NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

चीनमा BF.7 ले तबहा, ‘१३–२१ लाख मानिसको ज्यान जोखिममा’

काठमाडौं । चीनमा कोरोनाभाइरसको संक्रमण दर फैलिन थालेपछि सारा विश्वको चिन्ता बढाएको छ । केही सञ्चारमाध्यमले चीनमा हरेक हप्ता हजारौं मानिसको ज्यान गइरहेको जनाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि कोरोनासँग सम्बन्धित तथ्याङ्कलाई लिएर चिन्ता व्यक्त गरेको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार कोरोना महामारीको उत्पत्ति राम्रोसँग बुझ्नको लागि अनुरोध गरिएको डाटा सेयर गर्न चीनलाई आग्रह गरे ।

डब्ल्यूएचओ प्रमुख गेब्रेयससले पत्रकार सम्मेलनमा कोभिड–१९ पछिको अवस्था हाम्रो बुझाइभन्दा बाहिर भएको र सङ्क्रमणको दीर्घकालीन नतिजा भोग्ने मानिसहरूलाई कसरी उपचार गर्ने भन्ने कुरामा गम्भीरता नदेखिएको बताए । उनले यो महामारी कसरी सुरु भयो भन्ने बुझ्न सही तथ्यांक आवश्यक रहेको पनि दोहोर्याए ।

‘हामीले चीनलाई तथ्याङ्क सेयर गर्न अनुरोध गरेका छौं,’ उनले भने ।

टेड्रोसले चीनमा कोरोनाजस्ता गम्भीर रोगको बढ्दो विकासबारे पनि चिन्ता व्यक्त गरे ।

भेरियन्ट बिएफ. ७ ले चीनमा कहर सिर्जना गरेको छ र मृत्यु हुनेको संख्या बढ्दै गएको छ। बुधबार पनि चीनको अवस्था सामान्य देखिएन । बेइजिङको शवगृहबाट शवहरू हतारमा मुर्दाघरमा लगिएको थियो । मृत्यु हुनेको संख्या बढ्न थालेपछि सहरका अन्य खाली मैदानलाई पनि अन्त्येष्टि स्थलका रूपमा प्रयोग गर्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१३ देखि २१ लाख मानिसको ज्यान जोखिममा

बेलायतस्थित ग्लोबल हेल्थ इन्टेलिजेन्स एण्ड एनालिटिक्स फर्मले चीनमा कोरोना संक्रमणको बदलिँदो अवस्थाबारे नयाँ विश्लेषण प्रस्तुत गरेको छ । चीनमा हाइब्रिड इम्युनिटीको ठूलो कमी रहेको र देशमा कम खोप र बुस्टर डोज वितरणका कारण अवस्था निकै नाजुक हुने बताइएको छ ।

विश्लेषणका अनुसार चीन सरकारले शून्य कोभिड नीतिलाई पूर्ण रूपमा परिवर्तन गरेमा देशका १३ लाखदेखि २१ लाख मानिसको ज्यान जोखिममा पर्न सक्छ ।

चीनको वुहानमा कोरोनाको पहिलो केस फेला परेको थियो । विज्ञहरूले भाइरसको उत्पत्तिमा दुई प्रमुख सिद्धान्त अगाडि सारेका छन् । पहिलो, SARS-CoV-2 प्राकृतिक जुनोटिक स्पिलओभरको परिणाम हो। अर्को सिद्धान्तले चाहिँ अनुसन्धान सम्बन्धी घटनाको परिणामको रूपमा भाइरसले मानिसलाई संक्रमित गरेको ठान्छ ।