NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नवाजुद्दिन भन्छन्, ‘सय करोड पारिश्रामिक लिने कलाकारले फिल्मलाई नोक्सान पुर्याए’

एजेन्सी । बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीले एक अन्तर्वार्तामा सय करोड रूपैयाँ पारिश्रामिक लिने कलाकारहरू नै फिल्म फ्लप हुनुमा बढी जिम्मेवार भएको बताएका छन् ।

उक्त अन्तर्वार्तामा उनले एक कलाकारले बक्स अफिसमा फिल्मले कति कमाई गर्यो भन्नेतिर ध्यान दिन नहुने अभिव्यक्ति दिएका छन् । किनभने त्यसको चिन्ता लिने काम फिल्म निर्माताको भएको उनको तर्क छ । कलाकारले यसरी बक्स अफिसको चिन्ता लिनुलाई उनले सिर्जनामाथिकै अन्तरघातको रूपमा व्याख्या गरेका छन् ।

उनले उक्त अन्तर्वार्तामा भने, ‘टिकट कति मात्रामा बिकिरहेको छ भन्नेबारे एक कलाकारले चिन्ता लिने होइन । बक्स अफिसमा के भइरहेको छ भन्नेबारे चिन्ता गर्ने काम निर्माताको हो । यदि कुनै पनि कलाकारले बक्स अफिस कलेक्सनको कुरा गर्छ भने म त्यसलाई एक क्राफ्ट करप्सनको रूपमा हेर्छु ।’

‘जो कलाकारले सय करोड पारिश्रामिक लिन्छ, कुनै पनि फिल्म फ्लप हुनुमा सबैभन्दा बढी उसकै हात हुन्छ,’ उनले भने, ‘थोरै या सामान्य बजेटमा बनेको फिल्म कहिल्यै फ्लप हुँदैन ।’

उनले पैसा पनि राम्रो स्क्रिप्टकै पछि डौडिने गरेको पनि बताएका छन् । ‘यो एक ऐतिहासिक तथ्य हो कि, पैसा पनि सधैं राम्रो स्क्रिप्टको पछाडि भाग्छ । मसँग एक ट्रिलियन डलर हुन सक्छ । तर, जब मसँग राम्रो कथा छैन भने त्यो पैसा हुनुको कुनै मतलब हुुँदैन । फिल्म उद्योगमा कसैसँग राम्रो स्क्रिप्ट छ भने ठूलो बजेट भएको ब्यानर र निर्माता उसकै पछि लाग्छन् । हामीले राम्रो विचार र सोच्ने क्षमता भएका व्यक्तिलाई मौका दिनुपर्छ ।’

उनी आगामी फिल्म ‘हड्डी’ मा एक ट्रान्स्जेन्डरको भूमिकामा देखिदैं छन् ।