NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

को–को छन् माओवादीबाट समानुपातिक सांसद बन्ने १४ जना उम्मेदवार ?

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको माओवादी केन्द्रले समानुपातिकतर्फ जम्मा १४ सिट पाएको छ । अघिल्लो निर्वाचनको तुलनामा एक लाख २८ हजार ३४ मत कम पाएको उसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट सांसदको नामावली पठाउन चुनौतीपूर्ण देखिएको छ ।

बुधबार निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगको पत्रअनुसार दलहरूले समावेशी क्लस्टर मिलाएर ११० जना सांसद सिफारिस गर्नुपर्नेछ ।

जसअनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार अनिवार्यरूपमा १२ जना महिला उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेछ । माओवादी केन्द्रको एकल चुनाव चिन्हमा प्रत्यक्षतर्फ ८ जना महिला उम्मेदवार उठाएकोमा दाङ–२ बाट रेखा शर्मामात्र निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यलाई पनि समावेश गर्ने हो भने माओवादीमा ४ जना महिला सांसद रहेका छन् । अहिले राष्ट्रिय सभामा माओवादीका १५ सदस्य रहेका छन् । यी दुवै संसदको सदस्य जोड्दा माओवादीका जम्मा सांसद संख्या ४७ हुनेछन् । समवेशी अनुसार महिला संख्या १६ जना अनिवार्य हुनेछ । त्यसमा चार जना निर्वाचित भइसकेका छन् ।

समानुपातिक निर्वाचन निर्देशीकाअनुसार उसले खस आर्य र आदिवासी जनजातिबाट समान ४/४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २/२ जना, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एक/एक जनाको नाम पठाउनुपर्नेछ ।

जसअनुसार खासआर्यबाट पुरुषमा हितराज पाण्डे र पेशल खतिवडा परेका छन् । खासआर्य महिलाबाट ज्ञानु बस्नेत, विमला सुवेदी रहने छिन् । यसैगरी आदिवासी जनजातिबाट छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र), दुर्गा राई, मीना तामाङ, उर्मिला माझी रहने छन् ।

दलितबाट सुशिला श्रीपाईली र पार्वती विक छनोट हुनेछन् । मधेशीबाट मीना यादव र उमरावतीदेवी यादव निर्वाचित हुनेछिन् । थारुबाट रुपासोसी चौधरी र मुस्लिमबाट कल्पना मियाँ निर्वाचिन हुनेछन् । संघीय सदस्य छनोट गर्दा पचास प्रतिशत महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।