NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेपाल र श्रीलङ्काबीच पारस्परिक सहयोग र सहकार्यमा जोड

काठमाडाैं । नेपाल र श्रीलङ्काबीच आपसी सहयोग र सद्भाव वृद्धि गरी द्विपक्षीय सम्बन्ध विस्तारमा ध्यान दिइनुपर्ने बताइएको छ ।

नेपाल र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध कायम भएको ६५औँ वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलङ्काली दूतावास र नेपाल विश्व सम्बन्ध परिषद्द्वारा  आयोजित कार्यक्रममा वक्ताहरूले पारस्परिक सहयोग र सहकार्यका आधारमा सम्बन्ध विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असंलग्न आन्दोलनका संस्थापक राष्ट्र नेपाल र श्रीलङ्काबीच पर्यटन, कृषि, शिक्षा, स्वास्थ, व्यापार, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सहयोग र सहकार्यको सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिन कूटनीतिज्ञहरूले सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले धार्मिक तथा सांस्कृतिक दृष्टिले सुमधुर सम्बन्ध रहेको नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई आर्थिक तथा सामाजिक गतिविधिसँग जोड्दै जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने समय आएको बताए । नेपालको शिक्षा, स्वास्थ्य, पुनर्निमाणलगायतका क्षेत्रमा श्रीलङ्ककाको महत्त्वपूर्ण सहयोग रहेको चर्चा गर्दै मन्त्री डा खड्काले आउँदा दिनमा दुई देशबीचको सहयोग र सहकार्यलाई जोड दिई जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने खाँचो आँैल्याउए ।

नेपालका लागि श्रीलङ्काली राजदूत हिमाली सुभाशिनी अरुणातिलकाले अधिकांश जनता बौद्ध धर्मावलम्बी रहेको श्रीलङ्काको बुद्धको जन्मस्थल नेपालप्रति अगाध आस्था र विश्वास रहेको चर्चा गर्दै कूटनीतिका साथ आर्थिक सम्बन्ध विस्तारमा जोड दिई दुई देशका जनता लाभान्वित हुनसक्नुपर्ने धारणा व्यक्त गरे ।।

नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल र श्रीलङ्काबीचको सम्बन्धलाई सरकारका साथ जनस्तरमा समेत पु¥याउनुपर्नेमा जोड दिए ।

पूर्वपरराष्ट्र सचिव एवं श्रीलङ्काका लागि पूर्वनेपाली राजदूत डा दुर्गाप्रसाद भट्टराईले सार्क मुलुकको सबैभन्दा सबल राष्ट्र श्रीलङ्कासँग व्यापार, जलविद्युत्, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्नसकिने सम्भावना रहेको धारणा व्यक्त गरे ।