NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मधेस प्रदेशमा सरकार गठनको चहलपहल बढ्यो

धनुषा । सङ्घीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेस प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ । नयाँ सत्ता गठबन्धनअनुसार मधेस प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन ।

प्रदेशमा सत्ता घटक नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरी २३ सहित ठूलो दल बनेको छ । जनता समाजवादी पार्टीसित १६, जनमत पार्टीसित १३, नेकपा (माओवादी केन्द्र) सित आठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट छ । सङ्घमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको भने प्रदेशमा प्रतिनिधित्व छैन ।

मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी एक सय सात प्रदेशसभा सदस्य छन् । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । सङ्घीय सरकारमा सहभागी राजनीतिक दलको मधेस प्रदेशमा ६२ सिट पुग्छ । यसरी हेर्दा मधेस प्रदेशमा सत्ता गठबन्धनलाई आवश्यकताभन्दा आठ सिट बढी भएकाले सरकार बनाउन सहज छ ।

यता स्वतन्त्रबाट पनि छ जनाले जितेका छन् । अहिलेको सत्ता गठबन्धनमध्येकै दलबाट असन्तुष्ट अधिकांशले स्वतन्त्रबाट जितेका हुन् । सरकारमा उनीहरू पनि सहभागी हुने अनुमान गरिएको छ ।

प्रदेशमा २२ सिटसहित दोस्रो दलको रुपमा रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भूमिकामा जाने देखिएको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ र नेकपा (एकीकृत समाजवादी) ले सात सिट प्राप्त गरेका छन् ।

संसदीय दलको नेताको आकाङ्क्षी बढे

प्रदेशसभा सचिवालयले यही पुस १५ गते शुक्रबार प्रदेशसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम तय गरिसकेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार संविधानअनुसार निर्वाचनको अन्तिम परिणामको २० दिनभित्र शपथग्रहण र ३० दिनभित्र सरकार गठन गसिक्नुपर्छ ।

तर प्रदेशमा प्रतिनिधित्व कायम भएका १० राजनीतिक दलमध्ये हालसम्म कुनै पनि दलले संसदीय दलको नेता चयन गर्न सकेका छैनन् ।एमालेका मधेस प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेलले गठबन्धन दलको सहमति र समीकरणमा नै प्रदेश सरकार नेतृत्वको टुङ्गो लाग्ने जानकारी दिए । एमाले प्रदेश संसदीय दलको नेता यसै साताभित्र छनोट गर्ने गृहकार्य भइरहेको उनले बताए ।

एमालेमा प्रदेश संसदीय दलको नेता बन्ने आकाङ्क्षी पनि थपिँदै गएका छन् । एमालेभित्र रामचन्द्र मण्डल, सरोजकुमार यादव, राजकुमार लेखी थारु, हरिनारायण महतो, महम्मद समिर र शारदादेवी थापा दलको नेता बन्न आकाङ्क्षी छन् । त्यसैगरी जसपा वा जनमत पार्टीको नेतृत्वमा पनि प्रदेश सरकार बन्न सक्ने आकलन गरिएको छ ।

जसपामा पाँच वर्ष मुख्यमन्त्री रहिसक्नुभएका लालबाबु राउत तथा सरोजकुमार यादव, मनिषकुमार सुमन र रामआशिस यादव दलको नेता बन्न आकाङ्क्षी छन् ।

जनमतमा पनि सतीशकुमार सिंह, महेशप्रसाद यादव, त्रिभुवन साह, चन्दनकुमार सिंह र वसन्तकुमार कुशवाहालगायत दलका नेताका लागि आकाङ्क्षी देखिनु भएको छ । दलको नेता छान्न सकस देखिएपछि सोको जिम्मेवारी पार्टी अध्यक्ष डा सीके राउतलाई दिइएको छ ।

यता प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेसले दलको नेता छान्न समिति नै गठन गरेको छ । कांग्रेसमा रामसरोज यादव, रामकृष्ण यादव, वीरेन्द्र सिंहलगायत आकाङ्क्षी छन् । अन्य दल पनि दलको नेता छान्न गृहकार्यमा लागेका छन् ।