NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका समस्याका बारेमा नाडाको छलफल

काठमाडाैं । बिहीबार नाडा अटोमोबाइल्स एशोसिएसनकाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ ।

उक्त भेटघाट तथा छलफलमा अर्थमन्त्री पौडेल अटोमोवाइल व्यवसायीहरुले हाल भोगिरहेको समस्याको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको नाडाले जनाएको छ ।  सोही क्रममा उनले अटोमोवाइल क्षेत्रका समस्याको समाधानका लागि सरकार प्रयत्नशील रहेको बताए ।

भेटघाट तथा छलफलमा अध्यक्ष थापाले कोभिडको महामारीको कारण यस व्यवसायमा धेरै अप्ठ्यारा परिस्थिति सृजना भएका बताउँदै यस्तो विकट स्थितिमा पनि अटोमोबाइल ब्यवसायीहरुले जसोतसो ब्यवसायलाई सञ्चालन गरि आएकोमा पछिल्ला समयमा आएका विभिन्न नीतिहरुको कारण  पहिल्यै देखि प्रताडित भएको अटोमोवाइल ब्यवसायलाई झनै कठीन अवस्थामा पु-याएको कारण ब्यवसायीहरु आफ्नो ब्यवसायबाट नै पलायन भईरहेकोले अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए ।

सोही क्रममा अध्यक्ष थापाले बढदो व्याज दर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधन आयातका लागि एलसी खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने, अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामाLoan to Value Ratio को हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने लगायत नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुंदाहरू हालको अवस्थामा व्यावहारिक रूपमा लागु गर्न कठीन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई वर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गरेका थिए ।

सो भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।