NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कांग्रेसले प्रधानमन्त्री दिने तर राष्ट्रपति नछाड्ने

काठमाडौं । राष्ट्रपति आफैँले राख्ने र सरकारको नेतृत्वमा खुला रहने विकल्पसहित कांग्रेसले सत्तागठबन्धनका अन्य दलहरूसँग संवाद अघि बढाएको छ । आलोपालो प्रधानमन्त्रीमा पहिलो कार्यकालका लागि खुला रहने कांग्रेसको प्रस्ताव छ, राष्ट्रपति भने मुख्य बटमलाइन छ ।

स्रोतका अनुसार सरकारको नेतृत्वबारे कांग्रेसले दुई विकल्प अघि सारेर छलफल चलाएको छ । पहिलो विकल्पमा सुरुका दुई वर्ष सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने, त्यसपछिका दुई वर्ष माओवादी अध्यक्ष प्रचण्ड र अन्तिम एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव छ । त्यस्तै, दोस्रो विकल्पमा सुरुका दुई वर्ष प्रचण्ड, त्यसपछिका दुई वर्ष देउवा र अन्तिम एक वर्ष नेपाललाई प्रधानमन्त्री बनाएर जान सकिने प्रस्ताव कांग्रेसको छ ।

आफूले राष्ट्रपति राख्दा माओवादीलाई सभामुख र उपराष्ट्रपति तथा एकीकृत समाजवादीलाई राष्ट्रिय सभाको अध्यक्ष र उपसभामुख दिने कांग्रेसको प्रस्ताव छ । यसबाहेक गठबन्धनमा रहेका लोसपा र सरकारमा सहभागी हुन तयार नागरिक उन्मुक्ति पार्टी तथा जनमत पार्टीलाई मन्त्री दिएर सत्तासमीकरणको टुंगो लगाउने गरी छलफल गरिरहेको छ ।

अन्य विषयमा करिब–करिब सहमति जुटे पनि मुख्य विषय रहेको प्रधानमन्त्रीमा पहिलो दुई वर्ष कांग्रेस या माओवादी भन्नेमा मात्रै निष्कर्ष निकाल्न बाँकी रहेको प्रधानमन्त्री देउवानिकट कांग्रेसका एक नेताले बताए । ‘दुई विकल्पमाथि छलफल भइरहेको छ । टुंगो लाग्न बाँकी प्रमुख विषय भनेको प्रधानमन्त्रीमा देउवा कि प्रचण्ड पहिला भन्ने नै हो,’ संवादमा सहभागी ती नेताले भने, ‘कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पाउने गरी छलफल भइरहेको छ । राष्ट्रपति कांग्रेसले नै लिनुपर्छ । प्रधानमन्त्रीमा भने दोस्रो कार्यकालका लागि पनि लचक छौँ ।’

कांग्रेसको प्रस्तावमा सहमत गराउन सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, नेता एनपी साउदलगायतले अध्यक्ष प्रचण्ड, अध्यक्ष नेपाल र सरकारमा जाने तयारीमा रहेका दलहरूसँग निरन्तर छलफल गरिरहेका छन् । सांसदहरूको शपथसँगै पार्टी र गठबन्धनमा छलफल सुरु भएको नेता निधिले बताए ।

निधिले सरकार निर्माण र शक्ति बाँडफाँडका विषयमा औपचारिक प्रस्ताव भने तयार भइनसकेको दाबी गरे । ‘कांग्रेसमा संसदीय दलको नेताको निर्वाचन सम्पन्न भएको छ । बिहीबार सांसदहरूको शपथ पनि भयो । अब बल्ल सरकारका विषमया छलफल सुरु भएको छ,’ उनले भने, ‘पार्टी र गठबन्धनमा छलफल गर्दै छौँ, यसबाहेक सरकारमा सहभागी हुने दलहरूसँग पनि सम्पर्कमा छौँ ।’

नेता साउदले गठबन्धनकै नेतृत्वमा अन्य दल र स्वतन्त्र सांसदलाई समेटेर सरकार बनाउने गृहकार्य भइरहेको बतए । ‘नेतृत्व तहमा छलफल भइरहेको छ । शक्ति बाँडफाँडमा हिस्सेदारी र आलोपालो सरकारको विषयमा छलफल भइरहेको छ । केन्द्रदेखि प्रदेशसम्मकै शक्ति बाँडफाँडका लागि मापदण्ड बनाएर अगाडि बढ्ने गरी छलफल भएको छ,’ उनले भने, ‘कतिपय दलले सार्वजनिक रूपमै सहकार्यका लागि तयार रहेको घोषणा गरेका छन् । स्वतन्त्र सांसदहरू पनि जोडिन इच्छुक हुनुहुन्छ । अधिकतम दललाई समेट्ने प्रयास छ । गठबन्धनकै नेतृत्वमा सरकार बन्नेमा हामी स्पष्ट छौँ ।’

कांग्रेस नेताहरूका अनुसार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने तयारीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसमेत सहकार्यका लागि इच्छुक रहेको उनीहरूको दाबी छ । स्रोतका अनुसार केही दिनअघि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सभापति देउवालाई भेटेर यसबारे छलफल गरेका थिए । ‘जनमत पार्टीसँग सरकारमा आउने समझदारी नै छ । नागरिक उन्मुक्ति पार्टी पनि तयार छ । यी दल र लोसपा मन्त्री लिएर सरकारमा सहभागी हुनेछ । स्वतन्त्र पार्टी पनि सरकारलाई सघाउन इच्छुक छ,’ स्रोतको दाबी छ, ‘स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सभापतिसँग दुई दिनअघि बालुवाटारमै पुगेर भेट गरेका थिए । बधाई दिने भन्दै उहाँले सभापतिज्यूको समय लिएर सरकारको विषयमा पनि छलफल गर्नुभएको थियो ।’

सभापति देउवाले अध्यक्ष प्रचण्डसँग पहिलो कार्यकालमा नै राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले पाउने गरी मनाउने प्रयास गरिरहेका छन् । कांग्रेसले राष्ट्रपतिका लागि भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्विकल्प रूपमा अगाडि सारेको छ । ‘प्रचण्डजीहरूले मानिदिनुभयो भने राष्ट्रपति र पहिलो कार्यकालमा प्रधानमन्त्री कांग्रेसले लिने र अरू पदमा सहमत गरेर समीकरण बनाउने मोडलमा छलफल सुरु भएको छ,’ स्रोतले भन्यो, ‘कांग्रेसले राष्ट्रपति लिने नै भन्ने छ । राष्ट्रपतिका लागि रामचन्द्र पौडेलजी उपयुक्त पात्र हुनुहुन्छ ।’

सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीककृत समाजवादीका शिर्ष नेताबीच ‘पावर सेयरिङ’ बारे प्रारम्भिक छलफल भएको छ । बिहीबार सांसदको शपथ र संसदीय दलको नेतामा सर्वसम्मत भएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका थिए । त्यसको केही बेरमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि पुगे । उनीहरूबीच केही बेर छलफल भएको थियो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार सरकार निर्माण, शक्ति बाँडफाँडलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको छ । शीर्ष नेताबीच शक्ति बाँडफाँडमा सहमति जुटेपछि गठबन्धनको बैठकबाट औपचारिक निर्णय गर्ने तयारी छ ।

माओवादी उपमहासचिव वर्षमान पुनले माओवादीको बटमलाइन प्रधानमन्त्री रहेको बताए । ‘माओवादीको बटमलाइन प्रधानमन्त्री हो । प्रधानमन्त्रीमा सहमति भएपछि अरू विषय छलफबाट टुंगिन्छ । सबै पद कांग्रेसलाई दिएर सहमति हुन सक्दैन । गठबन्धनबाट निर्वाचन लडेकाले यही गठबन्धनकै पक्षमा माओवादी छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।