NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रचण्डकै पक्षमा एकीकृत समाजवादी

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा एकीकृत समाजवादी देखिएको छ । कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका बेला एकीकृत समाजवादीले गठबन्धन जोगाउन दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा ल्याएको हो ।

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले माओवादीलाई एमालेसँग सहकार्यमा जान बाध्य पार्नु दुर्भाग्य हुने बताए । ‘माओवादीले एमालेतिर जान हलचल गरिरहेको छ । वामपन्थी सरकार बन्न सक्दैन, अहिले यही गठबन्धनको निरन्तरता हुनुपर्छ भन्ने सन्देश हाम्रो अध्यक्षले दिनुभएको छ’, उनले कान्तिपुरसँग भने ।

उपमहासचिव तुलाधरले आफ्नो पार्टीसँग प्रभावशाली शक्ति नभए पनि कांग्रेस र माओवादीलाई सम्झाउने भूमिका रहेको उल्लेख गरे । कांग्रेसमा शासकीय कुशलता व्यापक रूपमा उठिरहेको प्रसंग उल्लेख गर्दै उनले थपे, ‘कांग्रेसले ठन्डा दिमागले सोचे हुन्थ्यो । पार्टीमा शेरबहादुर देउवाबाहेक दोस्रो तहको कसैलाई नेतृत्व दिन संस्थापन पक्ष तयार नभइरहेको अवस्थामा बरु दोस्रो आधा कार्यकाल कांग्रेसले लिएर पहिला प्रचण्डजीलाई दिन उपयुक्त हुन्छ । एउटा आत्तिएर अर्कोतिर जाने, अर्कोले यो केही पनि होइन, जेसुकै होस् भन्ने स्थिति बन्नबाट जोगाउनुपर्छ ।’

एमालेसहितका दलसँग मिलेर सरकार बनाउने विकल्पसमेत खुला राखेर दाहालले संवाद बढाएपछि एकीकृत समाजवादीले त्यसलाई रोक्ने रणनीति लिएको हो । सहकार्यका विषयमा एमाले र माओवादीबीच अनौपचारिक संवाद मात्रै भएको छ । दाहालको पहिलो जोड यही गठबन्धनबाट सरकारको नेतृत्व गर्ने रहे पनि देउवासँग सहमति हुन नसक्ने अवस्थामा एमालेसँग सहकार्य हुन सक्ने संकेत उनले दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिशोधपूर्ण राजनीति गरिरहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा, स्थायित्व र समृद्धिका लागि भन्दै अहिलेकै गठबन्धनबीच दीर्घकालीन सहकार्य हुनुपर्नेमा जोड दिइरहेका छन् । गठबन्धनमा रहेका दलहरूबीच ‘भोट ट्रान्सफर’ नहुँदा अपेक्षाकृत नतिजा नआए पनि समग्रमा गठबन्धनकै पक्षमा जनादेश आएको र यसको निरन्तरता अहिलेको आवश्यकता रहेको नेपालको भनाइ छ । ‘अहिले वामपन्थी सरकारको कुरा आएको छ, त्यो अलमल्याउने काम मात्रै हो । त्यसको सम्भावना छैन । यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ,’ नेपालले भनेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष