NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

सत्ताको दौडमा प्रचण्ड : गठबन्धन रोज्लान् कि एमाले ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै नयाँ सरकार बनाउन दलहरूबीच दौडधुप चलेको छ । आगामी सरकारको नेतृत्वलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका महामन्त्री गगन थापा र नेता रामचन्द्र पौडेलले भित्रभित्रै तीव्र लबिङ गरिरहेका छन् ।

२७५ सदस्य प्रतिनिधिसभामा योपटक सत्तापक्ष १३६ सिटसहित बहुमत नजिक छ । जसअनुसार कांग्रेसले ८९, माओवादी केन्द्रले ३२, नेकपा एसले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ । सत्तागठबन्धनबाट को प्रधानमन्त्री बन्ने भन्नेमा सत्ता नेतृत्व दल कांग्रेस र सहयात्री दलहरूबीच विवाद देखिन्छ । जनादेशअनुसार सत्तागठबन्धनबाट नै सरकार बनाउन शीर्ष नेताहरू सहमति भएपनि पहिलो चरणमा प्रधानमन्त्री को बन्ने भन्नेमा देउवा र प्रचण्डबीच तीव्र मतभेद छ ।

निर्वाचनपछि निर्णायक तेस्रो शक्ति बन्ने प्रचण्डको सपना असफल भएपछि गठबन्धनकै बलमा पहिलो चरणमा प्रधानमन्त्री बन्ने चाहना देखाएका छन् । संसदमा सानो संख्यासहित तेस्रो दलका नेता भएका प्रचण्डलाई सुरूमै प्रधानमन्त्री बनाउन देउवा तयार नदेखिएका छैनन् । त्यसैले उनी पछिल्लाे समय उनी एमालेसँग नजिकिएका छन् । एमाले अध्यक्ष केपी ओलीको मनस्थिति बुझ्न उनले बुधबार महासचिव देव गुरुङलाई बालकोट पठाएका छन् । ओलीसँगको भेटवार्तामा चुनावी समीक्षा, वामपन्थी एकता र आगामी सरकार गठबनबारे सामान्य छलफल भएको जानकारी दिए ।

‘एमाले र माओवादीबीच सहकार्य नहुँदा यो निर्वाचनमा वामपन्थीले धक्का खाएको हामीले महशुस गर्यौं’, उनले भने, ‘ओलीसँगको भेटमा चुनावी परिणाम र आगामी सरकारबारे सामान्य छलफल भयो । भेटमा उहाँले वामपन्थीकै नेतृत्वमा सरकार बनाउने गरी सहकार्य गर्न प्रस्ताव गर्नुभएको छ । आगामी सरकार गठबनबारे पार्टीभित्र छलफल गरेर एउटा निष्कर्षमा पुग्नेछौं ।’

कांग्रेसको नेतृत्वमा सरकार बन्न नदिने रणनीतिकासाथ एमालेका शीर्ष नेताहरू प्रचण्ड निवास खुमलटार भेटेर लविङ गरिरहेका छन् । प्रचण्ड निवासमा पुगेर भेट गर्नेमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव रघुवीर महासेठ छन् । उनीहरू प्रचण्डलाई बधाई दिने बहानामा एमाले र माओवादीबीच सत्ता सहकार्यका लागि लविङ गरिरहेका छन् । माओवादी पदाधिकारीका एक नेताका अनुसार प्रचण्डले सत्ता गठबन्धन तोडेको खण्डमा प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव एमाले नेताहरूले राखेका छन् । तर प्रचण्डले यसबारे छलफल जारी राख्ने गरी पछि निष्कर्षमा पुग्न सकिने नेताहरूलाई बताएका छन् ।
‘दुई पार्टीबीच शीर्ष तहमा भेट हुनु स्वभाविक हो । पछिल्लो समय ओलीको सन्देश लिएर एमालेका शीर्ष नेताहरू अध्यक्ष प्रचण्डलाई भेट्न आउनुभएको छ । सत्ता सहकार्य गरेको खण्डमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने गरी प्रस्ताव आएका छन् । वामपन्थी एकता र सहकार्यमा हाम्रा अध्यक्ष सकारात्मक भएपनि अहिले नै सत्ता गठबन्धन छोड्ने पक्षमा हुनुहुन्न’, ती नेताले भने ।

यस्तै माओवादीका उपमहासचिव गणेश साहले जनादेशविपरित गठबन्धन तोडेमा माओवादीमाथिको जनविश्वास झनै गुम्ने बताए ।
‘जनादेशविपरित हामीले सत्ता गठबन्धन तोड्न मिल्दैन । गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन हुनुपर्छ । हामीलाई सरकार बनाउने म्याण्डेट जनताले दिएका छैनन् । मेरो विचारमा अहिलेको अवस्थामा एमाले र माओवादीको सहकार्यमा सरकार बन्ने अवस्था छैन’, साहले भने ।

एक सय ५० सिटसहित निर्वाचनपछि एमालको नेतृत्वमा सरकार बनाउने दाबी गरेका ओलीले अपेक्षित नतिजा ल्याउन नसकेपछि गठबन्धनबाट माओवादीलाई अलग्याउने रणनीति बनाएका छन् । निर्वाचनअघि केही स्थानमा राप्रपा र जसपासँग चुनावी तालमेल गरेको एमाले गठबन्धनले जम्मा ७८ सिट जितेको छ । जसअनुसार एमालेको ७८, राप्रपाको १४ र जसपाको १२ सिट गरी जम्मा १०४ सिट जितेको छ । ओलीले बहुमत पुर्याउन न्यूनतम ३४ सिट आवश्यक छ । ओली नेतृत्वमा सरकार बनाउन राप्रपा र जसपासहित गठबन्धन बाहिर रहेका साना दलहरूको आवश्यकता पर्छ ।

गठबन्धन बाहिर रहेका साना दल रास्वपासँग २० सिट छ । यसैगरी जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ३, नेमकिपाको १ र स्वतन्त्रले पाँच सिट जितेको छ । अहिलेसम्म सरकारमा जाने÷नजानेबारे रास्वपाले केही निर्णय गरेको छ । नाउपा र जपा सत्ता गठबन्धनसँग नजिकिएका छन् । पाँचसिट जितेको स्वतन्त्र पनि सत्ता गठबन्धन नजिकै देखिएका छन् ।
यसैगरी जनादेशअनुसार प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा भावि प्रधानमन्त्री बन्ने दौडमा छन् । संसदीय दलको नेता बन्नका लागि यतिबेला उनी आन्तरिक गृहकार्यमा सक्रिय छन् । उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापाले चुनौती दिएका छन् ।

जनादेश र गठबन्धन नेतृत्व दल भएकाले प्रधानमन्त्री देउवाकै नेतृत्वमा आगामी सरकार बन्ने सम्भावन बलियो देखिएको छ । आफ्नै नेतृत्वमा सरकार बनाउने योजनासहित नाउपाका नेता रेशम चौधरी र जपाका अध्यक्ष सीके राउतसँग देउवाले सहयोगीमार्फत् सम्वाद अघि बढाएका छन् । टीकापुर नरसंहारमा आजीवन जेल संजाय भोगेका चौधरीलाई छुटाउन प्रधानमन्त्री देउवाले फौजदारी संहिता संशोधन गर्नका लागि अध्यादेश ल्याएका छन् । जुन अहिले चौतर्फी विवादको घेरामा तानिएको छ ।

यसरी सत्ता गठबन्धन र एमाले गठबन्धन दुवैले बहुमत ल्याउन नसकेपछि भावि प्रधानमन्त्रीलाई लिएर प्रचण्डले सत्ता गठबन्धनभित्रै नेकपा एससँग मोर्चाबन्दी कसेका छन् । सत्ताबाहिर रहेका नाउपा र जपाका नेताहरूसँग छुट्टा–छुट्टै छफफल गरेका छन् । संसदमा निकै कमजोर देखिएका उनले सत्तासमिकरणमा निर्णायक भूमिका देखाउन उपेन्द्र नेतृत्व जसपासँग पनि उनी निरन्तर सम्वादमा छन् । निर्वाचन लगत्तै नेकपा एससँग एकता गर्ने सहमति भएपनि एमाले बाहेको पार्टी एकतालाई लिएर एकीकृत समाजवादीमा तिव्र विवाद भएपछि पार्टी एकता तत्कालका लागि स्थगित भएको छ । प्रचण्डसँग माओवादीको ३२, नेकपा एसको १०, राजमो १ र प्रभु साहसँग २ सिट गरी ४५ सिट रहेको छ । जसपा, जपा र नाउपासँग गठबन्धन गरी उनी थप बलियो हुन चाहिरहेका छन् । सत्तापक्ष विपक्षी एमालेको तानातानमा रहेका प्रचण्डको भूमिकाले आगामी समीकरणमा फेरबदल हुने देखिएको छ ।