NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सत्ता समीकरणका चार विकल्प : कसले मार्ला बाजी ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी परिणामको अन्तिम नतिजा आएसँगै सरकार बनाउन सत्तापक्ष र प्रतिपक्षी एमाले आन्तरिक गृहकार्यमा जुटेका छन् ।

सत्ता नेतृत्व दल कांग्रेसले संसदीय दलको निर्वाचन, सरकार गठनलगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

विपक्षी एमालेले सत्ता गठबन्धनको गतिविधि हेरेर आन्तरिक रणनीति बनाउने तयारीमा छ । सरकार गठनको विषयमा कांग्रेस र माओवादीबीच हुन सक्ने सम्भावित विवादलाई लिएर वैकल्पिक समीकरणको खोजीमा लागेको छ ।

एमालेले शक्ति बाँडफाँटमा कांग्रेस र माओवादीबीच तिक्तता देखिए आफ्नै नेतृत्वमा सरकार गठन गर्ने आन्तरिक रणनीति बनाएको छ । निर्वाचनअघि जसपालाई गठबन्धनबाट बाहिर ल्याउन सफल भएको एमालेले अहिले सत्ता गठबन्धन भत्काउन शीर्ष नेताहरू निकै सक्रिय रहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सहयोगीमार्फत् माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेका छन् । पहिलो चरणमा सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सत्ता गठबन्धन दल कांग्रेस र माओवादीबीच विवाद छ । आलोपालो सरकारको नेतृत्व लिनेगरी निर्वाचनमा होमिएको गठबन्धनले अपेक्षाकृत नतिजा नआएपछि प्रधानमन्त्री बन्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष प्रचण्डबीच अघोषित द्वन्द्व देखिएको हो । यसकै फाइदा उठाउँदै गठबन्धन भत्काउन ओली निकै सक्रिय देखिएका छन् ।

माओवादी र नेकपा एसले सत्ता गठबन्धन भत्काएको खण्डमा शक्ति बाँडफाँतटमा लचिलो बन्न सकिने सन्देश ओलीले सहयोगीमार्फत् प्रचण्ड–माधवकहाँ पुर्याएका छन् । वैकल्पिक सत्ता समीकरणको विषयमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठलगायतले प्रचण्डसँग छलफल गरिरहेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङलेसमेत अध्यक्ष ओलीसँग भेटघाट गरिसकेका छन् ।

भेटको क्रममा वैकल्पिक सत्ता समीकरण, सरकार गठन, शत्ता बाँडफाँटलगायत विषयमा छलफल भएको एमालेका एक उच्च नेताले स्वीकार गरेका छन् ।

‘विगतका तिक्तता विर्सेर वामपन्थीबीच सहकार्य र एकताका लागि सबै विकल्पमा छलफल गरेका छौं । सत्ता गठबन्नधनमा कांग्रेस र माओवादीबीच देखिएको विवादले गठबन्धनको नेतृत्वमा सरकार बन्ने हामीले देखेका छैनौं’, पदाधिकारीका एक नेताले भने, ‘सत्ता गठबन्धनबाट माओवादी र नेकपा एस बाहिरिएको खण्डमा उहाँहरूसँग सत्ता सहकार्य हुन सक्छ । वैकल्पिक सत्ता समीकरणको विषयमा छलफल जारी राख्ने गरी हामीले भेटवार्तालाई निरन्तरता दिएका छौं ।’

सत्ता समीकरणको विकल्पमा माओवादीका अध्यक्ष प्रचण्डसमेत सकारात्मक देखिएका छन् । पहिलो विकल्प गठबन्धनकै सहयोगमा उनी पहिलो चरणमा प्रधानमन्त्री बन्न चाहेका छन् । त्यसका लागि प्रधानमन्त्री देउवालाई दबाबमा राख्न पछिल्लो समय सहयोगीमार्फत् ओलीसँग नजिकिएका छन् । ओलीको मनस्थिति बुझ्नका लागि प्रचण्डले बिहीबार महासचिव गुरुङलाई ओली निवास पठाइसकेका छन् ।

गुरुङले ओलीसँगको भेट दुई पार्टीबीचको सम्बन्ध सुधार र वामपन्थीबीचको सहकार्यका लागि सकारात्मक भएको बताएका छन् ।

‘भेटको क्रममा ओलीजीले विगतका तिक्तता विर्सेर सहकार्य गरौं भन्नुभएको छ । उहाँले गठबन्धनबाट बाहिरिएको अवस्थामा शक्ति बाँडफाँट हुन सक्ने संकेत गर्नुभएको छ । तत्काल गठबन्धन तोड्ने अवस्थामा हामी छैनौं,’ उनले भने ।

तर अहिलेकै अवस्थानमा एमालेसँग सहकार्य हुन नसक्ने एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला बताउँछन् ।

‘अलिहेको निर्वाचनले वामपन्थी एकता र समग्र कम्युनिस्ट आन्दोलनको बारेमा प्रष्ट जनमत दिएको छ । वामपन्थीबीच एकता र सहकार्यको कुनै विकल्प छैन’, उनले भने, ‘तर अहिलेकै अवस्थामा एमालेसँग सहकार्य हुने अवस्था छैन । जुन विषमा एमालेसँग हाम्रो असहमति छ, त्यसमा ओली प्रष्ट नभएसम्म तत्काल सहकार्य हुँदैन ।’

सत्ता नेतृत्वको विषयलाई लिएर कांग्रेसभित्रै तीव्र मतभेद रहेको छ । प्रधानमन्त्री देउवा गठबन्धनको सहयोगमा छौटौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । उनलाई महामन्त्री थापा, नेताद्वय पौडेल र कोइरालाले चुनौती दिएका छन् । संसदीय दलको निर्वाचन, सरकार गठन लगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन देउवालाई दबाब दिएका छन् । दलको नेताको निर्वाचनम देउवाविरुद्ध उम्मेदवारी दिने तयारी थापा, पौडेल र कोइरालाले गरेका छन् । सत्तारुढ घटक माओवादी सत्ता गठबन्धन वा एमाले जोसँग सहकार्य गरेपनि पहिलो चरणमै सरकारको नेतृत्व लिन चाहिरकेको छ । शक्ति बाँडफाँटमा प्रधानमन्त्री देउवाले सम्मानजनक व्यवहार नदेखाए एमालेसँग सहकार्य गर्ने तयारी प्रचण्डले गरेका छन् । विपक्षी एमाले सत्ता गठबन्धनबाट माओवादी नबाहिरिए गठबन्धन दलका बाहिरबाट भएपनि सरकार गठन गर्ने तयारी ओलीले गरेका छन् । त्यसकै तयारीका लागि शनिबार ओलीले रास्वपाका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । निर्वाचन जितेकोमा शुभकामाना आदानप्रदानका लागि भेट भएको लामिछानेले बताएपनि सत्ता समीकरण र सरकार गठनबारे सामान्य छलफल भएको स्रोतको दाबी छ । २० सिट रहको रविको पार्टी सरकार गठनका लागि निर्णाय शक्ति बन्ने देखिन्छ ।

शक्ति बाँडफाँटमा माओवादीले ठूलो हिस्सा खोजे राजनीतिक स्थायीत्व र स्थायी सरकारका लागि एमालेसँग सहकार्य गर्नुपर्ने मत कांग्रेसभित्र बढ्दै गएको छ । विशेष गरी कांग्रेसभित्र कोइराला पक्षधर माओवादीसँग भन्दापनि एमालेसँग सत्ता सहकार्य गर्नुपर्ने पक्षमा रहेका छन् ।
सत्ता समीकरण चार विकल्प

१. देउवा–प्रचण्ड गठबन्धन

यी सबै परिदृष्यले आगामी सत्ता समीकरणमा चार विकल्प देखिएका छन् । संविधानको धार ७६ को उपधारा १ बमोजिम कसैको पनि बहुमत नआएकोले सत्ता गठबन्धन र एमालेबीच सरकार गठनका लागि आ–आफ्नै रणनीति बनाइरहेका छन् ।

निर्वाचनमा व्यक्त भएको जनादेश अनुसार सत्ता गठबन्धन बहुमत नजिक रहेकाले देउवाकै नेतृत्वका सरकार बन्ने सम्भावना बलियो देखिएको छ । अहिलेकै गठबन्धनलाई निरन्तरता दिँदै शक्ति बाँडफाँट गरी सरकार गठन गर्ने तयारी देउवाको छ ।

गठबन्धन दलहरूमा कांग्रेस ८९ सिटसहित पहिलो पार्टी भएको छ । दोस्रोमा रहेको माओवादीको ३२ सिट छ । यसैगरी नेकपा एसले १०, लोसपाले ४ र राजमोले एक सिट जितेको छ । यी सबैले पाएको मत जोड्दा गठबन्धनसँग १३६ सिट रहेको छ । २७५ सदस्यीय प्रतिनिधिसभा रहेको बहुतका लागि गठबन्धनलाई थप दुई सिट आवश्यक पर्छ । त्यसका लागि गठबन्धनको सहयोगमा निर्वाचित प्रभु साहको २ सांसदको समर्थन रहने सम्भावना देखिन्छ । त्यसबाहेक सीके राउतको पार्टी जपा र रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी सत्तापक्षसँग नै नजिक देखिएकाले उनीहरूको समर्थन देउवालाई रहने सम्भावना बलियो छ । नाउपा र जपाको समर्थन पनि देउवालाई भएमा गठबन्धनसँग १४७ सांसद रहनेछन् ।

तर त्यसका लागि जेलमा रहेका नेता तथा कार्यकर्ता रिहाइ गर्नुपर्ने शर्त उनीहरूले अघि सारेका छन् । यी दुई पार्टीको मन जित्नकै लागि देउवा सरकारले अपराधसंहिता संशोधनका लागि संशोधन अध्यादेश ल्याएको छ, जुन अहिले चौतर्फी विवादमा तानिएको छ ।

२.एमाले गठबन्धन

दोस्रो विकल्पमा देउवा नेतृत्वमा सरकार बन्न नदिन एमालेले रास्वपासँग सहकार्य गर्न सक्ने विकल्प देखिएको छ । सरकारको नेतृत्वको विषयमा देउवा र प्रचण्डको विवादमा खेल्न खोजेको एमालेले माओवादी र नेकपा एस सत्ता गठबन्धनबाट नबाहिरिएको अवस्थामा देउवालाई रोक्न ओलीले रवि कार्ड खेल्न सक्छन्, जुन आफ्नै निवासमा रविसँग भेट गरेर ओलीले त्यसको संकेत दिइसकेका छन् । रविले अनौपचारिक रुपमा सत्ता सहकार्यका लागि आफू तयार रहेको बताउँदै आएका छन् । निर्वाचन अघि केही सिटमा राप्रपा र जसपासँग सहकार्य गरेका ओलीसँग अहिले १०४ सिट रहेको छ । उसलाई बहुमतका लागि थप ३४ सिट आवश्यक पर्छ । बहुमतका लागि गठबन्धन बाहिर रहेका साना दल रास्वपा, जपासहित सत्ता गठबन्धनमा रहेका नेकपा एसको सहयोग आवश्यक पर्छ । ओलीले सत्ता सहकार्य र शक्ति बाँडफाँटका लागि सहयोगीमार्फत् नेकपा एसका शीर्ष नेताहरूसँग सम्पर्क बढाएका छन् । पछिल्लो समय एमालेसँग सहकार्य गर्न नेकपा एसभित्र खनाल पक्षले दबाब बढाइरहेका छन् । स्थानीय तह निर्वाचनबाट नै कांग्रेससँग रुष्ट भएका खनाल समूह एमालेसहितको वामपन्थी सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । यदि नेकपा एसले एमालेसँग सहकार्य गर्न तयार भए एमाले गठबन्धनसँग १४४ सिट पुग्नेछ । जसअनुसार एमालेको ७८, राप्रपाको १४, जसपाको १२, रास्वपाको २०, नेकपा एस १०, लोसपा ४ र जपाको ६ सिट रहेको छ ।

३.कांग्रेस–एमाले गठबन्धन

तेस्रो विकल्पमा कांग्रेस–एमाले गठबन्धन सरकार बनाउनेमा दुवै दलमा मत बलियो बन्दै गएको छ । चुनावी जनादेश हेर्दा एमालेलाई प्रमुख प्रतिपक्षीको भूमिका दिएपनि दलहरूबीच शक्ति बाँडफाँटमा देखिएको किचलोका कारण कांग्रेस र एमालेको सरकार बन्ने सम्भावानालाई नकार्न सकिँदैन । राजनीतिक स्थायीत्व र स्थायी सरकारका लागि दुई दल मिल्नुको विकल्प नभएको स्वयम कांग्रेस–एमालेकै नेताहरू बताउन थालेका छन् ।

कांग्रेस नेता तथा गुल्मी–१ बाट निर्वाचित सांसद डा. चन्द्र भण्डारी सत्ता साझेदार साना दलहरूको बार्गेनिङमा फस्न नहुने बताउँछन् ।
‘राजनीतिक स्थायीत्वका लागि बलियो सरकार आवश्यक पर्छ । सत्तापक्ष र विपक्षी गठबन्धन दुवैलाई जनताले बहुमत नदिएकाले बलियो सरकारका लागि कांग्रेसले एमालेसँग सहकार्य गर्नुपर्छ । माओवादीको अनावश्यक बखेडामा कांग्रेस फस्नु हुँदैन’, भण्डारीले भने ।
एमाले महासचिव शंकर पोखरेल पनि माओवादीसँग भन्दा कांग्रेससँग मिलेर सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य गोकुल बास्कोटा, पोलिटब्युरो सदस्य सूर्य थापालगायत नेताहरूको मतपनि कांग्रेसँग सहकार्य हुनेपर्नेमा देखिन्छ । यो विकल्पमा गएको खण्डमा माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल हुनेछ । कांग्रेस र एमालेको बलियो सरकार बन्ने देखिन्छ । जसमा कांग्रेससँग ८९ र एमालेसँग ७८ गरी १६७ सिट रहेको छ ।

४.एमाले–माओवादी गठबन्धन

चौंथो विकल्पमा देउवालाई प्रधानमन्त्री बन्न नदिन एमाले र माओवादीबीच सत्ता समीकरण बन्न सक्छ । यो गठबन्धन बनाउन दुवै तर्फका शीर्ष नेताहरूबीच विभिन्न चरणमा छलफल जारी छ । माओवादी–नेकपा एसले सत्ता गठबन्धन तोडेमा शक्ति बाँडफाँट र सरकार गठनमा आफू लचिलो बन्न सक्ने संकेत आफ्ना दुतमार्फत् प्रचण्ड–माधवलाई पठाएका छन् । एमालेसहितको वामपन्थी सरकार बनाउन माओवादी र एकीकृत समाजवादीभित्र मत बलियो बन्दै गइरहेको छ । वामपन्थी सरकार बनाउन पर्ने भन्दै एमालेमा अहिले उपाध्यक्ष द्वय विष्णु पौडेल, सुवासचन्द्र नेम्बाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायत नेताहरू सक्रिय छन् । त्यसका लागि उनीहरू माओवादी र नेकपा एसका शीर्ष नेताहरूसँग निरन्तर छलफलमा छन् । तर माओवादी र नेकपा एसभित्र गठबन्धन तोड्न नहुने पक्ष बलियो छ । उनीहरू वामपन्थी सरकार बनाउ सकारात्मक देखिएपनि सत्ता गठबन्धन तोड्नु जनादेश विपरितहुने तर्क गर्दै आएका छन् । माओवादी केन्द्रका उपमहासचिव गणेश साहले अहिले नै एमालेसँग सत्ता सहकार्य हुने सम्भावना देखेका छैनन् ।

‘निर्वाचनमा प्राप्त जनादेश माओवादीको नेतृत्वमा सरकार बनाउने छैन । गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने जनमत पनि दिएको छैन’, साहले भने, ‘अहिलेको जनादेश भनेको सत्ता गठबन्धनलाई नै निरन्तरता दिने हो । जनादेश विपरित हामीले गठबन्धन तोडेमा माओवादी सकिन्छ ।’

नेकपा एसभित्र पनि माधव पक्ष गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा छन् । अहिले नै एमालेसँग कुनै सहकार्य नुहने उनीहरूको भनाइ छ । तर सत्ता सहयात्री दललाई कांग्रेसले व्यवास्ता गरेको खण्डमा विकल्प भने नकार्न नसकिने उनीहरूको तर्क छ । यदि एमाले र माओवादीबीच सहकार्य भएमा सिट संख्या १४६ पुग्छ । जसमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १० सिट छ । राप्रपाले सत्ता सहकार्य गर्न नचाहेको खण्डमा विकल्पमा जपा, नाउपा र स्वतन्त्रसहितको सरकार बन्ने सम्भावन देखिन्छ ।