NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यी हुन प्रदेश १, गण्डकी र कर्णालीमा एमालेका भावी मुख्यमन्त्री

काठमाडौं । नयाँ सरकार गठन गरे लागत्तै सत्ता गठबन्धन दलहरूको ध्यान अब प्रदेशमा केन्द्रीत भएको छ । आइतबार ओली निवास बालकोटमा बसेको एमाले, माओवादीसहित सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार पद तथा गोपनियताको शपथग्रहण गराइसकेकी छन् ।

प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा आठ सदस्यी मन्त्रिपरिषद् गठन गरेका छन् । पुस २५ मा बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिएपछिमात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले एमाले अध्यक्ष केपी ओलीलाई संयोजक तोकेको छ । सरकार सञ्चालनका लागि उनको नेतृत्वको अन्य दलका शीर्ष नेता सदस्य रहनेछन् ।

सरकारले ल्याउने न्यूनताम कार्यक्रम, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत राजकीय मुख्य पद बाँडफाँट ओली नेतृत्वको कार्यदलले टुंगो लगाउने छ ।

सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जपा र नाउपा दल सहभागी छन् । यीबाहेक तीन स्वतन्त्र सांसदले सरकारलाई समर्थन गरेका छन् ।

दलीय भागबण्डाको आधारमा सात प्रदेशमा मुख्यमन्त्रीको टुंगो लगाउने तयारी उनीहरूले गरेका छन् । सबैभन्दा ठूलो दल एमालेले प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । सत्ता नेतृत्व दल माओवादीले वाग्मती, कर्णाली र सुदूरपश्चि प्रदेश दाबी गरेको छ ।

गठबन्धनको तेस्रो ठूलो दल रास्वापाले प्रदेशसभामा उम्मेदवारी नदिएकाले उसको दाबी रहने छैन । १४ सिट रहेको राप्रपाले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । यहाँ राप्रपाले १३ सिट जितेको छ ।

सत्ता घटक जसपा र जपाले मधेश प्रदेश पाउने पक्कापक्की रहेको छ । मधेशमा एमालेपछि जसापा र जपा ठूलो दल छ । यी दुई दलबीच आलोपालो सरकार सञ्चालन गर्ने गरी सहमति हुन सक्ने देखिन्छ ।

कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने सम्बन्धमा सत्ता गठबन्धन दलहरूबीच कुनै सहमति भएको छैन । सात प्रदेशमध्ये एमालेले चार, माओवादीले २ र मधेशी दलले एक प्रदेश पाउने सम्भावना बलियो छ ।

एमालेले प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली नछाड्ने मनस्थिति बनाएको छ । प्रदेश १, गण्डकी र कर्णालीमा सरकारको नेतृत्व लिने गरी एमालेले संसदीय दलको नेता चयन गरिसकेका छन् । प्रदेश १ पार्टीका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की संसदीय दलको नेता चयन भएका छन् ।

गण्डकीमा संगठन विभाग प्रमुखसमेत रहेका खगराज अधिकारी दलको नेता भएका छन् । कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्य यमलाल कँडेल दलको नेता चयन भएका छन् । वाग्मतीमा बिहीबार दलको नेता चयन गर्नेछ । यहाँ जगन्नाथ थपलीया संसदीय दलको नेता चयन हुने सम्भावना बलियो छ । यी चार प्रदेशमा दलहरूबीच सहमति भए लुम्बिनी र सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रलाई छाड्ने एमालेको तयारी छ । तर माओवादीले वाग्मती, कर्णाली र सुदूरपश्चि नछाड्ने अडानमा छ ।

कुन प्रदेशमा कसकाे दाबी ?

प्रदेश १
प्रदेश १ मा ९३ सदस्यीय प्रदेश सभा(प्रत्यक्ष ५६ समानुपातिक ३७) रहेको छ । यहाँ एमालेले प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी ४० सिट जितेर पहिलो दल बन्न सफल भएको छ । माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ जितेको छ । यसैगरी राप्रपाको ६ र जसपाको एक सदस्य छन् । बहुमतको लागि प्रदेश १ मा ४७ सिट आवश्यक पर्छ । यो प्रदेशमा एमाले र माओवादीको मात्रै ५३ सिट रहेको छ । एमाले गठबन्धनको जम्मा सिट ६० छ ।

प्रदेश एकमा ठूलो दलको हैसियतले एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो छ । एमालेले संसदीय दलको नेतामा पूर्वमन्त्रीसमेत रहेका हिक्मत कार्कीलाई चयन गरेको । माओवादीबाट इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री दाबी गरेका छन् । विपक्षी कांग्रेसको जम्मा २९ सिट रहेको छ । नेकपा एसको ४ सिट छ ।

गण्डकी प्रदेश
गण्डकी एमाले २२, माओवादीको ८ सिट रहेको छ । यहाँ बहुमतका लागि ३१ सिट संख्या आवश्यक पर्छ । यो प्रदेशमा वामपन्थीको मात्रै सरकार बनाउन सकिन्छ ।

गण्डकी प्रदेशसभा(प्रत्यक्ष ३६ समानुपातिक २४)६० सदस्यको रहेको छ । यहाँ सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ । यो प्रदेशमा वामपन्थी सरकार बनाउन आवश्यक बहुमत संख्या पुगेको छ । स्वतन्त्र निर्वाचित सांसद रहेका राजिव गुरुङ नेकपा एसमा प्रवेश गरेकाले वामपन्थी सरकार बनाउन आवश्यक कोरम पुगेको हो । गण्डकीमा एमालेको २२, माओवादीको ८ र राप्रपाको २ गरी ३२ सांसद छन् । यहाँ कांग्रेसको २७ सिट छ ।

यहाँ मुख्यमन्त्रीको प्रमुख दाबेदार एमाले रहेको छ । एमालेले संसदीय दलको नेतामा खगराज अधिकारीलाई चयन गरिसकेको छ । माओवादीबाट हरिबहादुर चुमानको दाबेदारी छ ।

कर्णाली प्रदेश
कर्णालीको प्रदेशसभा(प्रत्यक्ष २४ समानुपातिक १६) गरी ४० सदस्य रहेको छ । सरकार गठनका लागि २१ सदस्य आवश्यक पर्छ । यहाँ एमाले १०, माओवादी १३, राप्रपा १ गरी नयाँ गठबन्धनको पक्षमा २४ सांसद छन् । भावी मुख्यमन्त्रीमा एमाले र माओवादीको प्रमुख दाबी रहेको छ । एमालेबाट संसदीय दलका नेता यमलाल कँडेलको दाबी छ । उनी अघिल्लोपटक नै मुख्यमन्त्री बन्न चाहेपनि असफल भएका थिए । माओवादीबाट संसदीय दलको नेता रहेका राजकुमार शर्माको मुख्यमन्त्रीमा दाबी छ । यहाँ कांग्रेसको १४ सिट छ ।