NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेस संस्थापनबाट देउवा एक्ला दाबेदार, पछि हटे रामचन्द्र, शशांक र प्रकाशमान

काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक्ला दाबेदार भएका छन् । आकांक्षी देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह उम्मेदवारीबाट लगभग पछि हटेका छन् ।

देउवानिकट नेता एनपी साउदले संस्थापनबाट सभापति देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयासमा प्रगति भएको बताए । ‘सभापति संसदीय दलको नेतामा लड्नुहुन्छ, संस्थापनबाट अरू कुनै नेताले घोषित रूपमा आकांक्षा राख्नुभएको छैन,’ उनले भने, ‘सबैको चाहना सभापति सर्वसम्मत हुँदा पार्टीलाई फाइदा हुन्छ भन्ने नै छ ।’

संस्थापनबाट आकांक्षा राखेकामध्ये वरिष्ठ नेता पौेडेलले पनि आफू उम्मेदवार बन्ने–नबन्ने टुंगो लागिनसकेको बताए । ‘अहिलेसम्म टुंगो लागिसकेको छैन । साथीहरूसँग छलफल गरिरहेको छु,’ उनले सोमबार साँझ नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै भने ।

शशांक कोइरालाले पनि सभापति देउवा नै संसदीय दलको नेतामा उपयुक्त हुने अभिव्यक्ति दिँदै आएका छन् । नेता प्रकाशमान सिंह सभापति देउवासँग निरन्तर छलफलमा छन् । सिंहनिकट स्रोत भन्छ, ‘उहाँले कुनै तयारी गर्नुभएको छैन । उहाँ सभापतिज्यूसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । सभापतिज्यू लड्ने अवस्थामा उहाँलाई नै सघाउने मनस्थितिमा हुनुहुन्छ ।’

सभापति देउवा तीनैजना नेतासँग उनीहरूको व्यवस्थापनलाई लिएर संवादमा छन् । सभापति देउवा आकांक्षी नेता र सांसदसँग छलफल गरिरहेका छन् । ‘महत्वपूर्ण नेता र सबै सांसदसँग भेटघाट र सम्पर्कमा हुनुहुन्छ,’ साउदले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।