NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज

दमौली । तनहुँको भिमाद नगरपालिका-९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ । प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ ।

भिमाद नगरपालिका-९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सञ्चालनका लागि वडा कार्यालयले तीन लाख ५० हजार लगानी गरेको वडा सदस्य शिवकुमार आलेले जानकारी दिए ।

‘मधुमेह परीक्षणका लागि पनि बजारसम्म पुग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘प्रयोगशाला सञ्चालनमा आएपछि सहज भएको छ ।’ उनका अनुसार पहिले बजारसम्म पुगेर मधुमेह परीक्षण गर्दा पाँच सयभन्दा बढी खर्च हुन्थ्यो भने अब स्थानीय स्तरमै रु एक सयमै हुने भएको छ ।

गाउँका जनतालाई सामान्य परीक्षणका लागि बजार झर्न नपरोस् भनेर प्रयोगशाला सञ्चालनमा ल्याइएको निवर्तमान वडाध्यक्ष इमानबहादुर थापाले बताए । स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेन्ट, अनमी, अहब, एचए र एकजना कार्यालय सहयोगी राखिएको छ ।

गाउँमै प्रयोगशाला सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । सामान्य परीक्षणका लागि पनि बजार झर्नुपर्ने अवस्थाको अन्त्य भएको भिमाद–९ का श्रीमाया आलेले बताए ।