NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मधेश र सुदूरपश्चिमबाहेक पाँच प्रदेशमा एमाले पहिलो दल, कुन प्रदेशमा कसकाे कति मत ?

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये दोलखाको मात्रै मतपरिणाम आउन बाँकी छ । प्रत्यक्ष तर्फका ३३० प्रदेश सभा क्षेत्रमध्ये ३२९ को मतपरिणाम पनि आइसकेको छ । संघ र प्रदेशको समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

२०७४ को निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी गरी पाँचवटा पार्टीले राष्ट्रिय दलको मान्यता पाएको थियो । योपटक एमाले, कांग्रेस, माओवादी, जसपासहित तीनवटा नयाँ दलले राष्ट्रिय दलको मान्यता पाएको छ । योपटक राष्ट्रिय दलको मान्यता पाउनेमा राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी रहेको छ ।

प्रतिनिधि सभामा सात प्रदेशमध्ये समानुपातिकतर्फ मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेक पाँच प्रदेशमा एमाले पहिलो दल भएको छ । यी प्रदेशमा एमाले दोस्रो स्थानमा छ ।

आयोगको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभामा एक करोड ४ लाख २० हजार १२५ मत गणना हुँदा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएर पहिलो दल भएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ । यो एमालेले पाएको मतको तुलनामा एक लाख २८ हजार ११० मतले कम हो ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ लाख ६२ हाजर १२४ मत पाएको छ । चौंथा स्थानमा रहेको रवि नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत पाएको छ । आयोगका दर्ता भएको पाँच महिनामै रास्वपाले अप्रत्यासित रूपमा मत परम्परागत दलहरूको मत ट्रान्सफर गर्न सफल भएको छ । रास्वपाले पाएको मत माओवादी केन्द्रकोभन्दा ३७ हजार ५८१ मतले कमि हो ।
पाँचौं स्थानमा रहेका पुरातन पार्टी राप्रपाले योपटक उल्लेख्य सुधार गरेको छ । अघिल्लो निर्वाचनमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न असफल भएको थियो । योपटक उसले ५ लाख ८६ हजार ६३८ मत ल्याएको छ । २०७४ मा प्रत्यक्षमा एक सिट जितेको राप्रपाले योपटक ७ सिट जितेको छ ।

छैटौं स्थानमा रहेको उपेन्द्र नेतृत्वको जसपाले ४ लाख २० हजाजर ९४६ मत पाएको छ । जसपालाई योपटक सीके राउत नेतृत्वको जनमत पार्टीले चुनौती दिएको छ । अध्यक्ष यादव सप्तरी–२ बाट आफै राउतसँग फराकिलो मतान्तरले पराजित भए । वैशाखमा भएको स्थानीय तह निर्वाचनताका आयोगमा दर्ता भएको यो पार्टीले मधेश केन्द्रित दल जसपा र लोसपाको मधेश प्रदेशमा सेन्डिकेट तोडेको छ । प्रतिनिधिसभा निर्वाचनमा उसले ३ लाख ९४ हजार ५२३ मत ल्याएर सातौं दल भएको छ । जनमत पार्टी राष्ट्रिय दल बन्न सफल भएको छ ।
आठौं स्थानमा रहेको एकीकृत समाजवादीले २ लाख ९४ हजार ३६२ मत प्राप्त गरेको छ । राष्ट्रिय दल बन्न संघर्षरत रहेको यो पार्टीले दलको मान्यता पाउन निकै कठिन देखिन्छ । राजनीतिक दलसम्बन्धी कानुन अनुसार राष्ट्रिय दलको मान्यता पाउन कुल सदर मतको तीन प्रतिशत मत प्राप्त गर्नुपर्नेछ । त्यसका लागि नेकपा एसलाई २० हजार हाराहारी मत आवश्यक पर्छ । दोलखामा थोरैमात्र मत गणना हुनँ बाँकी रहेकाले दलको मान्यता पाउन निकै कठिन छ ।

यसैगरी प्रत्यक्षतर्फ कैलालीमा तीन सिट जितेको रेशम चौधरीको नव गठित दल नागरिक उन्मुक्ति पार्टी २ लाख ७१ हजार ६६२ मतसहित नवौं स्थानमा रहेको छ । दशौं स्थानमा लोकतान्त्रिक समाजवादीले १ लाख ६७ हजार २८१ मत पाएको छ । अघिल्लो निर्वाचनमा चौंथो शक्तिसहित राष्ट्रिय दलको मान्यता पाएको लोसपाले योपटक दलको मान्यता गुमाएको छ ।
यहाँ सातै प्रदेशमा ‘टप टेन’ भित्र समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा कसले कति मत पाए भन्नेमा चर्चा गर्न गइरहेका छौं ।

कुन प्रदेशमा कुन दल कति स्थानमा ?

प्रदेश १

प्रदेश १ मा ६ लाख ४२ हजार ३४ मतसहित एमाले पहिलो दल भएको छ । कांग्रेस ५ लाख ५५ हजार २२७ मतसहित दोस्रो स्थानमा छ । २ लाख १४ हजार ८१० मतसहित रवि नेतृत्वको दल रास्वपा तेस्रो स्थानमा छ । यसैगरी माओवादी केन्द्र एक लाख ८८ हजार ६८२ मतसहित चौंथो स्थानमा छ । पाचौं स्थानमा रहेको राप्रपाले एक लाख ३० हजार ४०३ मत पाएको छ । छैटौं स्थानमा रहेको जसपाले ५३ हजार २४० मत पाएको छ । ४६ हजार २४६ मतसहित नेकपा एस सातौं स्थानमा छ । यसैगरी आठौं स्थानमा रहेको मंगोल नेस्नल अर्गनाइजेसनले २० हजार ३१६ मत पाएको छ । १८ हजार ६५९ मतसहित जनमत पार्टी नवौं स्थानमा रहेको छ । दशौं स्थानमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १५ हजार १९१ मत पाएको छ ।

मधेश प्रदेश

मधेश प्रदेशमा नेपाली कांग्रेस ४ लाख ३४ हजार ९७१ मतसहित पहिलो दल भएको छ । एमालेले तीन लाख ७१ हजार ७०९, जसपाले २ लाख ९८ हजार ७४४, जनमत पार्टीले दुई लाख ९६ हजार ४८४ मतसहित क्रमशः दोस्रो, तेस्रो र चौंथो दल भएको छ । यसैगरी माओवादीले एक लाख ७९ हजार ८७०, लोसपाले एक लाख ९ हजार ३९० मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७२ हजार ९३७, राप्रपाले ६८ हजार ६५३, नाउपाले ४१ हजार १ मत पाएको छ ।

वाग्मती प्रदेश

वाग्मतीमा पाँच लाख ४ हजार ९९३ मतसहित एमाले पहिलो दल भएको छ । कांग्रेसले चार लाख ४४ हजार ९९३, रास्वपाले तीन लाख ७४ हजार ६६८ मत पाएको छ । यसैगरी माओवादीले दुई लाख ५३ हजार १०३, राप्रपाले एक लाख ७६ हजार ९२९, नेमकिपाले ५७ हजार ७९८, नेकपा एसले ४८ हजार २९०, हाम्रो नेतपाली पार्टीले २२ हजार ५४१, मंगोल नेस्नल अर्गनाइजेसनले ७ हजार ८८२ र जसपाले ७ हजार ६२ मत पाएका छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा पनि एमालेले नै अगाडि रहेको छ । यहाँ एमालेले ३ लाख २४ हजार ८८२ मत पाएको छ । कांग्रेसले तीन लाख १२ हजार ७२०, रास्वपा एक लाख ७७ हजार २५ मत पाएका छन् । यसैगरी माओवादीले एक लाख ८ अजार ४६७, राप्रपाले ३८ हजार ८३४ मत पाएका छन् । राष्ट्रिय जनमोर्चाले १० हजार १९९, नेकपा एसले ९ हजार ५७३, मंगोल नेस्नल अर्गनाइजेसनले ८ हजार ३३० मत पाएका छन् । यसैगरी हाम्रो नेपाली पार्टीले ४ हजार ६६५ र राष्ट्रिय जनमुक्ति पार्टीले २ हजार ७८४ मत पाएका छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा ५ लाख १९ हजार ८०७ मतसहित एमाले नै पहिलो दल भएको छ । दोस्रोमा कांग्रेसले ४ लाख ७८ हजार ३९२ मत पाएको छ । यसैगरी रास्वपाले २ लाख २० हजार ८४०, माओवादी केन्द्रले एक लाख ८४ हजार २५०, नाउपाले एक लाख १५ हजार ६१४, राप्रपाले एक लाख १३ हजार ३३३, जपाले ७१ हजार ८९७ मत पाएको छ । त्यस्तै जसपाले ५५ हजार ६९३, लोसपाले ४६ हजार ३११ र राजमोले २४ हजार ४५ मत पाएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा पनि एमाले पहिलो दल भएको छ । यहाँ एमालेले एक लाख ८३ हजार १३३ मत पाएको छ । दोस्रो दल कांग्रेसले एक लाख ८० हजार ९०९ मत पाएको छ । माओवादी केन्द्रले एक लाख ३५ हजार ४९६, नेकपा एसले २५ हजार ५५५, रास्वपा २० हजार १६७, राप्रपा १९ हजार १६१, नेमकिपा ८ हजार ५४६ मत पाएको छ । यसैगरी मालेले दुई हजार ३७, राजमो एक हजार ८७६ र नेकपा माओवादी समाजवादीले एक हजार ३९ मत पाएको छ ।

सुदूरपश्चिम प्रदेश

नौ जिल्ला रहेको सुदूरपश्चिममा दुई लाख ५३ हजार ३४ मतसहित कांग्रेस पहिलो दल भएको छ । एमाले दुई लाख ४१ हजार ७९८ मत ल्याएर झिनो मतले दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले एक लाख १२ हजार २५६ मत पाएको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीले ९९ हजार ३८१, रास्वपाले ४४ हजार ७८१, राप्रपाले ३९ हजार २२५, नेकपा एसले ३० हजार ७८२ मत पाएको छ । त्यस्तै कांग्रेस बीपीले ५ हजार ४७१, राजमो तीन हजार १५४, लोसपाले २ हजार ६३६ र मालेले दुई हजार ६३१ मत पाएको छ ।