक सय ८१ घटना छन् । साथै, दाइजोसम्बन्धी एक सय २२, बोक्सीको आरोपसम्बन्धी ४५, छाउपडीका एक सय ६५ र मानव बेचबिखनसम्बन्धी ६१ वटा घटना छ । यसबाहेक अन्य कारणले एक हजार ८० हिंसा भएको मन्त्रालयको भनाइ छ ।