NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

परम्परागत नेपाली खानालाई प्रवर्द्धन गराउनुपर्नेमा जोड

काठमाडौं । परम्परागत नेपाली खानालाई देश तथा विदेशमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

भिक्स मिडिया एण्ड टेक्नोलोजी प्रालिले आज लाजिम्पाटस्थित हिमालय होटलमा आयोजना गरेको ‘द भ्वाइस अफ सेफ्स’ कार्यक्रमका वक्ताले परम्परागत खानालाई देश तथा विदेशमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

विविसी मास्टर सेफ्स सन्तोष शाहले नेपाली खानालाई विश्वमाझ फैलाउन नेपाली सेफ्सकै महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । ‘नेपाली खानालाई देशका सातै प्रदेश र विदेशमा प्रवर्द्धन गर्नुपर्छ’, उनले भने ।

सेफ्स एशोसियशन अफ नेपालका अध्यक्ष श्यामबहादुर लामाले नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन सानादेखि तारे होटलसम्म नेपाली खानाको ‘मेनु’ राख्नुपर्ने सुझाव दिए । नेपालको आन्तरिक हवाई उडानमासमेत नेपाली खानालाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो । ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले रैथाने खाना प्रवद्र्धनमा होटल व्यवसायी र सेफ्सको महत्वपूर्ण भूमिका हुने बताए ।

वरिष्ठ सेफ्स दोर्जे शेर्पाले नेपाली परम्परागत एवं मौलिक खानामार्फत पर्यटन प्रवर्द्धन गर्न नेपाली सेफहरुले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा वरिष्ठ सेफ्स केदार सिलवाल, सन्तोष शाहलगायत एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।