NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कांग्रेसमा खाली कागज आतंक, गगन र विश्वप्रकाशले पन्छाए

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न आन्तरिक गृह कार्य अघि बढाएका छन् ।

देउवा गठबन्धनलाई निरन्तरता दिएर आफू नेतृत्वमा पुनः अर्को सरकार गठन गर्न चाहन्छन् । तर सत्तागठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देउवा नभएर आफू प्रधानमन्त्री हुनुपर्ने अडानमा छन् । सरकारको नेतृत्वबारे उनीहरूबीच शुक्रबार छलफल भए पनि दुवै टसको मस नभएको बताइएको छ । यहीबीच देउवाले आफ्ना दलका सांसदलाई खाली कागजमा हस्ताक्षर गराउन थालेका हुन् । आफू नेतृत्वमा सरकार गठन गर्न संख्या पर्याप्त रहेको देखाउन देउवाले संसदीय दलको औपचारिक बैठक गर्नुपूर्व नै हस्ताक्षर संकलन थालेका हुन् ।

कांग्रेसका एक सांसदले बालुवाटारको बोलावटमा त्यहाँ पुगेपछि खाली कागज तेर्साएर हस्ताक्षर गर्न भनिएको बताए ।

कांग्रेसमा प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन् । यीमध्ये केही अहिले उपत्यका बाहिर छन् । स्रोतका अनुसार, पार्टीका सबै सांसदलाई बालुवाटारबाट हस्ताक्षरका लागि बोलावट भएको छ ।

अधिकांश सांसदले देउवाको आग्रहमा खाली कागजमा हस्ताक्षर गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विषय अस्पष्ट भएको भन्दै आग्रह अस्वीकार गरेका छन् । संस्थापनइतरका अन्य केही सांसदले पनि बालुवाटरको प्रस्ताव अस्वीकार गरेका छन् ।

‘कागजमा हस्ताक्षर गर्नुको प्रयोजन नखुलाइएकाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने सही गर्न नामञ्जुर गर्नुभएको छ,’ कांग्रेस स्रोतले भन्यो ।

यसैबीच, कांग्रेस संसदीय दलको बैठक केहीबेरअघि सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार अहिले बैठक सुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएर सरकार गठनका लागि दाबी पेस गर्न समय दिएकी छन् । राष्ट्रपतिले दिएको समयसीमा नजिकिँदै गर्दा आफ्नो नेतृत्वमा सरकार गठन गर्न दलहरूको दौडधुप बढेको छ । तर अहिलेसम्म कसको नेतृत्वमा सरकार बन्ने हो भन्ने रूपरेखा भने देखिइसकेको छैन ।