NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेपाली फिल्म : कथावस्तु कमजोर,गीत–सङ्गीत सशक्त

काठमाडौं । नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ । गीत–सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन् । कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक राम्रै प्रस्तुत भए ।

प्रचार–प्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीत–सङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन ।

पहिलेको तुलनामा गीत–सङ्गीतलाई भिडियोमा ल्याउँदा भव्यतामा कमी आएको स्वीकार्छन् सङ्गीतकार अर्जुन पोखरेल ।

“केही गीत–सङ्गीतको राम्रो भिडियो बन्ने गरेको छ । यद्यपि यो सङ्ख्या कम छ,” सङ्गीतकार पोखरेल भन्छन्, “फिल्ममा आउने गीत–सङ्गीतमा जति भव्यता भयो त्यति नै प्रचार–प्रसार हुन्छ । एकल रूपमा एल्बममा आउने गीतले धेरै दर्शक पाउँदैनन् ।”

उनको सङ्गीत रहेको फिल्म स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतहरू नै थिए ।

केही दिन अगाडि सार्वजनिक भएको ‘डिसेम्बर फल्स’ फिल्ममा समावेश फकाउनै जानिन बोलको गीतको भिडियोमा दुई सयको हाराहारीमा डान्सर प्रयोग गरिएको छ । चार दिन छायाङ्कन गरिएको गीत अडियोअनुसार बनेको नृत्य निर्देशक रामजी लामिछानेले बताए ।

“काममा स्वतन्त्रता धेरै समयपश्चात पाइयो । बजेटकै कारण निर्माता गीतलाई राम्रो बनाउन कन्जुस्याइँ पनि गर्नुहुन्छ,” उनले भने । उनी निर्माताको बजेटअनुसार काम गरेको बताउँछन् ।