NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दलको नेता बन्न एमाले, माओवादी र नेकपा एसमा तीब्र प्रतिस्पर्धा : कुन प्रदेशमा कसको दाबी ?

काठमाडौं । मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनको समानुपातिक सांसद टुंगो लागेसँगै संसदीय दलको नेता बन्न एमाले, माओवादी र नेकपा एसभित्र तीव्र प्रतिस्पर्धा भएको छ । संसदीय दलको नेता भावी मुख्यमन्त्रीको दाबेदार भएकाले नेता बन्न दलहरूभित्र आन्तरिक प्रतिस्पर्धा चुलिएको हो । निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित सदस्यहरूको नामावली राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएपछि दलका नेता छान्न राजनीतिक दलहरू यतिबेला आन्तरिक गृहकार्यमा व्यस्त छन् ।

कुन प्रदेशमा कसको दाबी ?

प्रदेश १
४० सिटसहित प्रदेश १ मा पहिलो दल भएको एमालेभित्र दलको नेता बन्न झापा–१(१) का प्रदेश सभा सदस्य हिक्मतकुमार कार्की र ताप्लेजुङ १(१) का तिलकुमार मेन्याङ्बोबीच प्रतिस्पर्धा भएको छ । कार्की प्रदेश १ का पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य हुन् । मेन्याङ्बो एमाले पोलिटब्यूरो सदस्य हुन् । उनी योपटक प्रतिनिधिसभा सदस्यको प्रमुख दाबेदार थिए । तर पूर्वमन्त्री तथा केन्द्रीय सचिव योगेश भट्टराई नै दोहोरिन चाहेपछि उनलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने शर्तमा अध्यक्ष ओलीले प्रदेश सभा सदस्यको टिकट दिएका थिए । कार्कीको संसदीय दलको नेता बन्ने चाहनामाथि मेन्याङबो प्रमुख चुनौती बनेका छन् ।

यसैगरी १३ सिट जितेको माओवादी केन्द्रबाट संसदीय दलको नेताको प्रमुख दाबेदारमा इन्द्रबहादु आङ्बो रहेका छन् । उनी प्रदेश १ का पूर्वअर्थमामिला मन्त्रीसमेत हुन् । त्यस्तै नेकपा एसबाट मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रकुमार राई संसदीय दलका नेता मुख्य दाबेदार हुन् ।

मधेश प्रदेश

मधेश प्रदेशमा एमालेका रामचन्द्र मण्डल(धनुषा), सरोजकुमार यादव(महोत्तरी) र राजकुमार लेखी(सप्तरी)ले दलको नेता बन्न आकांक्षा देखाएका छन् । तीनै जना प्रत्यक्ष निर्वाचित सदस्य हुन् । तीन जनामध्ये मण्डल संसदीय दलको नेता बन्ने सम्भावना बलियो छ । निर्वाचनको मुखमा माओवादीबाट एमाले प्रवेश गरेका मण्डलाई मुख्यमन्त्री बनाउने आश्वासनसहित उनलाई ओलीले टिकट दिएका थिए । मण्डललाई यादव र लेखीले चुनौती दिएका छन् । मधेश विरोधी दलको रुपमा अघिल्लो निर्वाचनमा पाँचौं दल भएको एमाले योपटक २३ सिटसहित पहिलो दल बन्न सफल भएको छ ।

यसैगरी माओवादी केन्द्रबाट भरतप्रसाद साह(महोत्तरी) प्रमुख दाबेदार रहेका छन् । नेकपा एसबाट प्रमोदकुमार यादव(सिराह) र गोविन्दबहादुर न्यौपाने(सप्तरी)ले दलको नेता बन्ने आकांक्षा देखाएका छन् ।

बागमती प्रदेश

संघीय राजनधानीसमेत रहेको बागमतीमा एमालेबाट मुख्यमन्त्रीको दाबीसहित निर्वाचनमा होमिएका पूर्वसभामुख सानु श्रेष्ठ र पूर्वमन्त्री रामेश्वर फुयाल पराजित भएपछि जगन्नाथ थपलिया दलको नेता बन्ने सम्भावना बलियो रहेको छ । उनी एमाले केन्द्रीय सदस्यसमेत हुन् । बागमतीमा एमालेबाट २७ जना निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट आर्थिक मामिलामन्त्रीसमेत रहेका शालिकराम जमकट्टेल दलका नेतामा सर्वसम्मत उम्मेदवार हुन् । उनलाई माओवादीले भावी मुख्यमन्त्रीको रुपमा प्रदेशसभामा पठाएको हो । धादिङ–१ बाट प्रतिनिधिसभा सदस्य दाबी गरेका उनले भागबण्डामा मुख्यमन्त्री तथा नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले टिकट पाएपछि जमकट्टेल प्रदेशसभा सदस्य नै उठेका हुन् । यहाँ माओवादी केन्द्रका २१ जना निर्वाचित छन् । ९ सिट जितेको नेकपा एसबाट चितवनका कृष्णप्रसाद खनाल संसदीय दलको नेताका दाबेदार हुन् । उनी पूर्वमन्त्रीसमेत भइसकेका छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा एमालेका संगठन विभाग प्रमुखसमेत रहेका खगराज अधिकारी संसदीय दलका प्रमुख दाबेदार हुन् । पूर्वमुख्यमन्त्री तथा एमाले उपमहासचिव रहेका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीको दाबीसहित प्रदेश सभा सदस्य बन्न चाहेका थिए । तर अधिकारीले नमानेपछि ओलीले गुरुङलाई प्रतिनिधिसभा सदस्यमा पठाएका थिए । गण्डकीमा एमालेले २२ सिट जितेको छ । ८ सिट जितेको माओवादी केन्द्रको संसदीय दलको नेता बन्न हरिबहादुर चुमान प्रतिस्पर्धामा छन् ।

लुम्बिनी प्रदेश

लुम्बिनीमा एमाले संसदीय दलको नेताका लागि विष्णु पन्थी र लीला गिरीबीच प्रतिस्पर्धा छ । पन्थी महासचिव शंकर पोखरेल निकट हुन् । पोखरेलले पन्थीलाई दलको नेता बनाउन खोजेका छन् । उनलाई गिरीले चुनौती दिएका छन् । उनी उपाध्यक्ष विष्णु पौडेल निकट हुन् । लुम्बिनीमा एमालेबाट २९ जना निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट दलको नेता बन्न माओवादी अध्यक्ष प्रचण्डका पूर्वस्वकीय सचिवसमेत रहेका जोखबहादुर महरा प्रतिस्पर्धामा छन् । उनलाई धनबहादुर मास्कीले चुनौती दिएका छन् । यो प्रदेशमा माओवादी केन्द्रले ९ सिट जितेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा एमालेबाट स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज यामलाल कँडेल प्रमुख दाबेदार छन् । अघिल्लोपटक मुख्यमन्त्री बन्न उनी तीन पटकसम्म प्रयास गर्दासमेत असफल भएका थिए । योपटक दलको नेता बन्न प्रदेश अध्यक्ष विनोदकुमार शाहले कँडेललाई चुनौती दिएका छन् । कर्णालीमा एमालेका १० सांसद रहेका छन् ।

यसैगरी माओवादी केन्द्रमा दलको नेताका लागि पूर्वआर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र रुकुम पश्चिमबाट निर्वाचित सांसद राजकुमार शर्माबीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । यो प्रदेशमा माओवादी केन्द्रका १३ सांसद निर्वाचित छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमा १० जना सांसद निर्वाचित भएको एमाले संसदीय दलका नेतामा प्रदेश सचिव राजेन्द्रबहादुर रावलको दाबी रहेको छ । उनी समानुपातिकबाट निर्वाचित सांसद हुन् । माओवादी केन्द्रबाट डडेलधुराबाट निर्वाचित खगराज भट्ट संसदीय दलको नेता बन्ने बलियो सम्भावना छ । उनी स्थायी समिति सदस्यसमेत हुन् । यो प्रदेशमा माओवादीका ११ सांसद निर्वाचित छन् । नेकपा एसबाट मन्त्रीसमेत रहेका दीर्घराज सोडारीको सम्भावना छ ।