NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कस्तो रहला नयाँ सरकारसँग भारतको सम्बन्ध ?

काठमाडौं । नेपालका दुई ठूला वामपन्थी दलले प्रधानमन्त्रीमा आश्चर्यजनक सहमति गरेपछि भारतका नेता र विज्ञले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले प्रचण्ड नेतृत्वको सरकारले नेपालले राजनीतिक स्थायित्व र विकास हासिल गर्ने अपेक्षा गरेका छन् भने केही विश्लेषकले चीनको सहयोगमा कम्युनिस्ट पार्टीहरू पुनः एकै ठाउँमा आएको र भविष्यमा कम्युनिस्ट एकतातर्फ अघि बढ्न सक्ने टिप्पणी गरेका छन् ।

नेपालका लागि भारतका पूर्वराजदूत रणजित रायले नयाँ सरकारसँग भारतको राम्रो सम्बन्ध र सहकार्य रहने बताए । ‘प्रचण्ड किङमेकरबाट किङ भएका छन् । नेपाली कांग्रेस विजयको शिखरबाट तल खसेको छ । नयाँ सरकारसँग भारतको राम्रो सम्बन्ध रहनेछ । विशेषगरी ऊर्जा क्षेत्रलगायत हाम्रा पारस्परिक लाभकारी सहकार्य थप बलियो बनाउन भारतले नेपाल सरकारसँग काम गर्नेछ,’ पूर्वराजदूत रायले भने, ‘प्रचण्डले केही महिनाअघि मात्रै भारत भ्रमण गर्नुभएको थियो र भारतमा सरकार र पार्टी दुवै तहमा व्यापक छलफल एवं परामर्श गर्नुभएको थियो ।’

नेपाल–भारत सम्बन्धका जानकार प्रोफेसर एसडी मुनीले चीनको सहयोगमा कम्युनिस्ट पार्टीहरू पुनः एकै ठाउँमा आएको र भविष्यमा कम्युनिस्ट एकतातर्फ अघि बढ्न सक्ने विश्लेषण गरे । ‘नेपालमा बनेको नयाँ परिस्थिति भारतका लागि सहज होइन । तर, भारत सरकारले प्रचण्ड सरकारसँग सहकार्य गर्नुको विकल्प छैन,’ मुनीले टेलिफोनमा भने, ‘शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्ने अवसर नदिनु दुर्भाग्यपूर्ण भयो । कांग्रेसका लागि यो ठूलो क्षति हो । चीनले यो परिस्थितिका लागि सहयोग गरेको छ भन्नेमा म विश्वस्त छु । किनभने चीन पहिलेदेखि कम्युनिस्ट पार्टीहरूलाई एक बनाउन लागिरहेकै थियो ।’

बिहारका मुख्यमन्त्री नीतीश कुमारको पार्टी जनता दल युनाइटेड (जेडियू)का प्रमुख महामन्त्री केसी त्यागीले प्रचण्ड भारत निर्वासनमा रहँदा र पछि पनि निरन्तर साथ दिएको टिप्पणी गर्दै उनको नेतृत्वमा नेपाल आर्थिक रूपमा सबल हुने विश्वास व्यक्त गरे । ‘हामी कामना गर्छौँ कि प्रचण्ड सरकारको अवधि लामो हुनेछ, उनको कार्यकालमा नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्नेछ,’ त्यागीले टेलिफोनमा भने, ‘नेपालको आर्थिक विकासका लागि भारतको सहयोग चाहिएको छ र नेपालले आवश्यकताअनुसार अर्को छिमेकीसहित विश्वको साथ लिनुपर्नेछ । प्रचण्ड र केपी ओलीजीको गठबन्धनले भारतविरोधी भावना राख्नेछैन भन्ने हामी सबैको अपेक्षा छ ।’

समाजवादी चिन्तक एवं बहुजन समाज पार्टीका वरिष्ठ नेता सुधीन्द्र भदोरियाले प्रचण्डको नेतृत्वमा नेपालले स्थिरता प्राप्त गर्ने अपेक्षा गरेको प्रतिक्रिया दिए । ‘नेपालमा राजनीतिक स्थिरता प्राप्त गर्न र भारतका जायज सुरक्षा चासो सम्बोधन गर्दै नेपाल–भारत सम्बन्ध थप सुदृढ गर्न प्रधानमन्त्री प्रचण्डले नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा हामी भारतवासीले गरेका छौँ,’ भदोरियाले टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘प्रचण्ड भारतका सरकार, प्रतिपक्षी नेता एवं सबैसँग परिचित हुनुहुन्छ । उहाँको नेतृत्वमा नेपाल–भारत सम्बन्ध थप उन्नत स्तरमा पुग्छ भन्नेमा म विश्वस्त छु । उहाँले सबैलाई मिलाएर अघि बढ्नुहुन्छ भन्ने अपेक्षा छ ।’

भारतको रक्षा मन्त्रालयमातहतको चिन्तन संस्था एमपिआइडिएसएमा कार्यरत नेपाल–भारत सम्बन्धका विज्ञ डा. निहार नायकले प्रचण्ड नेतृत्वको नयाँ सरकारसँग भारतले सहकार्य गर्ने टिप्पणी गरे । ‘नेपालमा कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने छनोट नेपाली जनता र नेपालका दलहरूको हो । नयाँ प्रधानमन्त्रीका रूपमा प्रचण्ड आउनुभएको छ, उहाँसँग भारत सरकारले विगतका सरकारहरूसँग जस्तै सहकार्य गर्नेछ,’ नायकले भने ।

जवाहरलाल नेहरू विश्वविद्यालयमा नेपाल मामिला हेर्दै आएकी प्रोफेसर डा. संगीता थपलियाले क्रिसमसका दिन नेपालका नेताले आश्चर्यजनक सहमति गरेको प्रतिक्रिया दिइन् । ‘विगतमा राजनीतिक अस्थिरताका लागि भूमिका खेलेको गठबन्धन नयाँ साझेदारहरूसहित सरकार गठनमा फर्किएको छ । यो गठबन्धन कुनै राजनीतिक विचारधाराभन्दा पनि नेताको व्यक्तिगत स्वार्थमा आधारित हो । आशा गरौँ, यो समयमा गठबन्धनले नेपालमा स्थिर सरकार दिनेछ,’ उनले भनिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।