NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

बागी उम्मदेवारमाथि एमालेको दण्डा : को–को परे पार्टीबाट निष्कासनमा ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आएपछि चुनावी समीक्षा र समानुपातिक सांसद छनोट गर्न नेकपा एमालेको पहिलोपटक सचिवालय बैठक बस्यो ।

केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको बैठकले पार्टीविरुद्धमा लागेको भन्दै एमालेले स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह रहेका छन् । भुसालले टिकट नपाएपछि पार्टी परित्याग गर्दै रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । साहले उम्मेदवार मनोनयन दर्ता गर्ने दिन साँझ पाँच बजेसम्म एमालेको टिकट होल्ड गरी रौतहट–३ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

यसैगरी उनी निकट केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट)लेसमेत विद्रोह गरेका थिए । त्यस्तै अन्य केन्द्रीय कमिटी सदस्यहरू रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाब), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी)लाई पनि पार्टीबाट निष्कासन गरेको छ । यसैगरी कारवाही पर्नेमा केन्द्रीय निकायका वाब्दी शेर्पा (ताप्लेजुब), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर), लक्ष्मी साह(कैलाली) रहेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेकी जैनव खातुन पनि पार्टीविरोधी गतिविधिमा लागेको आरोप लगाउँदै बन्दसूचीबाट उनको नाम हटाएको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा एमालेले समानुपातिकतर्फ सर्वाधिक मतप्राप्त गरेकोमा सबै मतदातालाई धन्यवाद दिएको छ ।प्रतिनिधिसभामा ४४ सिटसहित एमाले दोस्रो दल भएको छ । समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल भएको छ । एमालेले प्रतिनिधिसभा सदस्यमा ३४ जना र सात प्रदेशसभामा ७० जना प्रदेशसभा सदस्य गरी १०४ जना निर्वाचित हुनेछ ।

प्रदेश–१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमतीमा–१४ जना, गण्डकीमा–१० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा–७ जना निर्वाचित हुनुहुने भएको छ । दलहरूले पठाएको निर्वाचित हुने सांसदहरूको नामावली बन्दसूची अनुसार क्लस्टर मिले÷नमिलेकोबारे आयोगले रुजु गरी निर्वाचित सांसदको नाम घोषणा गर्ने तयारी गरिरहेको छ ।