NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ब्रिष्टन कलेजको रोजगार मेलामा मकै र कोदाको रोटी

दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरमा ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेलामा सुदूरपश्चिमको परिकार मकै र कोदाको रोटी आकर्षणको रुपमा रहेको छ ।

बुधबारदेखि सुरु भएको मेलामा ब्रिष्टन कलेजमा अध्ययनरत विद्यार्थीले स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्नका लागि पश्चिमेली चुलो सञ्चालनमा ल्याएका हुन् ।

कलेजमा दोस्रो सेमेष्टरमा अध्ययनरत पाँच विद्यार्थीको समूहले पश्चिमेली चुलो सञ्चालन गरेका छन् । पश्चिमेली चुलो सञ्चालन गरिरहेका विद्यार्थी प्रतीक्षा बोहराले आफूहरु स्थानीय खानाको परिकारको प्रवद्र्धनमा जुटेको बताए ।

‘हामीहरुको मुख्य उद्देश्य भनेको हाम्रो स्थानीय खानाका परिकारलाई प्रोत्साहन र प्रवद्र्धन गर्नु हो ।’ उनले भने, ‘हामीले आफ्नो संस्कृतिको प्रवर्द्धन गर्नका लागि मेलामा पश्चिमेली चुलो सञ्चालनमा ल्याएका हौँ ।’ बोहराले स्थानीय खानाका परिकार सेलरोटी, बटुक, मकैको रोटी र कोदाको रोटी बनाएर बिक्रि गरिरहेको बताए ।

‘यहाँ अवलोकन गर्न आउनेले हाम्रा परिकारलाई धेरै मन पराउनुभएको छ ।’ उनले भने, ‘पढाइ सँगसँगै व्यवहारिक ज्ञानको क्षमता विकासका लागि मेला महत्वपूर्ण छ ।’

कलेजले अध्यनरत विद्यार्थीलाई आफू कसरी स्वरोजगार बन्ने र कसरी व्यवसाय सञ्चालन गर्ने त्यसका लागि शिक्षा र सीप विकासका लागि तीन दिने रोजगार मेला आयोजना गरेको हो ।

यसका लागि कलेजले उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीका १० समूहलाई बिना धितो, बिना ब्याज व्यवसाय सञ्चालन गर्न केही रकम ऋणसमेत प्रदान गरेको ब्रिष्टन कलेजका प्रमुख निशा भट्टले बताए ।

‘हामीले कक्षा कोठामा सैद्धान्तिक ज्ञान त दिन्छौँ नै, त्यो ज्ञानलाई व्यवहारमा प्रयोग गर्न रोजगार मेला आयोजना गरेका हौं ।’ उनले भने, ‘मेलाबाट विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परीक्षण गर्न सघाउ पुग्ने छ ।’ उनले विद्यार्थीले पाँच/पाँच जनाको समूह बनाएर व्यवसाय सञ्चालन गरेको बताए ।

मेलामा विद्यार्थीले समूह बनाएर विभिन्न प्रकारका १८ कक्ष राखेका छन् । जसमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरिएको छ । ती कक्षमा सुदूरपश्चिममा घरमै निर्माण गरेका सामग्री, खानाका परिकार राखिएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले कलेजले आयोजना गरेको रोजगार मेला विद्यार्थीको व्यवहारिक सीप विकासका लागि महत्वपूर्ण भएको बताए ।

‘मेलाबाट विद्यार्थीमा सीप विकास हुने र स्वरोजगार बन्न सहयोग पुग्छ ।’ उनले भने ‘देशमा बेरोजगारी बढिरहेको अवस्थामा विद्यार्थीले उत्तिर्ण भएर गइसकेपछि केही न केही व्यवसायमा लाग्न यसले प्रेरित गर्छ ।’ तीन दिनसम्म चल्ने मेलामा यहाँका व्यवसायीसँग विद्यार्थीले साक्षातरकार गर्ने कलेजले जनाएको छ ।