NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी 

कर्णाली । कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले दाबी गरेका छन् ।

दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुंगाे लगाएका छन् । दुवै पार्टीले आ–आफ्नो नेतृत्वको प्रदेश सरकार गठन गर्न कसरत सुरु गरेका छन् ।

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पार्टी प्रदेशसभामा दोस्रो ठूलो दल भएकाले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने जिकिर गरे । उनले भने, ‘नयाँ सत्ता समीकरणका हिसाबले कर्णालीमा माओवादी एमालेभन्दा ठूलो छ । त्यस आधारमा पनि परिणामतः मुख्यमन्त्री माओवादीले नै पाउनु पर्छ ।’ प्रदेशस्तरमा सहमति नजुटेकाले केन्द्रको निर्णय कुर्नैपर्ने देखिएको शर्माले बताए ।

कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सत्ता समीकरणका हिसाबले यसपटक कर्णालीमा सरकारको नेतृत्व एमालेले नै गर्ने बताए । ‘यहाँ दुवै दलबीच सहमति गरेर सरकारको नेतृत्व आफूले लिने प्रयास त हुने नै भयो’, उनले भने, ‘यहाँ हुने कुराले सजिलै निचोड दिने अवस्था नआउँदा अन्ततः केन्द्रकै निर्देशनानुसार सरकार बन्ने देखिन्छ ।

यसअघिको गठबन्धन तोडिएपछि कर्णाली प्रदेशमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा बस्ने पक्का भएको छ ।

चालीस सदस्यीय प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र एक–एक प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्र र एमाले मिल्दा मात्र पनि कर्णालीमा बहुमतको सरकार बन्ने अवस्था छ ।