NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रविको पार्टीमा को–को छन् मन्त्रीका आकांक्षी ?

काठमाडौं । पटक–पटक सरकारमा गएका मात्र होइन, नयाँ दलमा पनि मन्त्रीका आकांक्षी धेरै देखिएका छन् । एकाधबाहेक अधिकांश सांसदले मन्त्रीको आकांक्षा राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र मन्त्री छान्न सकस हुने देखिएको छ ।

संसदीय दलको बैठकमा पार्टीका सभापति एवं दलका नेता लामिछानेले २० जना सांसदसँग आफ्ना रुचिको मन्त्रालयको नाम मागेका छन् । २० जना सांसदले आफ्नो रुचि र विज्ञताअनुसार भन्दै दुई–दुईवटा मन्त्रालयको नाम बुझाइसकेका छन् ।

रास्वपाले सरकार गठनका क्रममा चार मन्त्रालयको दाबी गरेको छ । जसमध्ये उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा सभापति लामिछानेले कार्यभार नै सम्हालिसकेका छन् । रास्वपाले थप स्वास्थ्य, शिक्षा र कृषि मन्त्रालयको दाबी गरेको छ । पार्टीका महामन्त्री मुकुल ढकालले खुलेर भन्न नचाहे पनि ‘काम गर्न सक्ने मन्त्रालय’मा दाबी रहेको स्विकारे । ‘हामीले काम देखाउन सकिने, जनतालाई ‘डेलिभरी’ गर्न सक्ने मन्त्रालय मागेका छौँ, हेरौँ के हुन्छ,’ उनले भने ।

स्रोतका अनुसार रास्वपाभित्र शिशिर खनाल र सन्तोष परियारले शिक्षा मन्त्रालय, डा. तोसिमा कार्की, डा. ढाकाकुमार श्रेष्ठ र डा. चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा दाबी गरेका छन् । त्यस्तै, रविनिकट मानिएका डोलप्रसाद अर्याल पनि मन्त्री बन्ने तीव्र लबिङमा छन् ।

कानुन मन्त्रालय पाएको अवस्थामा अधिवक्तासमेत रहेकी सोविता गौतमले आफूलाई पठाउनुपर्ने माग राखेकी छिन् । शिशिर, तोसिमा र सोविताबाहेक अन्य समानुपातिकबाट छानिएका सांसद हुन् ।

महामन्त्री ढकालका अनुसार भागबन्डाका क्रममा मन्त्रालयको टुंगो लागेपछि मन्त्री छनोट गरिने बताए । ‘हामीसँग विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका सांसदहरू छन् । जुन मन्त्रालय पाउँछौँ, त्यहीअनुसार सम्बन्धित क्षेत्रमा विज्ञ रहेका सांसदलाई मन्त्री बनाउने निर्णय हुन्छ,’ ढकालले भने ।

रास्वपाभित्र अधिकांशले मन्त्रीको दाबी गरेपछि संसदीय दलभित्र केही सांसदले आन्तरिक भोटिङका आधारमा मन्त्री चयन गर्नुपर्ने आवाज उठाएका छन् । तर, महामन्त्री ढकालले सकेसम्म सहमतिमै मन्त्री चयन गरिने बताए । ‘एकै क्षेत्रमा धेरै विज्ञ भएको र सबैले दाबी गरेको अवस्थामा भोटिङको विकल्प पनि हुन सक्छ,’ पार्टीका प्रवक्तासमेत रहेका महामन्त्री ढकालले भने ।

६ सांसद रहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीभित्र अध्यक्ष राउतबाहेक अन्य चारवटै सांसदले मन्त्रीको चाहना राखेका छन् । एक अब्दुल खानले मन्त्रीको शपथ खाइसकेका छन् । तर, मन्त्रालयको जिम्मेवारी पाउने भने बाँकी छ ।

मधेस प्रदेशमा १३ सिट रहेको जनमत पार्टीले आफू त्यहाँ सरकार निर्माणमा निर्णायक रहेको भन्दै मुख्यमन्त्रीको दाबी गरेको छ । केन्द्रमा उसको दुई मन्त्रालयमा दाबी छ । तर, प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको अवस्थामा केन्द्रमा एक मन्त्रालयमै सम्झौता गर्न सकिने विकल्प पनि रहेको जनमत पार्टीका नेता बिपी साहले बताए । केन्द्रमा जनमतले थप एक कृषि मन्त्रालयमा दाबी गरेको छ ।

अब पाउने मन्त्रालयमा पार्टीका तर्फबाट समानुपातिकबाट निर्वाचित अनितादेवी साहलाई पठाउने सम्भावना बलियो छ । उनी पार्टीकी सचिव हुन् । अध्यक्ष राउतले भने संगठन विस्तारमा लाग्ने भन्दै मन्त्री पदमा इच्छा नरहेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।