NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

गठबन्धनको शीर्ष नेताको छलफल : कसले के भने ?

काठमाडौं ।सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताबीच ‘पावर सेयरिङ’बारे प्रारम्भिक छलफल भएको छ । बिहीबार सांसदको शपथ र संसदीय दलको नेतामा सर्वसम्मत भएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका थिए । त्यसको केही बेरमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि पुगे । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार सरकार निर्माण, शक्ति बाँडफाँडलगायत विषयमा केन्द्रित रहेर छलफल भएको छ । शीर्ष नेताबीच शक्ति बाँडफाँडमा सहमति जुटेपछि गठबन्धनको बैठकबाट औपचारिक निर्णय गर्ने तयारी छ ।

माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्ने गरी सम्मानजनक ‘पावर सेयरिङ’ हुने बताएका छन् । बिहीबार संसदीय दलको बैठकमा उनले राष्ट्रपतिबाट दिएको समयसीमाभित्र सहमतिमै प्रधानमन्त्री चयन हुने दाबी गरे । ‘हामी गठबन्धन गरेरै निर्वाचनमा गएका हौँ । यही गठबन्धनकै सरकार बन्छ । कुनै दल सानो, कुनै दल ठूलो भयो होला । गठबन्धनमा सहभागी सबै दलको चित्त बुझ्ने गरी पावर सेयरिङ गर्छौँ । राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्रीको दाबी पेस गर्छौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सांंसद माधव सापकोटाले भने ।

बैठकमा प्रचण्डले माओवादीले प्रधानमन्त्रीको दाबी नछाड्ने बताएका थिए । उनको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘हामी प्रधानमन्त्रीको दाबी छोड्दैनौँ । बीचमा कांग्रेस र एमाले मिल्नेजस्तो देखिएको थियो । अहिले त्यो सम्भावना कमजोर बनेको छ । हामी प्रतिपक्षमा बस्न पनि तयार भएकै हौँ । जनताले यही गठबन्धनलाई सरकार सञ्चालन गर्ने म्यान्डेट दिएका छन् । विकल्प सोच्ने वेला यो होइन ।’ गठबन्धनका शीर्ष नेता बसेर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्रीलगायत पदमा समझदारी कायम गर्ने प्रचण्डको भनाइ थियो । एमाले अध्यक्ष केपी ओलीबाट मिलेर सरकार बनाउन प्रस्ताव आए पनि गठबन्धन गरेर निर्वाचनमा गएकाले अहिले विकल्प खोज्दा राम्रो सन्देश नजाने प्रचण्डको भनाइ छ । नयाँ सरकार आर्थिक विकास र सुशासन कायम गर्न लाग्ने पनि उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।