NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

नेपाल टि ट्वान्टी क्रिकेट : लुम्बिनीको जित

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरमा नौ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै लुम्बिनीले प्रतियोगितामा लगातार चाैंथो जित दर्ता गराएको छ ।

चार खेल खेलको लुम्बिनीले आठ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थान छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । १३८ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले २० ओभरमा नौ विकेट गुमाएर १३७ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

सुपर ओभरमा पहिले ब्याटिङका गरेको लुम्बिनीले १९ रन बनाएको थियो । लुम्बिनीका लहिरु मिलन्थाले १५ र साड्ले भान स्कल्कवेकले तीन रन बनाए । लुम्बिनीले एक रन भने अतिरिक्त पाएको थियो । बीस रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको फार वेस्ट १० रनमा समेटियो । फार वेस्टका हस्मतुल्लाह साहिदीले आठ रन बनाउँदा विनोद भण्डारीले दुई रन बनाए ।

त्यसअघि २० ओभरको खेलमा लुम्बिनीका गुल्शन झाले सर्वाधिक अविजित ३६ रन बनाएका थिए । उनले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । त्यसैगरी लहिरु मिलन्थाले ३४ तथा विपुल शर्माले ३१ रन जोडे ।

फार वेस्टका करण केसी र शेर मल्लले समान दुई विकेट लिए भने राशिद खान, उमैर अलि हस्मतुल्लाह साहिदी र भुवन कार्कीले समान एक / एक विकेट लिए ।  यता फार वेस्टका लागि भने देव खनालले सर्वाधिक ४८ रन बनाएका थिए । उनले ४२ बलमा पाँच चौकासहित ४८ रन बनाएका हुन ।

कप्तान हस्मतुल्लाह साहिदीले ३२, भीम सार्कीले १५, करण केसीले १२ तथा हसिम अन्सारी र विनोद भण्डारीले समान ११/११ रन जोडेका थिए । लुम्बिनीका साड्ले भान स्कल्कवेकले दुई विकेट लिए भने हर्मित सिंह, किशोर महत्तो र सागर ढकालले समान एक÷एक विकेट हात पारे । यससँगै तीन खेलबाट दुई अङ्क जोडेको फार वेस्ट तालिकाको चौँथो स्थानमा छ ।

प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन् । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ ।