NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गठबन्धनकै नेतृत्वमा सरकार गठन गर्न अन्तिम कसरत

काठमाडाैं । नयाँ सरकार गठनका विषयमा भएको छलफल भोली (आईतबार ) मात्रै टुंगो लाग्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न बैठकले भोली मात्रै शक्ति समिकरण र प्रधानमन्त्री आलोपालोको विषय टुंगो लगाउने भएको छ ।

आज सम्पन्न भएको बैठकमा सत्तारुढ गठबन्धनका तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति भने जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने विषयमा टुंगो लागेको छैन भने शक्ति बाँडफाँटका विषयमा पनि दलहरु टुंगोमा पुग्न सकेका छैनन् ।

नयाँ सरकार गठनका लागि छलफल गर्न सत्ता गठबन्धनका दलहरूको बैठक बालुवाटारमा सम्पन्न भएकाे हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा  सम्पन्न बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी भएका थिए ।

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका पदमा कसलाई अगाडि सार्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएकाे थियाे ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको ७ दिनको समय भोलि साँझ पाँच बजे सकिने छ ।