NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

विमान चढेर आज नेपाल आइपुग्दै ४२ बाछी र साँढे

काठमाडौं । दक्षिण कोरियाबाट बिहीबार ४२ कोरेली बाछी र साँढेहरू नेपाल आइपुग्ने भएका छन् । नेपाल सरकारले गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा दक्षिण कोरियाबाट कोरेली बाछी र साढेहरू उपहारस्वरूप नेपाल ल्याउने सहमति भएको थियो ।

सोही सहमतिअनुरूप पहिलो चरणमा ४२ वटा कोरेली गाई र साँढेहरू नेपाल आइपुग्न लागेका हुन् । हेफर इन्टरनेशनल नेपाल र हेफर इन्टरनेशनल कोरियाको सहयोगमा एसियाना एयरलाइन्स, दक्षिण कोरियामार्फत साँझ ५ बजे ती बाछी र साँढे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने हेफर इन्टरनेशनल नेपालले जनाएको छ ।

पहिलो चरणमा नेपाल ल्याउन लागिएका ४२ बाछी र साँढे ६ देखि ९ महिनाका छन् । यी बाछी र साँढेहरू नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–शुकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कुमार खड्कालाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

उपहारस्वरूप नेपाल आइपुग्न बाँकी पशुहरू तीन चरणमा नेपाल ल्याउने तयारी छ । हेफर नेपाल इन्टरनेशनलका अनुसार, ती पशु २३, २५ २८ डिसेम्बरमा नेपाल आइपुग्नेछन् ।

कोरियाबाट ल्याइएका यी कोरेली बाछीहरूले बुल मदर्सको न्युक्लियस वथान स्थापना गर्न मद्दत गर्ने विश्वास लिइएको छ । नेपालमा ल्याइएका यी उन्नत जातका बाछी सिन्धुलीको कमलामाई नगरपालिकाका ५० कृषक परिवारको सुधारिएको गोठमा र साढेहरूलाई देशभरका राष्ट्रिय पशुपालन कार्यालयका विभिन्न स्थानमा राखिनेछ ।