NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सहकारीद्वारा सहुलियतमा घर

झापा । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको छ ।

सस्थाले विशेष गरी न्यून आय भएका सदस्यलाई सो सहयोग गरेको हो ।  संस्थाका अध्यक्ष नारायण भट्टराईले संस्थाका सदस्यलाई एकै ठाउँमा घर बनाएर हस्तान्तरण गर्न लागिएको बताए । दमक–४ मा रहेको एक बिघा १८ कट्ठा जग्गामा ५७  आवास निर्माण गरी हस्तान्तरणको तयारी गरिएको छ ।

संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालले मेची आवासमा सदस्यका लागि घर निर्माण अन्तिम चरणमा पुगेको बताए । त्यहाँ बस्नका लागि मेची सहकारीकै सदस्य बन्नुपर्नेछ । कम्तीमा १० धुरदेखि बढीमा १३ धुर सम्मका जग्गामा घर बनिरहेका छन् । रु ४३ लाखदेखि अधिकतम ५१ लाख सम्मका घर छन् ।

संस्थाका सूचना अधिकारी चन्द्र थापाका अनुसार सहकारीमार्फत घर निर्माण गरी एकै ठाउँमा सदस्यलाई राख्न लागिएको हो । यो परियोजना कूल रु २५ करोड खर्च गरिहेको छ ।

संस्थाका अध्यक्ष भट्टराईले सामूहिक रुपमा निर्माण गरिएको आवासमा खुला ठाउँ, बाल उद्यान सहितका सुविधा सदस्यहरुले पाउने जानकारी दिए । उनका अनुसार प्रत्येक घर एक हजार ७५ वर्ग मिटरका रहनेछन् । सबै घर एकै प्रकृतिबाट निर्माण गरिएको छ । संस्थाका अनुसार ५६ वटा घर बिक्री भइसकेका छन् भने एउटा घर कार्यालय प्रयोजनका लागि राखिएको छ । सहकारीमा  १४ हजार एक सय ३२  सदस्य  रहेका छन् ।